३ करोडमा शंखपार्क स्तरीकरणको गुरुयोजना

March 11, 2018

२७ फागुन, काठमाडौँ । काठमाडौं महानगरको वडा नंं ४स्थित शंख पार्कको प्रस्तावित गुरु योजना सार्वजनिक गरिएको छ । अाइतबार विहान सार्वजनिक गरिएको गुरु योजनाअनुसार करिब ३ करोड ४ लाख रुपैयाँ लागतमा यसको स्तरीकरण गरिनेछ ।

बालबालिका, अपांगता भएका र जेष्ठ नागरिकमैत्री हुने यो पार्क हिँड्ने, खेल्ने वा व्यायाम गर्ने प्रयोजनलाई ध्यानमा राखेर तयार गरिनेछ । रक्षा मन्त्री ईश्वर पोखे्रलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण र महानगरको प्राथमिक योजनामा हुनुपर्ने काम भएको बताए । पार्कभित्रै सकै खालमा संरचना बनाउन नहुने भन्दै उनले शंखपार्कलाई अरु भन्दा विषेश बनाउन प्रयत्न गर्नुपर्ने बताए ।

‘एकै ठाउँमा सबै चिज राख्न सम्भव पनि छैन र त्यसरी राख्नु पनि हुँदैन । बरु वडामा भएका अरु पनि सार्वजनिक जग्गा खोजौं र सार्वजनिक प्रयोगमा रुपान्तरण गरौं । यो चाहिँ सम्भव छ,’ पोखरेलले भने ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा परिणाममुखी धेरै काम गरिने बताउँदै पछि विवाद सिर्जना गर्नुभन्दा काम थालनी हुनुपूर्व योजनामा छलफल गर्न र रचनात्मक सुझाव दिन वडाबासी र सरोकारवालासँग आग्रह गरे ।


‘बनाउने र टिकाउने योजना लिएर हामी विकास निर्माणमा जुटेका छौं, हामी बनाइदिन्छौं, नागरिकसँग मिलेर वडाले संरक्षण गर्छ । सार्वजनिक जग्गा संरक्षण गर्न सवै मिलौं,’ मेयर शाक्यले भने ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मोहन विष्टले सार्वजनिक जग्गा उपयोग बाटवडाबासीलाई लाभ हुने गरी परिणाम दिन आफू प्रतिवद्ध रहेको जनाउँदै पार्कको प्रयोग गर्दा हल्ला भए सहरी आचरण मापदण्ड र यसको पालनामा आफूले काम गर्ने बताए ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पार्कलाई अत्याधुनिक बनाउन उपकरणसहितको खुल्ला जिम र साइकल ट्रयाक बनाउनु पर्ने सुझाव दिए ।

पूर्व संसद रत्ना गुरुङले पार्कको प्रयोगमा कोही  बञ्चित होलान् कि भन्ने विषयमा योजना निर्माण गर्दा गर्दै सचेत हुनु पर्ने बताइन् ।

ग्राफिक भिडियो 

पार्कका नियमित प्रयोगकर्ता सीताराम घले, सिट अप राष्ट्रिय रेकर्डर रामचन्द्र खनाल, आर्किटेक्ट सुरज खनाललगायतले पार्कमा फोहोर व्यवस्थापनको संयन्त्र हुनुपर्ने, क्याफ्टेरियाको प्रवन्ध गरिनुपर्ने, पार्क वाहिर जमरा तथा घ्यूकुमारीको जुस बेच्नेलाई पार्कको अङ्ग बनाइनुपर्ने, निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइनु पर्ने लगायतका सुझाव दिए ।

काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराही चक्रपथसँगै जोडिएको शंख पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

वि. सं. २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रुपमा निर्माण गरिएको हो । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि पार्कको नाम शंख पार्कका रुपमा पुन नामाकरण गरिएको हो ।

अहिले यो पार्क बनभोज, विवाह, ब्रतवन्धजस्ता सामाजिक कार्य, विहान र वेलुका व्यायाम गर्ने स्थल, स्थानीय भेटघाट र मनोरञ्जनका लागि उपयोग हुँदै आएको छ । पार्कमा दैनिक औसत ५०० व्यक्ति घुम्न आउने अनुमान छ ।



Source: https://www.onlinekhabar.com/2018/03/664618

Newsletter

Submit your details below to receive Newsletters

Newsletter