३७ अर्ब लगानीमा सिमेन्ट उद्योग

September 04, 2017

अन्नपुर्ण पोस्ट, १९ भद्र २०७४ 

नवलपरासीमा सिमेन्ट उद्योग स्थापना गर्न नेपाल लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच परियोजना लगानी सम्झौता (पीआईए) भएको छ। सिमेन्ट उद्योगमा ३५ करोड ९१ लाख अमेरिकी डलर (३६ अर्ब ७५ करोड रुपैयाँ) लगानी हुँदै छ। उद्योगमा चिनियाँ सिमेन्ट उत्पादक कम्पनी होङ्सीको ७० प्रतिशत र नेपाली शिवम् होल्डिङ्सको ३० प्रतिशत लगानी रहनेछ।

आइतबार काठमाडौंमा भएको सम्झौतापत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट निर्देशक/महाप्रबन्धकलाई वेइपिङले हस्ताक्षर गरे। यो नेपाली उत्पादनमूलक क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो। एक वर्षभित्र कारखानाबाट सिमेन्ट उत्पादन सुरु भइसक्ने बताइएको छ। अहिले धमाधम निर्माण भइरहेको सिमेन्ट उद्योग नवलपरासीको दुम्कीवासबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको छ।

सम्झौता कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताए। परियोजना कार्यान्वयनको क्रममा सरकारका तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गरेको उनले बताए। बजेटमा प्रतिबद्धता व्यक्त भएअनुरूप आवश्यक पूर्वाधार सुविधा सरकारले उपलब्ध गराउने उनले बताए।

सिमेन्ट उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार मेट्रिक टनमात्र सिमेन्ट उत्पादन गरिनेछ। यसको क्षमता विस्तार गरेर दैनिक १२ हजार मेट्रिक टन पुर्‍याउने कम्पनीको लक्ष्य छ। ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिने उद्योग मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हुनेछ। सिमेन्ट उद्योगले करिब २८ किलोमिटर उत्तर पाल्पाको ज्यामिरेमा रहेको चुनढुंगा खानी प्रयोगमा ल्याउने भएको छ। दोस्रो चरणमा खानीबाट उद्योगसम्म कच्चापदार्थ ओसार्न कन्भेयर बेल्ट निर्माण गरिने भएको छ। साथै अरू बाटो पनि प्रयोग गरिनेछ।

सम्झौतापत्रमा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको छ। नेपाल सरकारले लगानी सुरक्षा प्रत्याभूति दिँदै कम्पनीको मनोबल बढाएको छ। यसले परियोजना कार्यान्वयनका लागि निश्चित समयतालिका निर्धारण गरी परियोजनाको सफलताको प्रत्याभूति गर्ने लगानी बोर्डले जनाएको छ।

उत्पादनमूलक उद्योगमा अहिलेसम्मकै ठूलो लगानी भित्रिन लागेको लगानी बोर्डका सीईओ अधिकारीले बताए। विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक र विश्वासिलो गन्तव्य बन्दै गएको उनको भनाइ छ। ‘यो सम्झौतासँगै नेपालमा विश्वस्त भएर लगानी गर्ने र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीका लागि नेपालमा लगानीका अवसरको अनन्त ढोका खोलेका छौं', अधिकारीले भने।

होङ्सी शिवम्का निर्देशक/महाप्रबन्धक लाई वेइपेङले परियोजना कार्यान्वयनमा ल्याउन लगानी बोर्डले खेलेको भूमिकाको प्रशंसा गरे। ‘यो सम्झौता साकार पार्न लगानी बोर्डको भूमिका निकै महत्र्वपूर्ण रह्यो', उनले भने, ‘नेपालमा लगानीको वातावरणसम्बन्धी हाम्रै अनुभवले पनि विदेशी लगानी भित्र्याउन लगानीकर्तामा सकरात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्नेछ।'

कच्चापदार्थ र बजारले लोभ्यायो

चीनको प्रसिद्ध सिमेन्ट उत्पादक कम्पनी होङ्सीले नेपालमा पनि ठूलो लगानी गर्न खोजिरहेको थियो। कम्पनीले लाओस, म्यानमार, इन्डोनेसियालगायत देशमा सिमेन्ट उत्पादन सुरु गरिसकेको थियो। प्रशस्त कच्चापदार्थ र बजार सम्भावना पनि देखेको होङ्सीले नेपालमा प्लान्ट लगाउन चाहेको थियो। बजार अध्ययन गरिरहेको बेलामा होङ्सी र शिवम्बीच छलफल भयो।

उद्योगमा चिनियाँ सिमेन्ट उत्पादक कम्पनी होङ्सीको ७० प्रतिशत र नेपाली शिवम् होल्डिङ्सको ३० प्रतिशत लगानी रहनेछ।

शिवम्को प्रस्तावसँग होङ्सी सहमत भएपछि सहकार्य भएको होङ्सी शिवम् सिमेन्टका निर्देशक सतीशकुमार मोरले बताए। ‘हामीसँग ठूलो लगानी गर्ने पुँजी थिएन, ठूलो लगानी गर्न बैंकको क्षमताले पनि भ्याउँदैनथ्यो', निर्देशक मोरले भने, ‘सिमेन्टको ठूलो प्लान्ट सञ्चालन गर्न होङ्सीको लगानी भित्र्यायौं।' होङ्सी चीनको ठूलो सिमेन्ट उत्पादक कम्पनी हो। आर्थिक वर्ष २०१५/१६ मा होङ्सीले चीनमा रहेका उद्योगबाट मात्र ८० मिलियन टन सिमेन्ट उत्पादन गरेको थियो।

होङ्सी शिवम् सिमेन्ट सञ्चालनमा आएपछि करिब दुई हजार जनाले रोजगारी पाउने बताइएको छ। उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा यसले ५० देखि ८० मेगावाट बिजुली खपत गर्नेछ। ‘नेपालमा सिमेन्टको माग वार्षिक १८ प्रतिशतले वृद्धि भइरहेको छ, उत्पादन बढेपछि बजार पनि सृजना हुँदै जानेछ', मोरले भने, ‘हामीलाई बजारको समस्या हुँदैन।'

नेपालमा अझै ठूला पूर्वाधार बन्न बाँकी छन्। सडक, पुल, सहर, ठूला महल निर्माणकै क्रममा छन्। भूकम्पपछि पुनर्निर्माणले पनि गति लिएको छ। यसैले नेपालमा सिमेन्टको माग उच्च रहने देखिन्छ। कम्पनीले सिमेन्ट निर्यातको पनि लक्ष्य राखेको छ। नेपाली सिमेन्टको मुख्य बजार भारतको सीमावर्ती सहर विहार नै हुनेछ। विहारमा चुनढुंगा खानी नभएकाले सिमेन्ट उद्योग सञ्चालनमा पनि छैनन्। यसैले नेपाली सिमेन्टको मुख्य बजार विहार बन्न सक्छ।

शिवम् होल्डिङ्सले हेटौंडामा सिमेन्ट उद्योग चलाइरहेको छ। नेपाली उपभोक्तामाझ शिवम् सिमेन्ट लोकप्रिय छ। कम्पनीले दैनिक दुई हजार चार सय मेट्रिक टन क्षमताको उद्योगलाई क्षमता विस्तार गरेर तीन हजार मेट्रिक टन पुर्‍याउँदै छ।

स्रोत: 

http://annapurnapost.com/news/79335

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More