केदार दाहाल, कारोबार, मंगलबार, असार ५, २०७५
नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन भएको छ । दुई मुलुकबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । २५ वर्षदेखि हवाई सम्झौता पुनरावलोकन हुन नसकेको जापानसँग सोमबार नेपाली र जापानी प्रतिनिधिबीच टोकियोमा भएको १२ घन्टाको वार्तापछि सम्झौता भएको हो । नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन भएको छ । दुई मुलुकबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । २५ वर्षदेखि हवाई सम्झौता पुनरावलोकन हुन नसकेको जापानसँग सोमबार नेपाली र जापानी प्रतिनिधिबीच टोकियोमा भएको १२ घन्टाको वार्तापछि सम्झौता भएको हो । नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले सम्झौतामा हस्ताक्षर गरेका छन् । हवाई सम्झौतासँगै दुई मुलुकबीच अब सातामा १४ वटासम्म उडान गर्न पाउने भएको छ । यसअघि सातामा २ वटामात्रै उडान गर्न पाउने सम्झौता थियो ।
नयाँ सम्झौतामा अब जापानको हनेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सहमति भएको नेपाली वार्ता टोलीका सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए । जापानमा २७ वटा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । जसमा नेपालले हनेडाबाहेक सबै विमानस्थलमा उडान भर्न पाउने भएको छ । “अब सातामा १४ उडान गर्न पाउनेगरी हवाई सम्झौता भएको छ,” नेपालले भने । सम्झौतासँगै नेपाल वायुसेवा निगमको आउन लागेका वाइडबडी जहाजले जापानमा उडान भर्न पाउने भएको नेपालले जानकारी दिए ।जापानमा नेपाली विद्यार्थी तथा रोजगार भिसामा बर्सेनि हजारौं जाने गरेका छन् । हाल १ लाखभन्दा बढी नेपालीहरु जापानमा रहेको अनुमान छ भने जापानसँग सिधा हवाई सम्झौता नहँुदा नेपाल आउने जापानी पर्यटकको संख्यासमेत बढ्न सकेको थिएन ।
नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गरेपछि सबैभन्दा पहिलो उडान जापानसँग गर्ने लक्ष्य राखे पनि सम्झौतमा ढिलाइ हुँदा पहिलो उडान भने दुबई गर्ने घोषणा गरिसकेको छ । निगमले ओसाका तथा नागोया उडान गर्नको अनुमति माग्दै आएको छ । निगमको पहिलो वाइडबडी जहाज असारको दोस्रो साता नेपाल आउँदै छ । यसअघि नेपाल वायुसेवा निगमले सन् १९९४ देखि सन् २००७ सम्म उडान गरेको थियो । सिधा उडान नहुँदा पर्यटक घट्दैनेपालमा जापानबाट सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटक संख्या प्रत्येक वर्ष घट्दै गएको छ । सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार ४ सय १२ पर्यटक नेपाल भित्रिएकोमा २०१७ मा पनि २७ हजार ३ सय २६ जापानी पर्यटक नेपाल भ्रमणमा आएका छन् । १५ वर्षअघि नेपाल आउने पर्यटकमध्ये जापानी पर्यटकको हिस्सा ८.१ प्रतिशत रहेकोमा सन् २०१७ सम्म आइपुग्दा उक्त हिस्सा घटेर २.८ प्रतिशतमा सीमित भएकोे छ । नेपालले हालसम्म ३८ वटा मुलुकसँग हवाई सम्झौता गरिसकेको छ । अहिले नेपालमा जम्मा १५ वटा मुलुकका २९ वायुसेवाले नियमित उडान गरिरहेका छन् ।
हाल ३८ मुलुकबाट वार्षिक दुईतर्फ ५७ लाख ६५६ सिट उडान गर्ने सम्झौता रहेको छ । नेपालसँग दशकअगाडि नै हवाई सम्झौता भएर पनि उडान नगर्ने मुलुकमा क्रोएसिया, फ्रान्स, लग्जेम्बर्ग, इजिप्ट, इजरायल, इटाली, जापान, जोर्डन, मकाउ, रसिया र बेलायतलगायत छन् ।