४० हजार दक्ष चालक आवश्यक

October 30, 2017

राजेश बर्मा, अन्नपुर्ण पोस्ट, १२ कार्तिक २०७४ 

काठमाडौं : लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना बढ्दो छ । लामो दूरीका बसमा १० वर्षअघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्थामा कडाइ गर्दा लामो दूरीका बस दुर्घटनाको दर निकै तल झरेको थियो । पूर्वाञ्चलको हकमा हेटौंडामा अनिवार्य रूपमा अर्को चालक फेर्ने नीति कडाइसाथ कार्यान्वयनमा ल्याइएको थियो ।

तर, अहिले एउटै चालकले गन्तव्यसम्म पुर्‍याउन बाध्य छन् । एकै जनाले १५ देखि २० घन्टासम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढ्दै गएको विज्ञहरूको ठहर छ । दुई जना चालक मिलेर गन्तव्य स्थानसम्म सवारीसाधनलाई सुरक्षित पुर्‍याउने व्यवस्था अहिले कार्यान्वयनमा छैन ।

दक्ष चालक अभाव हुनुमा दुई प्रकारका कारक तत्व भेटिएको छ । राजनीतिक अस्थिरताका कारण दक्ष चालक वैदेशिक रोजगारमा पलायन हुनु र नयाँ दक्ष चालक उत्पादन गर्ने कामतर्फ राज्यको ध्यान जान नसक्नु । ‘राज्यले दक्ष चालक उत्पादन गर्न चासो नदेखाउँदा शनिबार राजविराजबाट आएको बस दुर्घटनामा पर्‍यो । पाँच वर्षयता ठूला गाडीको चालक अनुमतिपत्र दिने काम पूर्णरूपमा ठप्प छ ।

हामीले अनुमतिपत्र दिने सुविधा खुला गर भन्दै आयौं तर सरकार आँखा चिम्लेर बसेको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शनिबार अन्नपूर्ण पोस्ट्सँग भने।

चालकको अभावमा बाध्य भएर एउटै चालकको भरमा बस चलाउँदै आएको उनले बताए । ‘चालक पनि मानव नै हो, थकित भएर आँखा लाग्न सक्छ’, उनले भने । यस्ता दुर्घटनामा यातायात व्यवसायीभन्दा सरकार बढी दोषी रहेको महासंघको आरोप छ । महासंघका अनुसार अहिले देशभरबाट करिब ६० हजार दक्ष चालक वैदेशिक रोजगारमा पलायन भएका छन् । तत्कालै ४० हजार हाराहारीमा लामो दूरीका सवारीसाधनमा दक्ष चालकको माग छ ।

‘दुर्घटनामा ज्यान गुमाउने सर्वसाधारण हाम्रै नेपाली हुन् । यो समस्यालाई समाधान गर्न अनुमतिपत्र सुविधा खोज्न यातायात विभागदेखि भौतिक पूर्वाधार मन्त्रालयमा धाउँदाधाउँदै हाम्रो कति जोर जुत्ता फाटिसक्यो तर सरकारले टार्दै आएको छ,’ महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले भने, ‘हामी दुईवटा चालक राख्न तयार छौं तर राज्यले चालक उत्पादन प्रक्रिया फुकुवा गरिदिनुपर्छ।’

उनका अनुसार अहिले यातायात व्यवसायीलाई लामो दूरीका बस चलाउने चालक पाउनै मुस्किल पर्न थालेको छ । ‘यातायात व्यवसायीबीच दक्ष चालक राख्न प्रतिस्पर्धा नै चलेको छ । पहिले सजिलै चालक पाइन्थ्यो, अहिले भने सूचना प्रकाशन गर्दा पनि चालक पाइँदैन’, खनालले थपे ।महासंघका अनुसार हालसम्म सरकारले हेभी गाडी (बस र ट्रक) को हकमा उपत्यकाबाहिर ट्रायल सेन्टर व्यवस्थासम्म गर्न सकेको छैन । ट्रायल सेन्टरसम्म नहुँदा चालक उत्पादनमा थप चुनौती थपिएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकनारायण पाण्डेले ठूला सवारीसाधनको चालक अनुमतिपत्र सुचारु गर्ने विषयमा तथ्यपरक जानकारी दिन सकेनन् । ‘हामीकहाँ साधन–स्रोतको अभाव छ । क्यालेन्डरअनुसार यो सुविधा खुल्दै आएको छ तर कुन स्थानमा कहिले खुल्यो भनेर मलाई कुनै जानकारी छैन,’ उनले भने, ‘उपत्यकामा यो सुविधा खुल्दै आएको छ तर बाहिरको अवस्थाबारे मलाई जानकारी भएन।’

स्रोत: http://annapurnapost.com/news-details/82938

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More