३ सय ७८ आरोही आधार शिविरमा

May 13, 2019

राजु बास्कोटा, अन्नपूर्ण पोष्ट, बैशाख ३०, २०७६ 

काठमाडाैं : काठमाडौं सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ४८ देशका ३ सय ७८ जना आधार शिविर पुगेका छन्। सगरमाथा आरोहणका गर्न सन् २०१९ को वसन्त ऋतुका लागि ३ सय २ पुरुष र ७६ जना महिलाले अनुमति लिएका छन्। अनुमति लिएका सबै आरोही आधार शिविर पुगिसकेका छन्। उनीहरू अनुकूल मौसम कुरिरहेको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार सगरमाथा आरोहण गर्न विदेशी ३५ र ६ नेपाली गरी ४२ वटा समूहले अनुमति लिएका छन्। विभागको तथ्यांकअनुसार ६ वटा समूहमा १३ जना नेपाली छन्। आरोहणमा जाने नेपालीमा ७ पुरुष र ६ महिला छन्।

विदेशी आरोहीमा भने सबैभन्दा बढी भारतीय नागरिक छन्। भारतबाट ५९ पुरुष र १८ महिला गरी जम्मा ७७ जनाले आरोहण अनुमति लिएका छन्। त्यसपछि बढी चासो देखाउनेमा अमेरिकी नागरिक छन्। संयुक्त राज्य अमेरिकाबाट सगरमाथा आरोहणका निम्ति ७५ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणमा जानेमा चिनियाँ नागरिक पनि ६० जना छन्।

सगरमाथा आरोहणबाट मात्रै सरकारले यो वर्षको वसन्त ऋतुमा ४३ करोड ९९ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ। सरकारले आरोहण खुला गरेका हिमालमध्ये सबैभन्दा बढी रोयल्टी संकलन सगरामाथाबाटै हुने गरको छ।

 सगरमाथा आरोहणका लागि विदेशी नागरिलकलाई प्रतिव्यक्ति ११ हजार डलर र नेपालीलाई ७५ हजार रुपैयाँ आरोहण रोयल्टी लाग्छ। सगरमाथाबाहेक यो सिजनका लागि ३० वटा हिमाल आरोहण गर्न १ सय ६ समूहका ८ सय ४२ जनाले अनुमति लिएका छन्। यसबापत सरकारले ४९ करोड १७ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।

फानीले रोक्यो आरोहण

भारतको उडिसालगायत आसपासका क्षेत्रमा आएको सामुद्रिक आँधी फानीको असर गत साता सगरमाथा क्षेत्रसम्म परेको थियो। यसका कारण अझै मौसम नखुल्दा आरोहण रोकिएको सगरमाथा आधार शिविरमा रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। सोही कारण हिउँ पहिलो आउने, मौसममा अचानक परिवर्तन आउने तथा आरोहणका निम्ति प्रतिकूल परिस्थति आउन सक्ने भन्दै सम्पूर्ण आरोहीलाई सचेत पनि गराइएको थियो।

श्रेष्ठले शनिबार अन्नपूर्णसँग भने, ‘मौसमले साथ नदिएका कारण आरोहण टोली अगाडि बढ्न सकेको छैन। अबको उक दुई दिनमा मौसम खुल्ने र त्यसपछि आरोहण हुने अनुमान छ।’ उनका अनुसार यो वर्षको आरोहण मंगलबारदेखि सुरु हुने अनुमान गरिएको छ।

‘मौसमले साथ नदिएपछि सर्वोच्च शिखर सगरमाथा आरोहणका निम्ति गएका मध्ये एक हजारभन्दा बढी आरोही, गाइड र भरियासहितको टोली आधार शिविरमै छ। उकालो लाग्ने क्रम पनि सुरु भएको छ।

अनुकूल मौसम भएको अवस्थामा धमाधम आरोहण सुरु हुन्छ’, श्रेष्ठले भने। उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष आरोहण केही दिन ढिलो सुरु हुने भएको छ। अघिल्लो वर्ष यतिबेला आरोहण सुरु भइसकेको थियो। मौसमले साथ दिए अब तीनदेखि चारदिनमा आरोहण सुरु हुने जानकारी श्रेष्ठले दिए।

स्रोत: http://annapurnapost.com/news/127223

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More