News

५ महिनामा ८९ अर्बको कृषि वस्तु आयात

January 10, 2019

राजु चौधरी, कान्तिपुर, २६ पुष २०७५ 

काठमाडौँ — मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्ब रुपैयाँ बराबरको कृषिवस्तु भित्र्याएको छ । एकातिर खेतीपातीका लागि सिँचाइ, मलबीउ, यन्त्रलगायत बजारीकरणको अभाव अर्कोतिर उपभोक्ताको उच्च मागका कारण आयात बढेको विज्ञ बताउँछन् । सरकारले मुलुक कृषिमा आत्मनिर्भर उन्मुख भएको दाबी गरे पनि आयात बर्सेनि बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ८९ अर्ब ४० करोड रुपैयाँको आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८ प्रतिशतले बढी हो । २०७४/७५ को पहिलो पाँच महिनामा ७८ अर्ब ५४ करोड रुपैयाँको कृषिवस्तु आयात भएको थियो ।

 

सरकारले धान उत्पादनमा अहिलेसम्मकै रेकर्ड भएको दाबी गरे पनि सबैभन्दा बढी चामल आयात भएको छ । पहिलो ५ महिनामा १३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको तथ्यांकमा छ । अघिल्लो वर्षको सोही अवधिमा ४२.६ प्रतिशतले बढी हो । ‘सरकारी तथ्यांकले उत्पादन बढेको देखिन्छ । रेकर्ड नै कायम भएको छ,’ अर्थविद् केशव आचार्यले भने, ‘उपभोग पनि बढेकाले केही आयात बढेको छ । सबै सामग्रीको आयात बढ्दा पनि राष्ट्रिय योजना आयोग गम्भीर देखिएन । सरकारले गम्भीरतापूर्वक लिँदै लिएन ।’
कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले कृषिको वृद्धि दर बढेकाले खपत त्यहीअनुसार बढेको बताए । उनले बास्मती चामल मुख्यत: पुलाउका लागि आयात भएको बताए । ‘सम्पन्न ठाउँमा मोटा चामल खाँदैनन् । दुगर्मका धनीले पनि मोटा चामल खाँदैनन् । खाद्य संस्थानले मसिनो चामल ढुवानी गरेको छैन,’ उनले भने, ‘त्यसैले आयात बढेको हुन सक्छ ।’ रकम धेरै ठूलो देखिए पनि परिमाणमा धेरै ठूलो नभएको उनले दाबी गरे । उनले खाद्य संस्थानले वितरण गर्ने चामल वैकल्पिक रूपमा प्रयोग भएको आशंका रहेको बताए ।
तथ्यांकअनुसार तरकारी, दाल, गहुँ, मकै, सोयाबिन तेलको आयात पनि उल्लेख्य रूपमा बढेको छ । तरकारीको आयात १६.२ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड, फलफूलको आयात ३९.८ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड रुपैयाँको आयात भएको छ । तरकारी मुख्यत: भारतबाट र फलफूल चीनबाट आयात हुन्छ । आयात हुने अधिकांश तरकारी कालीमाटी तथा फलफूल बजारमा भित्रिन्छ । भारतले कृषिजन्य वस्तुमा पर्याप्त मात्रामा अनुदान दिन्छ । जसले गर्दा त्यहाँको उत्पादन सस्तो हुन्छ । सस्तो हुँदा तरकारीको आयात बढेको व्यवसायीहरू बताउँछन् ।
तरकारी, फलफूलबाहेक सोयाबिनको तेल ५ अर्ब ५३ करोड, मकै ५ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ । ब्राजिल, अर्जेन्टिनालगायतबाट आयात भएको मकै कुखुराको दानामा प्रयोग हुन्छ । ‘मासुमा आत्मनिर्भरता बढेको छ । त्यसको लागि मकै आयात हुन्छ । आयातित मकै दानामा प्रयोग हुन्छ,’ प्रवक्ता सुवेदीले भने ।
दाल ४ अर्ब ९९ करोड र गहुँ २ अर्ब ३९ करोड रुपैयाँको आयातमै निर्भर हुनपर्ने बाध्यता रहेको तथ्यांकले देखाउँछ । केन्द्रका कार्यकारी निर्देशक शरद राणाले पनि चामल, मकैलगायत वस्तुहरू वैकल्पिक बाटो (मदिरामा) गएको हुन सक्ने बताए । ‘उत्पादनमा समस्या छैन । बढ्दो छ,’ उनले भने, ‘आयात पनि सोहीअनुसार बढेको देखिन्छ ।’
आयात प्रतिस्थापनका लागि उत्पादनमै जोड दिनुपर्ने बताए । केन्द्रले वस्तुका लागि बजार देखाइदिने उनले बताए । वस्तु प्रवद्र्धनका लागि प्रोडक्ट प्रोफाइल तयार गरिरहेको उनले बताए ।
अर्थविद् आचार्यले मन्त्रालयले अन्न बाली उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरे पनि पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए । ‘प्रधानमन्त्री कृषि परियोजनालगायत विभिन्न कार्यक्रमको घोषणा गरेको देखिन्छ,’ उनले भने, ‘प्रतिफल छैन । परियोजनाहरू पूर्ण रूपमा कार्यान्वयन भएका छैनन् ।’

करिब वर्षअघि ब्याज अनुदान सुरु गरे पनि त्यसको गलत प्रयोग भएको उनले बताए । प्रवक्ता सुवेदीले उत्पादन बढाउन सिँचाइ, बीउ र मलमा जोड दिएको दाबी गरे । ‘चैते धान बढी उत्पादन हुन्छ । त्यसको क्षेत्र विस्तार गर्ने, साना सिँचाइ, सोलारको व्यवस्था गर्दै आएका छौं,’ उनले भने ।

सोर्त:https://www.kantipurdaily.com/business/2019/01/10/154708937701863172.html