News

३५ लाख घरधुरीमा पुग्यो वैकल्पिक ऊर्जा

January 17, 2018

नागरिक दैनिक, ०२ माघ २०७४

प्रत्येक घरपरिवारमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने नीति अनुसार सरकारले गत आर्थिक वर्षसम्ममा ३५ लाख घरधुरीमा वैकल्पिक ऊर्जा पुर्‍याएको छ। विभिन्न वैकल्पिक तथा नवीकरणीय ऊर्जा प्रविधिबाट उक्त घरपरिवार लाभाविन्त भएका हुन्।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९ वटा कार्यक्रम अन्र्तगत आर्थिक वर्ष ०७३÷७४ सम्ममा ३५ लाखभन्दा धेरै परिवारमा वैकल्पिक तथा नवीकरणीय ऊर्जा प्रविधि जडान भएको जनाएको छ । केन्द्रले उक्त परिवारमा वायोग्याँस प्लान्ट, घरेलु सौर्य विद्युत प्रणाली, लघु तथा साना जलविद्युत् सुधारिएको चुलो, सुधारिएको पानीघट्ट, सुधारिएको फलामे चुलो सौर्य विद्युत् लगायतका वैकल्पिक ऊर्जा पु¥याएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जा प्रविधिबाट ३५ लाख घरपरिवार लावान्वित भएको बताए । ‘३५ लाख घरपरिवारमध्ये केही घरमा दुईवटा ऊर्जा प्रविधि पनि जोडिएको हुन सक्छ,’ ढकालले भने ।

केन्द्रका अनुसार गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार बायोग्यास प्लान्ट ३ लाख ८० हजार ४ सय ३२ वटा, ठूला बायोग्याँस प्लान्ट ८८ वटा, लघु तथा साना जलविद्युत् २९ हजार ४ सय ५७ किलोवाट, घरेलु सौर्य विद्युत् ७ लाख ९४ हजार २ सय ७६ वटा जडान भएका छन् । त्यसैगरी, सुधारिएको चुलो १३ लाख ४३ हजार २ सय ४२ वटा, सुधारिएको पानीघट्ट १० हजार ६ सय ५४ वटा, संस्थागत सौर्य विद्युत् प्रणाली १ हजार ७ सय १, सुधारिएको फलामे चुलो ४१ हजार ९० र सौर्य मिनिग्रिड ६५ किलोवाट जडान भएको तथ्यांकमा उल्लेख छ ।

प्रवद्र्धन केन्द्रले सञ्चालन गर्ने यी सबै सेवामा अनुदान दिँदै आएको छ । सरकारले जडान गरेका यी प्रविधिबाहेक देशभरमा विभिन्न गैरसरकारी संस्थाले पनि वैकल्पिक तथा नवीकरणीय ऊर्जासम्बन्धी काम गर्दै आएका छन् ।

अहिलेसम्म पनि मुलुकका अधिकांश जनताले परम्पगत ऊर्जामै निर्भर हुनु परेको छ । आर्थिक वर्ष २०७३÷७४ को आर्थिक सर्वेक्षण अनुसार ७८.४ प्रतिशतले परम्परागत ऊर्जाको प्रयोग गर्छन् । जसमध्ये दाउराको प्रयोग गर्ने ७१.२ प्रतिशत, कृषि (छवाली, पराल जस्ता) ३.५ प्रतिशत र गुइँठा प्रयोग गर्ने ३.७ प्रतिशत रहेका छन् । त्यसैगरी, मुलुकभर झन्डै ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीमा निर्भर रहेको देखाउँछ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा अझै खाना पकाउने इन्धनका रुपमा दाउरा, गुइँठ लगायत परम्परागत जैविक ऊर्जाको प्रयोग हँुदै आएको छ । ती वस्तु बाल्दा निस्कने धुँवा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक हुन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक वर्ष नेपालमा घरभित्रको धुवाँको कारण २२ हजार ८ सय ४१ जना व्यक्तिको मृत्यु हुने गरेको छ । जसमध्ये धेरै जसो महिला र बालबालिका रहेको छन् । त्यसैगरी, तथ्यांक अनुसार बर्सेनि ७ लाख ४६ हजार ३ सय ८१ जना बिरामी पर्छन् ।

मुलकुभर कम्तीमा सुधारिएको चुलोको प्रयोग हुनुपर्ने र स्वच्छ ऊर्जामा आम जनताको पहुँच हुनुपर्नेमा जोड दिँदै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सन् २०१३ मै २०१७ सम्ममा ‘धुवाँरहित भान्छा’ (क्लिन कुकिङ सोलुसन फर अल बाई २०१७) बनाउने भनेर एक महत्वँकांक्षी योजना घोषणा गरेको थियो । यो घोषणासँग सरकारले यस महत्वाकांक्षी योजना सफल बनाउन सहयोग गर्न सबै सरोकारवाला निकायलाई आग्रह समेत गरेको थियो ।

यही आग्रहपछि सरकारको लक्ष्यलाई सहयोग गर्ने हेतुले ‘क्लिन कुकिङ’ सम्बन्धी काम गर्ने मुलुकभरका सरोकारवाला निकाय, गैरसरकारी संस्थाहरूले संयुक्त प्रयासबाटै सफलता पाउन सकिने भन्दै ‘नेपाल एलाइन्स फर क्लिन कुकस्टोभ’को घोषणा गरिएको थियो । उक्त एलाइन्समा हालसम्म एक सय ५० भन्दा धेरै संस्था आवद्ध छन् ।

यी संस्थाहरूले सरकारको सहकार्य वा एकल रुपमा मुलुकभरका विभिन्न जिल्लामो चुलो वा ‘क्लिन इनर्जी’को क्षेत्रका काम गरिरहेका छन् । सरकारले यही वर्षसम्ममा ‘धुवाँरहित भान्छा’ बनाउने योजना सफल नहुने भएपछि यो लक्ष्यलाई सन् २०२२ सम्म सारिएको छ ।

सुधारिएको चुलो जस्ता वैकल्पिक ऊर्जाको प्रयोगले मानव स्वास्थ्यमा हुने गम्भीर प्रकृतिका समस्याबाट छुटकारा पाउन सहयोग मिल्ने ऊर्जा विशेषज्ञ इन्दिरा शाक्यले बताइन् । केन्द्रका निर्देशक ढकालले पनि सुधारिएको चुलो र सोलार जडानले खासगरी महिलालाई धेरै फाइदा पुगेको बताए ।  उनका अनुसार सरकारले नीतिगत रुपमा पनि महिलामैत्री वैकल्पिक ऊर्जाको प्रयोगलाई जोड दिँदै आएको छ ।

स्रोत: http://www.nagariknews.com/news/35036/