२ बालकको मृत्यु

May 05, 2017

Kantipur, Arjun Shah, 5th May 2017, Bajura

कुपोषणकै कारण २ बालकको मृत्यु भइसकेको बाजुरामा बालिकाहरू बढी कुपोषित रहेको पाइएको छ । जिल्ला स्वास्थ्यका अनुसार कुपोषणकै कारण साविकको गोत्री ३ का १० वर्षीय चरित्र धामी र कुल्देवमाडौं २ का डेढ वर्षीय श्रवण रोकायाको ज्यान गएको हो । 

कुपोषण लागेका ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा बालिका बढी प्रभावित रहेको पाइएको हो । १३ हजार ६ सय ८४ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २ हजार १ सय ३९ कुपोषित भेटिएको स्वास्थ्यले जनाएको छ । तीमध्ये १ हजार १ सय ४३ बालिका रहेका छन् भने ८ सय ५३ बालक रहेको पाइएको छ ।

कुपोषितको संख्या अत्यधिक हुनुमा लैंगिक विभेद मुख्य कारण मानिएको छ । ‘यहाँको समाजमा छोरा र छोरीमा अझै विभेद गर्ने परिपाटीका कारण कुपोषणबाट छोरी नै बढी प्रभावित हुने गरेका हुन्,’ महिला तथा बालबालिका कार्यालयकी बिन्दु बडालले भनिन्, ‘ग्रामीण भेगमा अभिभावकले छोरालाई खानेकुरा र स्याहारमा प्राथमिकता दिए पनि छोरीप्रति बेवास्ता गर्ने चलन अझै हटेको छैन ।’
प्रभावितमध्ये ६ सय ४० मा कडा र १ हजार ४ सय ५० मा मध्यम खालको कुपोषण देखिएको छ । स्वास्थ्य कार्यालयअन्तर्गत सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका स्वास्थ्यकर्मीले बालबालिकामा कुपोषण अवस्था अध्ययन गरेको कार्यालय प्रमुख डा. रूपचन्द्र विकले बताए । 
साविकको बाह्रविस, साप्पाटा र गोत्री गाविसका बालबालिकामा कुपोषण बढी देखिएको छ । यसबाट सबैभन्दा बढी प्रभावित देखिएको बाह्रविसमा स्वास्थ्य परीक्षण गरिएका ५ वर्षमुनिका ९ सय ७० मध्ये १ सय ५५ कुपोषणग्रस्त छन् । तीमध्ये ४० मा कडा र १ सय १५ मा मध्यम कुपोषण छ । 
कुपोषण बढदै गएपछि सुधारका लागि सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न परियोजना सञ्चालित छन् । जिल्ला स्वास्थ्यअन्तर्गत कुपोषित बालबालिकाको उपचारका लागि शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालित छ । सुआहारा र बहुक्षेत्रीय पोषण कार्यक्रमले समेत पोषण सुधारकै लागि रकम खर्चिरहेका छन् । 
पछिल्लो समय खडेरीले खाद्यान्न संकटका कारण पनि दुर्गममा कुपोषित बालबालिकाको संख्य बढ्ने अनुमान गरिएको छ । आवश्यक पोसिलो खानेकुरा अभावमा गर्भवती, सुत्केरी र बालबालिक कुषोषणको चपेटामा छन्

 

Source: http://kantipur.ekantipur.com/printedition/news/2017-05-05/20170505091716.html


 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More