News

२ महिनामै १ हजार ८२ ट्याक्सी दर्ता

September 24, 2017

कारोबार आर्थिक दैनिक, ०८ आश्विन, २०७४

काठमाडौंः भूकम्प प्रभावितका लागि गोला प्रथाबाट छनोट भएक १५ सय ट्याक्सीमध्ये १ हजार ८२ भन्दा बढी दर्ता भइसकेका छन् । गत असारमा भएको छनौटपछि साउन ९ गतेदेखि ट्याक्सी दर्ता सुरु भएको थियो । असारदेखि नै दर्ता खुलेपछि भ्याट बिल विवाद/कर्जा अभावलगायतले एक भहिना ढिलो गरी दर्ता सुरु भएको यातायात व्यवस्था कार्यालय बागमती साना/ठूला सवारीले जनाएको छ । 

साउन ९ यता असोज ६ गतेसम्म यातायात व्यवस्था कार्यालय बागमती साना/ठूला सवारीमा भूकम्प प्रविभावितलाई दिइएको ट्याक्सी १ हजार ८२ वटा दर्ता भएको कार्यालय प्रमुख वसन्त अधिकारीले बताए । “सुरुमा भ्याट बिलमा केही समस्या देखियो ।

हामीले जसको नाममा चिठ्ठा परेको हो स्वयम्कै नाममा भ्याट बिल जारी हुनुपर्ने भन्यौं,” अधिकारीले भने, “त्यहीअनुसार दर्ता हुने भएपछि ट्याक्सी दर्ता दुई महिनामै १ हजारभन्दा धेरै भएको हो ।” चिट्ठा पाएका अधिकांश भूकम्प प्रभावितहरू आफै ट्याक्सी दर्ता गर्नभन्दा त्यो बिक्री गर्न चाहेको÷गरिरहेकाले ट्याक्सी दर्ता छिटो भएको हो । साउनको सुरुवातमै यसमा विवाद देखिएको थियो ।

यातायात व्यवस्था कार्यालयले जो व्यक्तिको नाममा ट्याक्सी परेको हो उसैको नाममा भ्याट बिल जारी भएमा मात्र ट्याक्सी दर्ता गर्ने भन्यो । यसो गर्दा भूकम्प प्रभावितले ट्याक्सी खरिद गर्न नसक्ने र बैंक/वित्तीय संस्थाले दास्रो नाममा कर्जा लगानी नगर्ने अवस्था आएको थियो । तर, पछि बैंकहरू कार्यालयले तोकेको नियममा कर्जा दिन राजी भएका हुन् ।

यो पटक ट्याक्सी दर्ता निक्कै छियो भएको कार्यालय प्रमुख वसन्त अधिकारीले बताए । “दुई महिनामा १ हजारभन्दा बढी ट्याक्सी दर्ता भइसकेको छ,” उनले भने, “तोकिएको समयमै सबै ट्याक्सी दर्ता हुनेमा हामी आसावादी छौं ।” अब ५ सय ट्याक्सी दर्ता हुन बाँकी रहेकाले यो चाडपर्वपछि हुने कार्यालयको भनाइ छ । 

सरकारले भूकम्पबाट अति प्रभावितलाई स्वरोजगार बनाउने उद्देश्यले २ वर्षअघि भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्प पीडित कार्ड हुनेहरूबाट छनोट गरी १५ सय जनालाई ट्याक्सी दर्ता गर्न दिने निर्णय भएको थियो । सोही निर्णय अनुसार गत असार पहिलो साता गोला प्रथाबाट ट्याक्सी नम्बर पाउनेको छनोट गरिएको थियो । ०७३ भदौमा भूकम्प प्रभावितलाई १५ सय ट्याक्सी वितरण गर्ने भन्दै विभागले आवेदन माग गरेको थियो । ट्याक्सी पाउनका लागि १ लाख ४९ हजार भूकम्प प्रभाविते आवेदन दिएका थिए । 

स्रोत: 

https://www.karobardaily.com/news/82540