प्रताप बिस्ट, कान्तिपुर राष्ट्रिय दैनिक, २१ कार्तिक २०७४
राजधानीलाई तराईसँग जोड्ने उद्देश्यले ६ दशकअघिदेखि निर्माण कार्य सुरु गरिएको कान्ति लोकपथ बल्ल गाडी चल्ने अवस्थामा पुग्न लागेको छ । अहिलेको प्रक्षेपणअनुसार काम भए विसं. २०१३ मा निर्माण सुरु भएको सडकमा आगामी माघ महिनाभित्रमा काठमाडौं–हेटौंडा यात्रुबाहक बस सञ्चालन हुनेछ । ‘कान्ति लोकपथमा माघ महिनाभित्रमा काठमाडौं–हेटौंडा यात्रुबाहक बस आवतजावत गर्न सक्छन्,’ कान्ति लोकपथ आयोजना प्रमुख देवेन्द्र साहले भने, ‘उक्त लोकपथमा माघ महिनाभित्रमा यात्रुबाहक बस सञ्चालन गराउन युद्धस्तरमा काम भइरहेको छ ।’ मालबाहक ट्रकहरू यही मार्ग भएर हेटौंडा–काठमाडौं आवतजावत गर्न भने असार महिनासम्म कुर्नुपर्ने हुन्छ । ९० किलोमिटर लम्बाइ रहेको उक्त लोकपथको ६६ किलोमिटर दुई लेनको निर्माण भइसकेको छ । २४ किलोमिटर सडक विस्तार गर्न बाँकी छ । मकवानपुरतर्फ करिब ८ किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ भने ललितपरतर्फ १६ किलोमिटरमा काम हुँदै छ । यो लोकपथको हेटौंडास्थित बुद्धचोक प्रस्थान विन्दु हो भने ललितपुरको सातदोबाटो अन्तिम विन्दु हो । यो लोकमार्ग मकवानपुरतर्फ ५१ किलोमिटर पर्छ भने ललितपुरतर्फ ३९ किलोमिटर छ ।
सरकारले आव ०६५/०६६ सालदेखि यो लोकपथलाई फराकिलो बनाउन सुरु गरेको हो । आव ०७०/०७१ बाट सरकारले प्राथमिकता प्राप्त योजना अर्थात ‘पी १’ मा राखेर बजेट वृद्धि गरी बहुवर्षीय योजनाअन्तर्गत राखेर सडक चौडा र स्तर वृद्धि कार्य अगाडि बढाएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले बताए । तीन वर्षदेखि उक्त लोकपथलाई चौडा बनाउने, ढल खन्ने पिच गर्ने कार्यसमेत भइरहेको छ,’ उनले भने । विभिन्न खण्डमा विभाजित गरेर आयोजनाले १३ वटा निर्माण कम्पनीलाई ठेक्का दिएको छ । निर्माण कम्पनीहरूले असार महिनासम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको छ । असारसम्ममा कम्तीमा ५० किलोमिटर सडक कालापत्रे गरिसक्ने दाबी आयोजनाले गरेको छ ।
मकवानपुर र ललितपुरतर्फ गरेर बुधबारसम्म १० किलोमिटर कालोपत्रे भइसकेको आयोजना प्रमुख साहले बताए । केही निर्माण कम्पनीहरूले ९० प्रतिशतसम्म्म काम सम्पन्न गरिसकेका छन् भने बाँकीले विद्युत् प्राधिकरण, दूरसञ्चार र खानेपानीका कारणले ४० प्रतिशत मात्र काम सकेको आयोजनाले जनाएको छ । विद्युत् प्राधिकरण र दूरसञ्चारले सडकभित्र परेका विद्युतका पोलहरू स्थानान्तरण नगरेको कारणले बुद्ध चोकदेखि ७ किलोमिटरको दूरीमा रहेको चुच्चे खोलासम्म सडक विस्तार गर्न ढिलाइ भएको आयोजना प्रमुख साहले बताए । सडकको बीचमा खानेपानीको पाइप परेकाले पनि सडकको दायाँबायाँ पाइप बिच्छाउनका निम्ति बजेटको व्यवस्था नभएकाले थप समस्या भएको आयोजनाले जनाएको छ ।
