News

५ वटा स्मार्ट सिटी बनाउने एनआरएनको योजना

November 29, 2017

कारोबार आर्थिक दैनिक, १३ मंसिर २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा देशभरका आधा दर्जन महानगर तथा उपमहानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि बढाएइको छ । विदेशमा व्यवस्थित बसोबासको अनुभव हासिल गरेका गैरआवासीय नेपालीहरूले नेपालमा बढ्दो सहरीकरणलाई आधुनिक र व्यवस्थित गराउने उद्देश्यले सो अवधारणा ल्याएका हुन् । 
पर्यटकको रोजाइमा परेका नेपालका ठूला सहरहरूलाई स्मार्ट सिटी बनाउन सकिने सम्भावनासहित विदेशमा बसेका नेपाली लागिपरेका छन् ।
एनआरएनएले ‘स्मार्ट नेसन’ को अवधारणाअन्तर्गत देशभरका ४ देखि ५ वटा ठूला सहरलाई व्यवस्थित गरी स्मार्ट सिटी बनाउन सरोकारवाला निकायसँग सहकार्य गर्दै आफ्नो देश समृृद्ध बनाउने योजना ल्याएको छ । सरकार, स्थानीय निकाय, सहरबासी, विदेशमा रहेका नेपाली र सरोकारवाला निकायको सहयोगमा स्मार्ट सिटी बनाउन सकिने एनआरएनएको भनाइ छ ।
पोखरा—लेखनाथ माहानगरपालिका र एनआरएनएले पोखरालाई स्मार्ट सिटी बनाउन छलफल अगाडि बढाइसकेका छन् । हालै पोखरा—लेखनाथ माहानगरपालिका प्रमुख मानबहादुर जीसीको निमन्त्रणामा पोखरा गएका एनआरएनए अध्यक्ष भवन भट्टले पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा पोखरालाई स्मार्ट सिटी बनाउने कार्यमा सहकार्य गर्नेबारे छलफल भएको बता । अध्यक्ष भट्टले थप छलफलपछि यस सम्बन्धमा समझदारी हुने जनाएका छन् । 
एनआरएनएले पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा ल्याएपछि बैंकर्सहरु पनि सहकार्य र सहयोग गर्न सकारात्मक देखिएका छन् । पोखरालाई स्मार्ट सिटी बनाउने सम्बन्धमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहलगायत अन्य बैंकरहरुसँग अन्तरक्रिया भएको थियो । 
कार्यक्रममा शाहले पोखरालाई स्मार्ट सिटी बनाउने अभियानमा यहाँका २८ वटा वाणिज्य बैंक होष्टेमा हैंसे गर्न तयार रहेको बताए । उनले पोखरामा हाल ५० वटा सिसी क्यामरा आवश्यक भएको कुरा आउनु स्वाभाविक भएको बताउँदै त्यसको राम्रोसँग सञ्चालन र व्यवस्थापनको ग्यारेन्टी भए आफूहरूले सीसी क्यामरा सहयोग गर्ने बताए । पोखरा स्थानीय र विदेशीको मुख्य सहर भएको उल्लेख गर्दै अध्यक्ष शाहले पोखरा आउने पर्यटकहरूका लागि स्मार्ट सिटीको प्रयोग गर्नको लागि आवश्यक सेवा सुविधासहितको मोबाइल एप्स तत्काल सञ्चालन गर्नुपर्ने बताए । उनले भने, “क्यासलेस बनाउन, घरमै बसेर कर तिर्ने सिस्टमको विकासको लागि, डिजिटल कार्डको लागि बैंकहरू आवश्यक सहयोग गर्न तयार छन् ।” 
