३३ मुलुकसँग १ अर्ब बढी व्यापार घाटा

July 25, 2017

कान्तिपुर दैनिक,१० श्रावण २०७४ 

गत आर्थिक वर्षमा ३३ वटा मुलुकहरूसँग १ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ।

      

 उच्च दरमा विभिन्न सामग्रीहरू आयात र न्यून दरमा नेपालका सामग्रीहरू निर्यात भएपछि ३३ मुलुकसँग उक्त व्यापार घाटा देखिएको हो। आर्थिक वर्ष ०७२/७३ मा १ अर्बभन्दा बढी व्यापार घाटा हुने मुलुकको संख्या २९ रहेको थियो। ०७१/७२ मा भने २८ वटा मुलुकसँग मात्रै व्यापार घाटा भएको थियो। यो आधारमा बढी व्यापार घाटा हुने मुलुकको संख्या क्रमश: बढ्दो क्रममा रहेको देखिन्छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग रह्यो। भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष भारतसँग ५ खर्ब ९९ अर्ब ५७ करोड २० लाख ५९ हजार रुपैयाँ व्यापार घाटा भएको थियो। भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोड २४ लाख ३८ हजार रुपैयाँको सामान आयात भएकामा नेपालबाट भने भारततर्फ ४१ अर्ब ६० करोड ३ लाख ७९ हजार रुपैयाँको मात्रै सामानहरू निर्यात भएको तथ्यांकले देखाएको छ।

त्यसअघिका वर्षहरूमा समेत सोही अनुपातमा भारतर्फबाट सामान आयात र निर्यात हुने गरेको थियो। भारत व्यापार घाटाको पहिलो मुलुक हो। खर्बभन्दा बढी रकमले व्यापार घाटा भएका मुलुक भने दुईवटा मात्रै (भारत र चीन) हुन्। गत आर्थिक वर्षमा चीनबाट १ खर्ब २९ अर्ब ८७ करोड ८४ लाख १७ हजार रुपैयाँका सामान आयात भएका थिए। निर्यात भने १ अर्ब ७० करोड १४ लाख ७९ हजार रुपैयाँको भएको थियो। उक्त आधारमा गत वर्ष चीनतर्फ १ खर्ब २८ अर्ब १७ करोड ६९ लाख ३८ हजार रुपैयाँले व्यापार घाटा भएको देखिन्छ। खर्चभन्दा कम तर अर्बभन्दा बढी व्यापार घाटा भएका मुलुकको संख्या ३१ रहेको छ। त्यसपछि क्रमश: युनाइटेड अरब इमेरेट्स (यूएई), फ्रान्स, इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, कोरिया, क्यानाडा, मलेसिया, साउदी अरब, भियतनाम, जापान, साउथ अफ्रिकालगायत मुलुक रहेका छन्। 

व्यापार घाटामा पहिलो र दोस्रो मुलुकमा भारत र चीन रहे पनि अन्य तेस्रो तथा चौथोमा भने आर्थिक वर्षअनुसार परिवर्तन हुने गरेको पाइएको छ। गत वर्ष १ सय ६७ मुलुकहरूसँग व्यापार (सामान आयात निर्यात) भएको थियो। यसमध्ये निर्यातभन्दा आयात बढी भई व्यापार घाटा हुन पुगेका मुलुकको संख्या १ सय ३३ वटा छ। व्यापार नाफा अर्थात् आयातभन्दा नेपाली सामग्रीको निर्यात बढी भएका मुलुकको संख्या ३४ रहेको तथ्यांकमा छ। १ अर्बभन्दा बढी व्यापार नाफा भएको मुलुक टर्की हो। गत वर्ष टर्कीबाट ३ अर्ब १६ करोड ४ लाख ५३ हजार रुपैयाँको सामान आयात भएको थियो। निर्यात भने ४ अर्ब १९ करोड ९३ लाख २४ हजार रुपैयाँको भएको थियो। यो आधारमा १ अर्ब ३ करोड ८८ लाख ७१ हजार रुपैयाँले व्यापार नाफा भएको देखिन्छ। बाँकी अन्य मुलुकसँग भने ५० करोडभन्दा कमका दरले व्यापार नाफा भएको तथ्यांकले देखाउँछ। 

विभागको तथ्यांकअनुसार गत वर्ष ९ खर्ब ९ अर्ब ३५ करोड ५१ लाख ५१ हजारले व्यापार घाटा भएको थियो। नेपालमा वर्षभरिमा ९ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख ९ हजार रुपैयाँको कुल सामान आयात भएको थियो। ७४ अर्ब ७१ करोड २६ लाख ५७ हजार रुपैयाँको मात्रै सामान निर्यात भएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले आयात बढेको छ। निर्यात भने ६.३५ प्रतिशतले मात्रै बढेको तथ्यांक विभागले सार्वजनिक गरेको छ। व्यापार घाटा पनि २९ प्रतिशतले बढेको छ।

स्रोत :http://kantipur.ekantipur.com/news/2017-07-25/20170725081202.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More