३० दिनमा साढे ७५ अर्ब रेमिट्यान्स

September 26, 2019

यज्ञ बञ्जाडे, कान्तिपुर, असोज ९, २०७६

(काठमाडौं) — चालू आर्थिक वर्षको पहिलो महिनामा करिब साढे ७५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ  । यसलाई दैनिक रूपमा गणना गर्दा प्रतिदिन २ अर्ब ५१ करोड रुपैयाँ हुन आउँछ  ।

गत वर्षको साउनको तुलनामा यसपालि रेमिट्यान्स २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेर ७३ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको थियो ।

‘अमेरिकी डलरमा रेमिट्यान्स ०.७ प्रतिशतले वृद्धि भएको छ,’ राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले बढेको थियो ।’

गत वर्षको सुरुदेखि उच्च दरले बढेको रेमिट्यान्स यो वर्ष पहिलो महिनादेखि नै वृद्धिदर न्यून छ । गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत पौने ८ खर्ब रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल भित्रिएको रेमिट्यान्स करिब १५ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर रेमिट्यन्स नेपाल आएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष साढे ८ प्रतिशतको वृद्धि हो ।

गत आर्थिक वर्षका सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर उच्च भए पनि पछिल्ला महिनामा निरन्तर रूपमा घट्दै गएको थियो । यो क्रम यस वर्ष पनि देखियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत साउनमा १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३०.८ प्रतिशतले घटेको थियो । गत वर्षको रेमिट्यान्स आप्रवाह सोही अवधिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब २५ प्रतिशत मात्र हो । यसअघि यस्तो अनुपात जीजीपीको २९ प्रतिशतसम्म पुगेको थियो ।

रेमिट्यान्सले धान्न छोड्यो
निर्यात, पर्यटनलगायत बाह्य क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेको बेला विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स मात्र बनेको छ । विगतमा व्यापार घाटाभन्दा रेमिट्यान्स आप्रवाह धेरै रहेको अवस्था थियो । त्यतिबेला व्यापार घाटाको कमीलाई रेमिट्यान्सले क्षतिपूर्ति गरेकाले चालु खाता र शोधानान्तरमा चाप परेको थिएन ।

केही वर्षयता परिस्थिति बदलिएको छ । व्यापारघाटा अकासिएको छ । रेमिट्यान्स वृद्धिदर घट्दो छ । गएका दुई वर्षका प्रायः सबै महिना चालु खाता र शोधनान्तर ऋणात्मक हुनु यसैको प्रभाव भएको अर्थविद्हरू बताउँछन् । पछिल्ला महिनामा अमेरिकी डलरको विनिमय दर घट्नुका साथै निक्षेपको ब्याजदरमा पनि कमी आएकाले रेमिट्यान्स आप्रवाह वृद्धिदर जानकारहरू बताउँछन् ।

रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घट्नुका साथै सरकार नागरिकलाई विदेशी विनिमय सटही सुविधमा कडाइ गरेकाले अपेक्षित रूपमा रेमिट्यान्स बढ्न नसकेको राष्ट्र बैंकका एक पूर्व कार्यकारी निर्देशकले बताए ।

‘विगतका वर्षमा कामका लागि मलेसिया, दुबई, कतारलगायत राष्ट्र जाने नेपाली धेरै थिए,’ उनले भने, ‘अहिले परिस्थिति बदलिएको छ, जापान, अस्ट्रेलिया, अमेरिकालगायत ठूला राष्ट्रमा अध्ययन भिसामा जाने नेपाली धेरै छन् ।’ उनीहरूले अध्ययनसँगै काम पनि गर्ने भएको पछिल्ला वर्षमा अमेरिकालगायत राष्ट्रबाट मुलुक भित्रिने रेमिट्यान्स बढेको उनको भनाइ छ ।

एकातिर डलरको विनिमयदर घटेको तथा नेपालमा पनि बैंक ब्याजदर बढ्न नसक्दा रेमिट्यान्स वृद्धिदरमा कमी आएको जानकारहरू बताउँछन् । यसअघि ब्याजदर उच्च हुँदा राम्रो प्रतिफल कमाउने आशले आएको रेमिट्यान्स अहिले ब्याजदर कम भएकाले केही घटेको हुन सक्ने उनीहरूको अनुमान छ ।

रोजगारीम जाने कम
गत वर्षभन्दा यो वर्षको पहिलो महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यहीकारण रेमिट्यान्स आप्रवाह न्यून रहेको विज्ञहरू बताउँछन् ।

गत आर्थिक वर्षको अघिल्ला तीन महिना (साउन, भदौ र असोज) मा लगातार बढेको रेमिट्यान्स वृद्धिदर त्यसपछिका महिनामा घटेको थियो । त्यतिबेला अमेरिकी डलरको मूल्यमा आएको गिरावटसँगै, बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर घटेकाले गत मंसिरपछि रेमिट्यान्स वृद्धिदर पनि घटेको जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३ प्रतिशतले घटेको थियो । रोजगारीका लागि अन्तिम श्रम स्वीकृतिका आधारमा उक्त तथ्यांक निकालिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । सो अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५.४ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

अमेरिकाबाट धेरै रेमिट्यान्स
विगतमा नेपाल भित्रने कुल रेमिट्यान्समध्ये करिब ७० प्रतिशतभन्दा बढी खाडी मुलुकबाट आउने गरेको थियो । खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (दुबई) र बहराइनबाट मात्र उक्त रकम नेपाल भित्रिएको हो । (सो क्षेत्रका सदस्य राष्ट्र ओमनबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रने गरेको छैन ।) हाल परिस्थिति बदलिएको छ । पछिल्ला एक/डेढ वर्षयता साउदी र कतारको हिस्सा घट्दै छ । गत वर्षको मध्यदेखि सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट आउने गरेको तथ्यांक छ ।

विगतमा अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका आदि) बाट निकै कम मात्र रेमिट्यान्स आउने गरेको थियो । अमेरिकाबाट धेरै रेमिट्यान्स आए पनि सो रकम अमेरिकाको मात्र नभएको जानकारहरू बताउँछन् । वेस्टर्न युनियनलगायत अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीको मुख्य कार्यालय अमेरिकामा रहेको र ती कम्पनीमार्फत नेपाल आउने अन्य देशको रेमिट्यान्स पनि अमेरिकामार्फत आउन थालेकाले पछिल्ला महिनाहरूमा अमेरिकाको अंश धेरै देखिएको हुन सक्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।
श्रोतः https://ekantipur.com/business/2019/09/26/156946797488832040.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter