News

७०.५ प्रतिशत मतदान: निर्वाचन आयोग

June 28, 2017

राजेश मिश्र, कान्तिपुर दैनिक, असार १४, २०७४

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान सकिएलगत्तै आयोग मुख्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणमा पनि उत्साहजनक मतदान भएको बताए । ‘प्रारम्भिक जानकारीअनुसार कम्तिमा ७०.५ प्रतिशत मतदान भएको छ,’ उनले भने, ‘अझै बढ्न सक्नेछ ।’

प्रमुख निर्वाचन आयुक्त यादवका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ । 

बझाङको जयपृथ्वी नगरपालिका– २ स्थित पाण्डु उच्च मावि मतदान केन्द्रमाबाहेक सबै ठाउँमा मतदान भएको आयोगले बताएको छ । वारेसमार्फत मत दिने/नदिने विषयमा कांग्रेस–एमालेबीच विवाद हुँदा मतगणना रोकिएको हो ।

सोलुखुम्बुको नेचासल्यानस्थित तिङ्लामा एक मत पनि नखसेको र नवलपरासीको सरावलस्थित एक मतदान केन्द्रमा दुई मतमात्रै खसे पनि पुन: निर्वाचन नहुने आयोगले जनाएको छ । ‘कर्मचारीहरु समयमै पुग्नुभएको थियो,’ प्रमुख निर्वाचन आयुक्तले भने, ‘मतदाताले मत नदिएकै कारण निर्वाचनका बाँकी प्रक्रिया रोकिंदैन ।’

यादवले वर्षाका कारण केही केन्द्रमा ढिला मतदान भए पनि सबै मतदान केन्द्रमा उत्साहजनकरुपमा मतदान भएको बताए ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि राजनीतिक दलहरुसँग परामर्शपछि मतगणना सुरु हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्तले निर्वाचन परिणामप्रति विश्वास गर्न राजनीतिक दल उम्मेदवारप्रति आग्रह गरेका छन् । उनले संयमता अपनाउन र अलोकतान्त्रिक कार्य नगर्न सार्वजनिक अपिल गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्तले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिनअघिको पत्रकार सम्मेलनबारे जिज्ञासा राखेको बताए ।

 

स्रोत: http://kantipur.ekantipur.com/news/2017-06-28/20170628192254.html