आर्थिक अभियान, फागुन ३, २०७४
धरान (अस) । धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षको ६ महीनामा २९ दशमलव ७३ प्रतिशत मात्रै पूँजीगत खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको छ । कार्यालयका अनुसार पुस मसान्तसम्ममा ४६ करोड १२ लाख २० हजार रुपैयाँ खर्च भएको छ ।
कार्यालयको अनुमानित वार्षिक व्यय १ अर्ब ५५ करोड १४ लाख रहेको छ । ६ महीनाको यथार्थ आयभन्दा २२ करोड २१ लाख २७ हजार रुपैयाँ कम खर्च भएको छ । कार्यालयका आर्थिक महाशाखाका प्रमुख भेषराज अधिकारीका अनुसार पूँजी निर्माण खर्च २३ लाख ३ हजार रहेको छ भने सार्वजनिक निर्माणमा ६ करोड ७६ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ६ करोड ७८ लाख ७१ हजार खर्च देखिएको छ भने पूँजीगत सुधार अध्ययन तथा परामर्शतर्फ ८ लाख ७७ हजार रुपैयाँ र एकीकृत शहरी विकास आयोजनामा १३ करोड ४९ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ । वार्षिक अनुमानित आयतर्फ १ अर्ब ५५ करोड १४ लाख ५ हजारमा ४४ प्रतिशत मात्रै आय भएको छ । ६ महीनाको यथार्थ आय ६८ करोड ३३ लाख ४८ हजार रुपैयाँ रहेको छ । स्थानीय सरकार बनेपछि जनप्रतिनिधिहरूले असोज महीनामा मात्रै बजेट पास गरिएकाले लक्ष्यअनुसारको खर्च गर्न नसकिएको अधिकारीको भनाइ छ ।
स्रोत: www.abhiyan.com.np/2018/02/15/180408