२ करोड ६५ लाख राजस्व संकलन

March 14, 2018

कारोबार, बुधवार, फाल्गुन ३०, २०७४

पर्यटकीय नगरी पोखरामा ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै राजस्व संकलनमा वृद्धि भएको छ । ट्राफिक प्रहरीले गत वर्षको ७ महिनाभन्दा यस आर्थिक वर्षको सोही अवधिमा ५३ लाख ३५ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ३ हजार २ सय ४९ वटा कम सवारी साधनमा कारबाही भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि माघसम्म २७ हजार ७ सय ५१ वटा विभिन्न सवारी साधन माथि कारबाही हुँदा २ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।


गत वर्षको साउनदेखि माघसम्म ३१ हजार विभिन्न सवारी साधनमाथि कारबाही हुँदा २ करोड ११ लाख ६५ हजार राजस्व संकलन भएको थियो । गत वर्ष ७ महिनामा ४४ वटा सवारी साधन दुर्घटना हुदा ३३ जनाको मृत्यु भएको थियो भने यस वर्षको ७ महिनामा ५२ वटा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको तथ्यांक छ । 
यस आर्थिक वर्षको माघसम्म ३ हजार १ सय ५० वटा ट्रकमाथि कारबाही हुँदा २१ लख ३० हजार, ३ हजार ३ सय ७२ वटा बसमाथि कारबाही हुँदा २२ लाख १४ हजार, जिप-कार ४ हजार ७ सय ५८ वटालाई कारबाही गर्दा ३१ लख ७५ हजार, ७ सय ५१ वटा ट्र्याक्टरमाथि कारबाही हुँदा ४ लाख ९५ हजार, १५ हजार ६ सय ८० वटा मोटरसाइकल तथा स्कुटरमाथि कारबाही गर्दा १ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले आफूहरूले यस पटक फुटपाथमा रहेका सवारी साधनमाथि कारबाही गर्न सुरु गरेकाले सडकमा धेरै सहज भएको बताए । मिटरमा ट्याक्सी सञ्चालन नगरेमा, फुटपाथमा सवारी साधन राखेमा, रातो प्लेटका सवारी साधन भाडामा लगाएको भेटिएमा आफूहरूले कारबाही गर्ने गरेको उनले बताए ।

स्रोत: https://karobardaily.com/news/economy/3119

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More