News

४५ वर्षपछि बन्यो तराई-पहाड जोड्ने द्रूतमार्ग

September 07, 2017

लोकनाथ रिजाल , अन्नपुर्ण पोस्ट, २२ भदौ २०७४

तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले २०२८ सालमा शिल्यान्यास गरेको उर्लाबारी-मधुमल्ला-रवि सडकखण्डले ४५ वर्षपछि पूर्णता पाएको छ । उर्लाबारीबाट पाँचथरको रविसम्म जम्मा ५२ किलोमिटरको दूरी रहे पनि लामो समयपछि सडकले पूर्णता पाएको हो ।

अनेक बिबाद र समस्याबीच यो सडकखण्ड पाँचथरको रविसम्म जोडिएपछि पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका बासिन्दालाई तराई झर्न सहज हुने भएको छ । उर्लाबारी-मधुमल्ला-रवि सडक तराईलाई पहाडसँग जोड्ने सबैभन्दा छोटो मार्ग बन्न सफल भएको छ । लामो समय इलामको साक्फारास्थित चुली खण्डमा ३ किलोमिटर जोड्न बाँकी थियो । यो दूरीमा ट्र्याक निर्माण गर्न मात्र १० वर्ष लागेको थियो । अहिले उक्त स्थानमा ट्र्याक खनेर रविसम्म पुर्‍याइएको छ । यो सडकमा जेठदेखि मोटरसाइकल गुड्न सुरु गरेको सडक पहल तथा अनुगमन समितिका संयोजक मानबहादुर श्रेष्ठले जानकारी दिए ।

दसैं अगाडि नै गाडीसमेत पुर्‍याउने गरी काम भइरहेको उनले बताए । ट्र्याक खोलिसकेपछि अहिले यो सडकखण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको उनले बताए । उनले भने, ‘जेठमै ट्र्याक खनिसके पनि यो बाटोको अझै स्तरउन्नति गरेर अबको एक दुई हप्ताभित्रै गाडी पुर्‍याउने गरी काम भइरहेको छ ।' लामो प्रयास र रस्साकस्सीपछि यो सडक रविसम्म जोडिने जानकारी दिँदै उनले अब पहाडका बासिन्दालाई तराई झर्न धेरै लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । बाटोको स्तरोन्नतिका लागि साढे तीन करोड रुपैयाँमा ठेक्का लागिसकेको र काम अन्तिम चरणमा पुगेको उनले बताए ।

चुली खण्डमा बाटो अत्यन्तै अप्ठ्यारो रहेकाले उक्त क्षेत्रमा अलि बढी समय लागेको उपभोक्ता समितिका सदस्य घनश्याम भण्डारीले बताए । एकपाइले, छालासुकुवामा ट्र्याक खन्ने काम अत्यन्तै गाह्रो भए पनि सम्पन्न भइसकेको उनले बताए । मोरङ र इलामको सडक डिभिजन कार्यालयको बिबादले गर्दा पनि काममा ढिलाइ भएको भण्डारीले बताए । बाटो निर्माण गर्दा रूख काटिएको भन्दै वन मन्त्रालयले केही समय निर्माणमा अवरोध पुर्‍याए पनि अहिले बिबाद समाधान भएर काम अन्तिम चरणमा पुगेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी आचार्यले बताए ।

तराईबाट एउटा पनि पुलको प्रयोग नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एक मात्र मार्ग भएकोले भविश्यमा यसको महत्वव बढेर जानेमा स्थानीय उपभोक्ता आशावादी देखिएका छन् ।

ट्र्याक खोलिसकेको र गाडी पुर्‍याउन बाटो बढाउने तथा ट्र्याक खोल्दा दबिएको भागमा मर्मत गर्ने काम भइरहेको उनले बताए । ट्र्याक खोलिएसँगै पूर्वी पहाडी जिल्लाका स्थानीयवासी तराई ओर्लन यही मार्गको प्रयोग गर्न थालेका छन् । भारतको फूलबडियादेखि चीनको सिमाना जोड्न यो बाटोले सेतुको काम गर्ने संयोजक श्रेष्ठले बताए ।

२०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले यो सडक योजना आयोगको रातो किताबमा पारेपछि सडक निर्माणका लागि सानोतिनो रकम विनियोजन हुँदै आएको थियो । तराईबाट एउटा पनि पुलको प्रयोग नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एक मात्र मार्ग भएकोले भविश्यमा यसको महत्वव बढेर जानेमा स्थानीय उपभोक्ता आशावादी देखिएका छन् ।

स्रोत: 

http://annapurnapost.com/news-details/79601