नवीन अर्याल, अन्नपुर्ण पोष्ट, माग २१, २०७४
काठमाडौं : नेपालमा विदेशी लगानी आकर्षण हस्पिटालिटी क्षत्रमा देखिएको छ। पर्यटकस्तरीय होटल तथा रेस्टुरेन्टमा विदेशी आकर्षित भएका हुन्। चालू आर्थिक वर्षको ६ महिनामा ४८ होटल तथा रेस्टुरेन्टमा विदेशी लगानीको प्रस्ताव आएको छ।
उद्योग विभागले पर्यटन क्षेत्रका ५० परियोजनामा विदेशी लगानी स्वीकृत गरेको छ। यसमध्ये ४८ होटल तथा रेस्टुरेन्ट छन्। नेपालको पर्यटन क्षेत्रमा भित्रिने अधिकांश लगानी हस्पिटालिटी बिजनेसमा आउने गर्छ। नेपालमा स-साना होटल, रेस्टुरेन्ट र कफी सपमा विदेशीले लगानी गरिरहेका छन्। काठमाडौंका ठमेल, झम्सिखेल, बौद्ध, स्वयम्भू, लुम्बिनी, पोखरा, हिमाली भेगलगायत ठाउँमा होटल तथा रेस्टुरेन्ट खोल्ने क्रम बढ्दो छ।
नेपालको होटल, रेस्टुरेन्ट र कफी सपमा चिनियाँ लगानी बढ्दो छ। होटल र रेस्टुरेन्टमा आउने लगानी प्रस्ताव अधिकांश चिनियाँको हुने गर्छ। विभागमा प्रस्तावित होटल तथा रेस्टुरेन्टका कुल परियोजनामध्ये झन्डै आधा २२ वटा चिनियाँ छन्। चीनसहित स्पेन, भारत, अमेरिका, बंगलादेश, बेलायत, नेदरल्यान्ड्स, भियतनाम, दक्षिण अफ्रिका, फ्रान्स, मलेसिया, मौरिसस, चेक रिपब्लिक र जापानबाट पनि लगानी प्रस्ताव आएको छ।
नेपालमा केन्टुकी फ्राइड चिकेन (केएफसी) रेस्टुरेन्ट सञ्चालन गरिरहेको बहुराष्ट्रिय कम्पनी देवयानी इन्टरनेसनलले काठमाडौंमा शाखा विस्तारमा चार करोड ९० लाख खर्चिने भएको छ। रेस्टुरेन्ट ७६ सिट क्षमताको हुनेछ भने ३१ जनाले रोजगारी पाउनेछन्। नेपालमा केएफसीले सन् २००९ मा दरबारमार्गमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो। यस्तै, देवयानीले ललितपुरको लबिम मलमा केएफसीको शाखा विस्तार गर्न पाँच करोड १५ लाख रुपैयाँ लगानी गर्दैछ। रेस्टुरेन्टमा ६५ जनाको सिट क्षमता हुनेछ।
काठमाडौंको त्रिुपरेश्वर, पोखरामा आउटलेट विस्तार गरिसकेको केएफसीको बौद्धमा शाखा विस्तार हुँदैछ। केएफसीका आउटलेट विराटनगर, चितवन, इटहरी, धरानलगायत प्रमुख सहरमा फैलाउने देवयानी इन्टरनेसनल नेपालले जनाएको छ। सुरुआती समयमा विदेशबाट कुखुराको मासु भिœयाएर परिकार पस्किँदै आएको केएफसीले पछिल्लो समय नेपाली कुखुरा प्रयोग गर्न थालेको छ। सात दशकअघि सुरु भएको अमेरिकी ब्रान्ड केएफसीका अहिले एक सय २५ भन्दा बढी मुलुकमा साढे २० हजार आउटलेट सञ्चालनमा छन्।
चिनियाँ लगानीकर्ताले काठमाडौंमा डेढ करोड लगानी गरेर ८० सिट क्षमताको रेस्टुरेन्ट सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। अमेरिकी नागरिक स्याल्पा तेन्जिङ रिम्पोछेले काठमाडौंमा ४५ कोठाको होटल खोल्ने प्रस्ताव गरेका छन्। होटलमा सय सिट क्षमताको रेस्टुरेन्ट रहनेछ। होटलमा १२ करोड ३४ लाख रुपैयाँ लगानी हुनेछ। चिनियाँ नागरिक वाङले काठमाडौंमा डेढ करोड लगानी गरेर ४० कोठाको होटल सञ्चालनमा ल्याउने भएका छन्।
होटलमा ७० सिटको रेस्टुरेन्ट पनि रहनेछ। चीनकै जोङले दुई करोड लगानीमा काठमाडौंमा एक सय २५ सिट क्षमताको रेस्टुरेन्ट खोल्ने भएका छन्। शत्प्रतिशत चिनियाँ लगानी रहने रेस्टुरेन्टमा २९ जनाले रोजगारी पाउनेछन्। चीनकै लिउ सुयाले काठमाडौंमा ४० कोठाको होटल खोल्ने प्रस्ताव गरेका छन्। साढे दुई करोड लगानी हुने होटलमा ७० सिटको रेस्टुरेन्ट रहनेछ। चीनकै अर्का लगानीकर्ताले पनि साढे दुई करोडमा ३६ कोठाको होटल खोल्ने भएका छन्। उनको होटलमा ५० जना अटाउने रेस्टुरेन्ट पनि सञ्चालनमा आउनेछ।
बेलायती नागरिकले काठमाडौंमा डेढ करोड लगानी गरेर एक सय ३० जना अटाउने रेस्टुरेन्ट सञ्चालन गर्ने भएका छन्। चीनका हुवाङले काठमाडौंमा साढे दुई करोड लगानी गरेर ३२ कोठाको होटल खोल्ने प्रस्ताव गरेका छन्। चीनकै फेङले काठमाडौंमा एक सय ३० सिटको रेस्टुरेन्ट खोल्न दुई करोड लगानी गर्ने भएका छन्। भियतनामका लगानीकर्ताले डेढ करोड लगानीमा ३२ कोठाको होटल खोल्ने प्रस्ताव गरेका छन्। दक्षिण अफ्रिका र रसियनले पनि डेढ/डेढ करोड लगानी गरेर रेस्टुरेन्ट खोल्दैछन्।
चीनका वाङ वाङ्चुले र दू होङपिङले साढे २/२ करोड खर्चिएर होटल र रेस्टुरेन्ट खोल्ने प्रस्ताव गरेका छन्। चीनका जियाले दुई करोडमा होटल खोल्दैछन्। मौरिससका लगानीकर्ता माइकेल पास्कलले ३० कोठाको होटलमा चार करोड लगानी गर्दैछन्। काभ्रेमा सञ्चालन हुने होटलमा ४० सिट क्षमताको रेस्टुरेन्ट रहनेछ।