मकवानपुरको सिमात र ललितपुरको काल्चे क्षेत्रमा पहरा फोड्न विस्फोटक पदार्थ आवश्यक पर्ने तर विस्फोटक पदार्थ सम्बन्धित निकायबाट उपलब्ध हुन नसकेकाले सडक चौडा गर्न समस्या भएको आयोजना प्रमुख साहले भने, ‘विस्फोटक पदार्थ उपलब्ध भएन भने केही क्षेत्रमा काम गर्न समस्या छ ।’ लोकपथको अनुगमन गर्न मंगलबार ठिंगन पुगेका क्षेत्रीय प्रशासक रेस्मीराज पाण्डे, मध्यपृतना हेटौंडाका पृतनापति प्रभुराम शर्मा, ३ नम्बर प्रदेशका एआईजी केशरीराज घिमिरे र मकवानपुरका प्रजिअ चक्र बुढासमक्ष आयोजना प्रमुख साहले विस्फोटक पदार्थको अभाव, सडक विस्तार गर्दा निस्केका ढुंगामाटो प्रयोग गर्न स्थानीय तहलाई राजस्व तिर्नुपर्ने, सडक निर्माणका निम्ति आवश्यक पर्ने ढुंगा, बालुवा उत्पादन र प्रशोधन गर्न प्लान्ट राख्न रोक लगाएकाले सडकको विस्तार र स्तर वृद्धि गर्न कठिनाइ भएको बताएका थिए । सडक चौडा गर्ने क्रममा निस्केको सामान विसर्जन गर्दा स्थानीयवासीको खेतबारी पुरिन गएकाले पीडितहरूले क्षतिपुर्तिको माग गरिरहेको तर उपलब्ध गराउन नसकिएको आयोजनाले जानकारी गराएको थियो । क्षतिपुर्ति दिन नसकेका कारणले सडक निर्माणमा यदाकदा अवरोध पुग्ने गरेको छ ।
सरकारले कान्ति लोकपथको निर्माण सुरु गरेदेखि चालु आवमा सबैभन्दा बढी रकम ६० करोड रुपैयाँ विनियोजित गरेको थियो । निर्माण कार्य सुरु भएको ६१ वर्षपछि कान्ति लोकपथमा पहिलो चरणमा यात्रुबाहक र दोस्रो चरणमा मालबाहक ट्रक सञ्चालनमा आउने दाबी क्षेत्रीय सडक निर्देशनालयका प्रमुख सापकोटाले गरे । १५ मिटर फाराकिलो रहेको उक्त सडकको ७ मिटरमा कालोपत्रे गरिएको छ ।
सडक स्तरीकरण भएपछि कान्ति लोकपथमा ३० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्न सक्ने दाबी गरिएको छ । कान्ति लोकपथ पूर्ण सञ्चालनमा आएपछि तीन घण्टामा हेटौंडाबाट ललितपुरको सातदोबाटो पुग्न सकिनेछ । हेटौंडादेखि ललितपुरको सातदोबाटोसम्म उक्त लोकमार्ग अहिले ८८ किलोमिटर लम्बाइमा झरेको छ । पहिले ९२ किलोमिटर लम्बाइ थियो । लोकमार्गको स्तरीकरण गर्ने क्रममा चार किलोमिटर छोटिएको हो । २०१३ सालमा निर्माण कार्य सुरु गरेको कान्ति लोकपथ २०१६ सालको हिउँदमा सञ्चालनमा आएको थियो ।
कान्ति लोकपथको ट्रयाक खुलेपछि २०१६ सालमा राजा महेन्द आफैंले जिप हाँकेर काठमाडौंबाट हेटौंडा आएका थिए । त्यतिबेला बागमतीमा पुल थिएन । अहिले पक्की पुल निर्माण भइसकेको छ । कान्ति लोकपथ सुचारु भएपछि मकवानपुरका पूर्वी क्षेत्रका अधिकांश बासिन्दालार्य यही मार्ग भएर राजधानी आवतजावत गर्न सहज हुुनेछ । यहाँ उत्पादित कृषिजन्य र उपभोग्य वस्तुहरू पनि यही मार्ग भएर लैजाँदा सस्तो र सहज हुन्छ । उक्त लोकपथ छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सक्दो सहयोग गर्ने क्षेत्रीय प्रशासक पाण्डेले बताए ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-11-07/20171107075356.html