हरि शर्मा, अन्नपुर्ण पोस्ट, २७ असोज २०७४
परासी : नवलपरासीमा ५५ करोड रुपैयाँ लगानीमा आधुनिक स्विस प्रविधिको ‘बुलर प्लान्ट' जडित चामल उद्योग सञ्चालनमा आएको छ । आरती एग्रो इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको उद्योग सरावल गाउँपालिका-३ पिपरामा छ । उद्योगले दैनिक एक सय ६० टन धान क्रसिङ गरेर ८० टन चामल उत्पादन गर्दै आएको कम्पनीका अध्यक्ष नगेन्द्र अग्रहरीले जानकारी दिए ।
जिल्लामा १५ भन्दा बढी चामल उद्योग सञ्चालनमा रहे पनि आधुनिक प्रविधिबाट स्थापित उक्त उद्योग पहिलो भएको कम्पनीको दाबी छ । नवलपरासीसहित रूपन्देही र कपिलवस्तुलाई प्राथमिकतामा राखेर सञ्चालनमा आएको उद्योगबाट उत्पादित चामलको काठमाडौं, चितवन, पोखरा र वीरगन्जबाट समेत माग आउन थालेको अध्यक्ष अग्रहरीले बताए । भैरहवादेखि नवलपरासीको भूमही र हुलाकी सडकमा अहिले बियर, मोटरसाइकल, मदिरा, ग्यासलगायतका ठूला उद्योग स्थापना हुने क्रम बढेसँगै चामल उद्योग सञ्चालनले यस क्षेत्रका किसानलाई राहत पुग्ने विश्वास गरिएको छ ।
नवलपरासी, रूपन्देही र कपिलवस्तुलाई प्राथमिकतामा राखेर सञ्चालित उद्योगबाट उत्पादित चामलको काठमाडौं, चितवन, पोखरा र वीरगन्जबाट समेत माग आएको छ ।
तीन बिघा क्षेत्रफलमा स्थापित उद्योगले उत्पादन सुरु गरेका चामल ब्रान्डमा ‘परम्परा, ‘अन्नभोग' र ‘पियोर गोल्ड' छन् । उत्पादनका सबै प्रक्रिया कम्प्युटरबाट हुने भएकाले चामल गुणस्तरीय रहेको उद्योगको दाबी छ । उद्योगले नवलरासी, रूपन्देही र कपिलवस्तुबाट धान खरिद गरेर चामल उत्पादन गर्ने जानकारी दिएको छ । तीन जिल्लाबाट उत्पादन हुने धानले उद्योगको ७० प्रतिशत माग मात्र धान्न सक्ने अध्यक्ष अग्रहरीले बताए । ‘लुम्बिनी अञ्चलनका तीन जिल्ला धान उत्पादनका लागि राम्रो मानिन्छन्', उनले भने, ‘गुणस्तरीय चामल उद्योगको अभाव देखेर अत्याधुनिक प्रविधिको उद्योग सञ्चालनमा ल्याइएको हो ।' उद्योग स्थापनापछि कृषकको धान बिक्री गर्ने समस्या पनि समाधान हुने र बजारमूल्यका लागि पनि समस्या नहुने उनको भनाइ छ ।
अपुग धान अन्य जिल्लाबाट खरिद गर्ने उद्योगले जानकारी दिएको छ । ‘जिरा मसिना' जातको चामल प्रतिकिलो ६० रुपैयाँमा बजारमा बिक्री हुने गरेको छ । वातावरणमैत्री रहेको उद्योगमा एक सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन् ।
स्रोत: http://annapurnapost.com/news-details/82017