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा अन्तर्राष्ट्रिय सहर भएकाले पनि यहाँको सेवा सुविधा अत्याधुनिक तथा स्मार्ट सिटीको अवधारणामा हुनुपर्नेमा आफूहरू लागिपरेको बताए । उनले भने, “हामीले स्मार्ट सिटी बनाउने अभियानमा लाग्दै गर्दा यहाँ प्रयोग हुने प्रविधि सफ्टवेयरहरूको सुरक्षा, उपयोगिता, प्रयोगलगायतका कुरामा समेत ख्याल गर्नुपर्ने भएकाले गर्दा पनि हामीलार्ई सल्लाह सुझावको आवश्यकता छ ।” पोखरा स्मार्ट सिटी हब प्राविधिक सदस्य राजेन्द्र पौडेलले पोखरामा अनलाइन सेवासमेत आवश्यक भएको बताए । 
एनआरएनए अध्यक्ष भट्टले पोखरा प्रदेश नम्बर ४ को प्रस्तावित राजधानी भएकोले पोखरालाई स्मार्ट सिटी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिए । 
सकेसम्म पोखरामा प्लाष्टिकजन्य वस्तुहरू कम प्रयोग गर्न सुझाव दिँदै अध्यक्ष भट्टले एनआरएनएलाई सही ढंगले परिचालन गर्न आग्रह गरे । उनले भने, “पोखराको विकासको लागि हामी कुनै पनि गृहकार्य गर्न तयार छौं ।” बीबी एयरका सञ्चालकसमेत रहेका अध्यक्ष भट्टले पोखरामा पर्यटन प्रवद्र्धन गर्न ७२ देखि सय सिटे सानो अन्तर्राष्ट्रिय हवाई जहाज पोखरादेखि दिल्ली, बंगलादेशलगायत गन्तव्यमा सिधा उडाउने तयारी गरेको जनाए । डेढ घण्टाको हवाई यात्राबाट पोखरामा सिधा पर्यटक ल्याउने गरी हवाई सेवा विस्तारको योजना भएको भट्टले बताए । उनले भने, “नेपाललाई ब्यूटि कन्ट्रीको रूपमा लैजानुपर्छ, एयरपोर्टमा महिला प्रहरी बढीभन्दा बढी परिचालन गर्नुपर्छ । एयरपोर्ट नै स्मार्ट र प्रविधिमैत्री बनाउनुपर्छ ।” 
बुद्धजयन्ती, सगरमाथा दिवस आदि अवसरमा विदेशबाट पाहुनाहरू ल्याउने अभियानमा आफूहरूसमेत लागेको बताउँदै उनले एक जनाबाट कम्तिमा तीनजना पर्यटक नेपाल भ्रमणमा आउने वातावरण तयार गर्नुपर्ने सुझाव दिए । पोखरासहित नेपालमा लगानीको वातावरण तयार गर्न पनि आफूहरूले सकेसम्म अन्तर्राष्ट्रिय सम्मेलनहरू सकभर नेपाल र त्यो पनि पोखरामा पार्ने उनले जनाए । उनले भने, “यस्ता अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुदा नेपालको आर्थिक गतिविधि थप चलायमान हुन्छ ।”
नेपालमा पर्यटक बढाउन अतिथि देवो भवः अभियानसमेत सञ्चालन गरेको अध्यक्ष भट्टले जनाए । स्पेनले हाल ६ करोड बढी पर्यटक भित्र्याउने प्रसंग कोट्याउँदै अध्यक्ष भट्टले विश्वकै उत्कृष्ट मुलुकमा पर्ने नेपालमा भने ८ लाख पर्यटक पनि भित्रिन नसकेकोमा दुःख व्यक्त गरे । आफ्नो दुई वर्षे कार्यकालभित्रै वार्षिक १५ लाख पर्यटक भित्र्याउने गरी विभिन्न अभियानमा लागेको उनले बताए । नेपालमा धेरै पर्यटनको सम्भावना हुदाहुँदै पनि त्यसको मार्केटिङ गर्न नसकिएको अध्यक्ष भट्टको गुनासो छ । 
नेपालमा स्थिर सरकार र लगानीको वातावरण भए यहाँ विदेशी लगानी भित्रिएसँगै आर्थिक समृद्धि र विकास हुने भट्टको भनाइ छ ।

