प्रगति ढकाल, कारोबार, शुक्रवार, चैत्र २३, २०७४
छ वर्षको अवधिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रबाट करिब २ अर्ब ६३ करोड राजस्व संकलन भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष ०६८/६९ देखि आव ०७३/७४ सम्मको अवधिमा संरक्षित क्षेत्रबाट झन्डै २ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।
निकुञ्ज तथा आरक्ष क्षेत्रमा भ्रमण गर्ने पर्यटनको संख्या बढेसँगै राजस्व संकलन पनि बढ्दै गइरहेको देखिन्छ । वि.सं ०६८/०६९ मा करिब १८ करोड ६९ राजस्व संकलन भएकोमा ०७३/७४ सम्म आइपुग्दा ५५ करोड २७ लाख राजस्व संकलन भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ सरंक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र घोषणा भई सञ्चालन हुँदै आएका छन् । संरक्षित क्षेत्रहरूले २०७२ सालसम्म नेपालको कुल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग ओगटेको छ ।
विभागका अनुसार नेपालमा पाइने वन्यजन्तुको अवलोकन गर्ने, प्राकृतिक सौन्दर्यतामा रमाउने प्रचलन बढेसँगै आन्तरिक तथा बाह्य पर्यापर्यटनको संख्या पनि बढ्दै गइरहेको छ । संरक्षित क्षेत्रबाट संकलित यर्सागुम्बा तथा अन्य जडिबुटी, दण्ड, जरिवाना, शिखर अनुमतिबाट पनि राजस्व संकलन हुँदै आएको छ । पर्यापर्यटनको प्रवेश शुल्क, डकुमेन्ट्री, वन पैदावारबाट पनि राजस्व संकलन हुन्छ । वि.सं २०७२ चैत १९ मा भएको मन्त्रिपरिषद्को निर्णयअनुसार लाङ्टाङ राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट भूकम्पपीडितका लागि १ लाख ८० हजार क्यूफिट काठ निकाल्न सकिने निर्णय भएको थियो । शिकार अनुमति खुला प्रतिस्पर्धाको आधारमा हुँदा बढी रोयल्टी तिर्न सर्वसाधारण तयार हुने विभागले बताएको छ । विभागका अनुसार अनुमतिका लागि सरकारले एउटा जनवार शिकारका लागि १ लाख रोयल्टी तोके पनि १३ लाखसम्म राजस्व तिर्न राजी भएको तथ्यांक छ । यसकारण पनि निकुञ्जको राजस्व बढिरहेको छ । सबैभन्दा बढी राजस्व चितवन राष्ट्रिय निकुञ्जबाट संकलन हुँदै आइरहेको छ । आव ०७३/७४ मा ५५ करोड २७ लाख राजस्व संकलन भएकोमा चितवन राष्ट्रिय निकुञ्जबाट मात्रै २० करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको देखिन्छ । विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्ज तथा आरक्ष क्षेत्रबाट संकलन हुने राजस्व बढ्दै गइरहेको भन्दै आगामी दिनमा राजस्व बढाउने नीतिका साथ विभाग अगाडि बढेको बताएका छन् । “नेपाल भित्रने अधिकांश पर्यटक निकुञ्ज क्षेत्र तथा आरक्ष क्षेत्र हेर्न आउँछन्, बाटो, वाईफाई तथा होटेलको अझै सुविधा बढाएर पर्यटन आगमन बढाउने लक्ष्य छ, आन्तरिक पर्यटक आउने क्रम जारी छ,” उनले भने, “अब सुविधा पनि बढाउने अनि राजस्व पनि बढाउने हो ।” विभागकै संरक्षण शिक्षा शाखाका प्रमुख विष्णु श्रेष्ठले निकुञ्ज तथा आरक्ष क्षेत्रका राजस्व बढाउन पर्यटक आगमनको मुख्य भूमिका रहेको भन्दै पर्यापर्यटन विकासमा जोड दिनसके आगामी दिनमा अझ बढी राजस्व संकलन भई राज्यको कुल गार्हस्थ उत्पादनमा संरक्षण क्षेत्रको योगदान बढ्ने बताए ।
विभिन्न आवमा संकलित राजस्व
आव २०६८/०६९ १८,६९,७४,६१७
आव २०६९/०७० ४७,१३,३८,२९३
आव २०७०/०७१ ५३,०८,५२,३२८
आव २०७१/०७२ ५३,८७,१०,६०२
आव २०७२/०७३ ३५,०२,०३,४८६
आव २०७३/०७४ ५५,२७,३६,५०३
जम्मा २,६३,०८,१५,८२९
स्रोत : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग