अन्नपुर्ण पोस्ट, ०४ माघ २०७४
नेपालमा अहिलेसम्म ४४ हजार नौ सय ७५ ट्रेडमार्क दर्ता भएका छन्। ट्रेडमार्कको तुलनामा पेटेन्ट र डिजाइन दर्ता न्यून देखिएको छ। उद्योग विभागमा अहिलेसम्म ७४ पेटेन्ट र एक सय ५१ डिजाइन दर्ता भएका छन्। अल्पविकसित मुलुकमा आविष्कार कम हुने भएकाले पेटेन्ट र डिजाइन दर्ता न्यून देखिएको हो।
ट्रेडमार्क कम्पनी वा उद्योगको आफ्नो व्यापारिक चिन्ह हो। पेटेन्ट राज्यले व्यक्ति वा संस्थालाई वस्तुको प्रयोग, उत्पादन र बिक्रीका लागि दिने अधिकार हो भने डिजाइन वस्तुको आविष्कार (उत्पादन) हो। विभागमा पेटेन्ट र डिजाइन दर्ताको प्रस्ताव धेरै आए पनि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा दर्ता कम हुने विभागकी इन्जिनियर शैलजा गुरुङले जानकारी दिइन्। ट्रेडमार्क दर्ताका लागि पनि थुप्रै आवेदन आउँछन् तर प्रक्रिया पूरा गरेर दर्ता हुने कमै हुन्छन्।
विभागमा पछिल्ला आठ वर्षमा १६ हजार पाँच सय २९ ट्रेडमार्क दर्ता भएका छन्। यो अवधिमा विभागमा ३४ हजार एक सय ६६ ट्रेडमार्क दर्ताको प्रस्ताव परेकामा आवश्यक प्रक्रिया पूरा गरेका आधाभन्दा कम ट्रेडमार्क दर्ता भएका हुन्। आठ वर्षमा दर्ता भएका टे«डमार्कमध्ये आठ हजार चार सय ४२ स्वदेशी रहेका छन् भने आठ हजार ८७ विदेशी हुन्। विभागको तथ्यांक विश्लेषण गर्दा वार्षिक औसतमा दुई हजार ट्रेडमार्क दर्ता हुने गरेको देखिन्छ। नेपालमा वौद्धिक सम्पत्ति जोगाउन ट्रेडमार्क दर्ता उत्साहजनक देखिन्छ।
वार्षिक औसतमा दुई हजार ट्रेडमार्क दर्ता हुने गरेको देखिन्छ
पछिल्लो समय निर्यात प्रवद्र्धनका लागि कलेक्टिभ ट्रेडमार्क लिने प्रचलन पनि बढेको देखिन्छ। नेपाल कफी, नेपाली लोक्ता, च्यांग्रा पस्मिना, नेपाल टी, नेपाली जुत्तालगायतले कलेक्टिभ ट्रेडमार्क पाइसकेका छन्। सरकारले निर्यात प्रवद्र्धनका लागि प्राथमिकतामा राखेका वस्तुको बजारीकरण गर्न सघाउने भएपछि नेपाली व्यवसायीले सामूहिक व्यापार चिन्ह (कलेक्टिभ टे«डमार्क) लिन पहल थालेका हुन्। कलेक्टिभ टे«डमार्क सामूहिक व्यापार चिन्ह हो। यसलाई व्यवसायीले सामूहिक रूपमा प्रयोग गर्न सक्छन्। ट्रेडमार्क झैं एउटै कम्पनीमा अधिकार सीमित रहँदैन।
विभागका अनुसार सन् २०१० मा १६ सय २२ ट्रेडमार्क दर्ता भएका थिए। यसमध्ये स्वदेशी आठ सय ९३ र विदेशी सात सय २९ रहेका थिए। यस्तै, सन् २०११ मा कुल (स्वदेशी र विदेशी) १३ सय ८१, सन् २०१२ मा १९ सय २४, सन् २०१३ मा २६ सय १०, सन् २०१४ मा १८ सय ६२, सन् २०१५ मा २२ सय ५३, सन् २०१६ मा २७ सय ८६ र सन् २०१७ मा दुई हजार ९१ ट्रेडमार्क दर्ता भएका छन्।
विभागको तथ्यांकमा पछिल्लो वर्ष ट्रेडमार्क दर्ता घटेको देखिन्छ। सन् २०१६ मा सबैभन्दा बढी २७ सय ८६ ट्रेडमार्क दर्ता भएका छन्। यो संख्या सन् २०१७ को तुलनामा ६ सय ९५ कम हो। सन् २०१३ मा पनि उच्च संख्या (२६१०)मा ट्रेडमार्क दर्ता भएको विभागको तथ्यांकले देखाउँछ। दर्ता भएका ट्रेडमार्कमा स्वदेशी र विदेशीको हिस्सा करिब बराबर देखिन्छ।