महानगरलार्ई डस्टबिन सहयोग
एनआरएनएले पोखरा महानगरलाई पहिलो चरणमा एक हजार वटा डस्टबिन दिने भएको छ । एनआरएनएका अध्यक्ष भट्टले पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीसँगको भेटवार्तामा उक्त सहयोग गर्ने वचन दिएका हुन् । भट्टले पोखरा प्रदेश नम्बर ४ को राजधानी हुने प्रबल सम्भावना भएकाले यहाँको विकासको लागि एनआरएनएले आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, “म यो क्षेत्रकै बासिन्दा भएको नाताले पनि यहाँको आर्थिक विकास र समृद्धि गर्नु हाम्रो कर्तव्य हो । यहाँको विकासका लागि के कस्तो काम गर्नुपर्छ, मलाई महानगरपालिकाले गृहकार्य दिओस्, त्यसमा मैले सकेसम्मको सहयोग गर्नेछु ।” मेयर जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा राख्दै यसको लागि कस्तो प्रविधि र कस्तो सहर बनाउने त्यसको विषयमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विज्ञसहितको टोलीसँगको छलफलमा रहेको उल्लेख गरे ।

के हो स्मार्ट सिटी ?
स्मार्ट सिटी यही नै हो भन्ने परिभाषा हालसम्म कसैले पनि ठोस रूपमा गरेको पाइँदैन । विज्ञहरुले सहरको रहनसहन, विशेषता र अवस्थितिअनुसार आफ्नै तरिका र शैलीको आधारमा स्मार्ट सिटीको परिभाषा गर्न सकिने बताएका छन् । कतिपय विज्ञले ग्याजेटलाई स्मार्ट भन्न जति सजिलो भएको छ, त्यही आधारमा स्मार्ट सिटीको परिभाषा गर्न नसकिने बताएका छन् । भारतका प्रसिद्ध लेखक गौतम भाटियाले दक्षिण एसियाका सहरलाई लक्षित गर्दै बीबीसीसँगको अन्तर्वार्तामा साइकल चलाउने बाटो, फराकिला र सुरक्षित फुटपाथ, सर्वसुलभ सार्वजानिक यातायात, व्यवस्थित भवन, सही ट्राफिक व्यवस्थापन, विद्युत्, पानी, सञ्चार (इन्टरनेट), बाटोघाटो, छुट्टै सस्तो तथा सुविधासम्पन्न आवास, सहज उपभोग्य वस्तुलगायत स्मार्ट सिटीका पहिलो सर्त हुनुपर्ने बताएका छन् । स्मार्ट सिटीमा नागरिकको उमेरअनुसार बालक, युवा, प्रौढ र वृद्धका लागि मानसिक तथा शारीरिक क्षमताअनुसार आराम गर्ने खुल्ला पार्क हुनु जरुरी छ ।
आधुनिक भौतिक पूर्वाधारमात्र स्मार्ट सिटीको पर्याप्त परिभाषा भने होइन । पुराना र परम्परागत शैलीमा जीवनयापन गर्ने र पक्की तथा फराकिला घरमा बस्ने नागरिकबीचको रहनसहन समान किसिमको हुने गरी व्यवस्थापन गर्नु स्मार्ट सिटीको चुनौतीपूर्ण काम हो । स्मार्ट सिटीले सहरको परम्परागत, ऐतिहासिक तथा धार्मिक महत्वलाई नष्ट गर्न नहुने विज्ञको भनाइ छ । स्मार्ट सिटीको अर्को अपरिहार्य विशेषता भनेको अधिकांश क्रियाकलापमा इन्टरनेटको प्रयोग होस् भन्ने अवधारणा पनि रहेको विज्ञको भनाइ छ । 
(पोखराबाट दीननाथ बरालको सहयोगमा)

स्रोत: https://www.karobardaily.com/news/migration/593