४८ तहको केन्द्र र नाम परिवर्तन हुने

December 30, 2017

सागर पण्डित, अन्नपुर्ण पोस्ट, १५ पुष २०७४

सरकारले विभिन्न जिल्लाका ४६ गाउँपालिका र २ नगरपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने तयारी अघि बढाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न जिल्लामा रहेका ४८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको जनाएको छ । हाल देशभर ७ सय ५३ स्थानीय तह रहेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले ४८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिका र गाउँपालिकाहरूले सभाको बहुमतबाट केन्द्र र नाम परिवर्तनको निर्णय गरी त्यसको स्वीकृतिका लागि सरकारसमक्ष पठाउनुपर्ने प्रावधान छ । स्थानीय तहको सभाको निर्णय र सिफारिसका आधारमा ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने तयारी गरिएको स्थानीय विकास मन्त्रालयका सहसचिव डा। हरि पौडेलले जानकारी दिए । गाउँपालिकाबाट तोकिएर आएको नाम र केन्द्रलाई सरकारले अक्षरशः स्वीकृत गर्नुपर्ने र यसमा परिवर्तन गर्न नपाइने कानुनी प्रावधान रहेको मन्त्रालयका सहसचिव पौडेलले बताए ।

स्थानीय विकास मन्त्रालयका अनुसार अब तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र गजरकोटबाट पोखरीछापमा सारिने भएको छ । यसैगरी सुनसरीको झोक्राहा गाउँपालिकाको केन्द्र चिरौलीचोकमा सारिने भएको छ भने सल्यानको कुमाखमालिका गाउँपालिकाको केन्द्र रागेचौर त्रिवेणीको बीच भागमा र ढोरचौर गाउँपालिकाको केन्द्र ढोरचौरमा सारिने भएको छ । 
मन्त्रालयका अनुसार खोटाङको लामीडाँडा गाउँपालिकाको केन्द्र खार्पाबाट कुभिन्डेको हरमटारमा, जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाको केन्द्र खगनकोट मन्मैबाट नगरपालिकाको ७ नं दल्लीमा सर्ने भएको छ । यसैगरी मनाङको नेस्याङ गाउँपालिकाको केन्द्र नेस्याङ ४ हुम्डेमा, रामेछापको लिखु गाउँपालिकाको केन्द्र बिजुलीकोटबाट हालको वडा नं ३ र ५ को पूर्वीक्षेत्रमा सारिने भएको छ ।

यसैगरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको केन्द्र गोल्जुङबाट गोल्जुङबेंशीमा, बाजुराको हिमाली गाउँपालिकाको केन्द्र बाधुबाट धुलीचौरमा, नुवाकोटको मेघाङ गाउँपालिकाको केन्द्र देउरालीबाट वडा ३ र ६ को बीचमा पर्ने मानेब्लेमा, म्यादीको रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीबाट मौवाफाँटमा, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाको केन्द्र कात्तिकेदेउरालीबाट ढाडखर्क भञ्ज्याङमा सारिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केन्द्र परिवर्तन हुन लागेका अन्य गाउँपालिकाहरूमा मकवानपुरको बकैया छत्तिवनबाट हात्तीसुँढे, मनहरीको साविक मनहरीबाट मनहरी(रजैया, मनाङको नार्फूको नार्पाबाट च्याखु, म्याग्दीको धवलागिरी ३ मुनाबाट सातमुले, घटेखोला, हुम्लाको नाम्खा मुचुबाट याल्वाङ, गोरखाको सुलिकोटको ताकुकोटबाट बारपाकमा स्थानान्तरण गर्न लागिएको हो ।

यसैगरी बाजुराको पाण्डवगुफाको जगन्नाथबाट जुड्डी, दोलखाको वैतेश्वरको काव्रेबाट पाडुडाँडा, सल्यान दार्माको दार्मा ४ बाट दार्मा ३, स्याङ्जाको गल्याङ नगरपालिकाको जगत्रादेवी गुठीबाट गल्याङ बजार, गोरखाको भीमसेन गाउँपालिकाको बगुवाबाट घ्याम्पेसाल, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घारबाट पोखरेबगर सारिने भएको छ ।

त्यस्तै, धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको नाम भने अब सहिदभूमि गाउँपालिकामा परिवर्तन भएको छ । यसैगरी सुनसरीको हरिनगरा गाउँपालिकाको केन्द्र हरिनगराबाट हरिनगर, चितवनको इच्छाकाम गाउँपालिकाको केन्द्र चण्डिभञ्ज्याङबाट दारेचोक कुरिनटार, दाङको बबई गापाको केन्द्र हंसपुरबाट हापुरे, सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाको किउलाबाट बाहुन डोडेनी, रुकुमको त्रिवेणी गाउँपालिकाको मुरुबाट सिम्रतु खारानेटा, धादिङको नेत्रावती गाउँपालिकाको तीखाढुंगाबाट सेमजोङ, खोटाङको वराहपोखरी गाउँपालिकाको साउनेचौरबाट बाघखोर भञ्ज्याङ, रोल्पाको दुईखोली गाउँपालिकाको राङकोटबाट पुत्लाचौर, इलामको सन्दुकपुर गाउँपालिकाको माइपोखरीबाट मावुमोड देउराली, सिन्धुलीको हरिहरपुरगढीको केन्द्र महेन्द्रभयाडीबाट झम्झने २ मा सारिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

स्रोत: http://annapurnapost.com/news-details/87159

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More