News

६ कैदीसहित पर्सामा थप ३४ जनामा कोरोना

July 29, 2020

भूषण यादव, कान्तिपुर, श्रावन १४, २०७७ 

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ बालबालिका छन् ।

वीरगन्जको गण्डकस्थित काेराेना विशेष नारायणी अस्पताल

नारायणी अस्पतालका थप एक चिकित्सक र नेपाल आर्मीका एक जवानमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार ३४ संक्रमितमध्ये एक जनाले मात्र पैसा तिरेर परीक्षण गराएका थिए । अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङमा भेटिएका र क्वारेन्टाइनमा बसेकाहरू हुन् । ‘दुई वर्षदेखि ६५ वर्ष उमेरसमूहका ३४ संक्रमितमध्ये १० महिला छन्,’ उपाध्यायले भने ।

कैदीहरूलाई अस्पताल र अदालत लैजाने–ल्याउने क्रममा कोरोना फैलिएको हुन सक्ने वीरगन्ज कारागारले जनाएको छ । ‘कुनै लक्षण देखिएर परीक्षण गराइएको होइन,’ कारागारका एक कर्मचारीले भने, ‘अदालत र अस्पताल जाने–आउनेलाई र्‍यान्डम परीक्षण गरिएको हो ।’

संक्रमित कैदीहरूलाई राख्न कारागार परिसरको समता स्कुलमा आइसोलेसन वार्ड बनाउन थालिएको छ । कारागारका कर्मचारी र त्यहाँ कार्यरत प्रहरीमा पनि संक्रमण देखिएको छ । संक्रमित हुने अन्यमा वीरगन्ज महानगरपालिका–१५ भिस्वाका ८ जना छन् । वीरगन्ज–२५ सिर्सियाका तीन र वडा–१० आदर्शनगरका दुई जना संक्रमित थपिएका छन् ।

स्रोत: https://ekantipur.com/news/2020/07/29/159599658088767791.html