News

७६औँ जिल्लाको खबर

November 04, 2017

अमृत भादगाउले, नागरिक राष्ट्रिय दैनिक, १८ कार्तिक २०७४ 

रुकुमकोट– नयाँ संविधानको भावनाअनुसार राज्य पुनर्संरचना गर्दा मुलुकभित्र दुई जिल्ला बढेका छन् । पहिला ७५ जिल्ला थियो, अहिले संख्या ७७ पुगेको छ । नवलपरासी जिल्ला नवलपुर र नवलपरासीमा बाँडिएको छ भने रुकुमलाई पूर्वी र पश्चिम रुकुमका रूपमा फुटाइएको छ।  

असोज १९ गते रुकुमकोटमा जिल्ला उद्घाटन भएसँगै पूर्वी रुकुमलाई ७६औँ जिल्ला भन्न थालिएको छ । त्यसो भनिनुको कारण छ– नवलपुरको उद्घाटन भइसकेको छैन । त्यस हिसाबले नवलपुर कान्छो जिल्ला बन्यो। 

पूर्वी रुकुममा सिस्ने, भुमे र पुथा उत्तरगंगा गरी तीन गाउँपालिका पर्छन् । सिस्नेमा मिश्रित जातिको बसोबास छ । बाँकी दुई भुमे र पुथा उत्तरगंगा मगर बाहुल्य गाउँपालिका हुन् । यी तीन गाउँपालिकामा साबिकका १६ गाविस पर्छन् ।  
०६८ को जनगणनाअनुसार यो नयाँ जिल्लाको जनसंख्या ५१ हजार छ।  

कृषि, ऊर्जा र पर्यटनबाट पूर्वी रुकुम समृद्ध बन्न सक्छ । त्यसका लागि जिल्लावासीको  सक्रियता र इमानदार नेतृत्वको खाँचो छ । 

हिजो भूगोल र जनसंख्याका हिसाबले ठूलो ‘रुकुम’ जिल्लामा बस्दै आएका रुकुमेली आज छुट्टै जिल्ला हुँदा दुःखी छैनन् । रुकुम सदरमुकाम मुसिकोट खलंगा र केन्द्रीय राजधानी काठमाडौंबाट उपेक्षामा परेको अनुभूति सँगालेका पूर्वी रुकुमका बासिन्दा छुट्टै जिल्ला पाउँदा छिटै विकास हुनेमा आशावादी छन्।

‘प्राकृतिक र सांस्कृतिक हिसाबले पूर्वी रुकुम स्वर्गकै टुक्रा हो,’ भुमे गाउँपालिकाका प्रमुख रामसुर बुढा भन्छन्, ‘परम्परागत कृषिमा आधुनिकीकरण, ऊर्जा उत्पादनमा जोड र पर्यटन विकास अभियान चलाएर हामी जिल्लालाई समृद्ध बनाउँछौँ।’

इतिहासका पाना पल्टाउने हो भने ०२२ देखि ०३० सालसम्म एकीकृत रुकुमको सदरमुकाम रुकुमकोट थियो । जब सदरमुकाम खलंगा सारियो, तब पूर्वी रुकुममा बस्नेले आफूलाई हेला गरिएको सम्झे । सदरमुकाम सारिएको विरोधमा आन्दोलन हुँदा सर्वसाधारण मनबहादुर थापाको प्रहरीले चलाएको गोलीबाट निधन भयो । केही घाइते भएका थिए ।
आज फेरि रुकुमकोटमा खुसी फर्किएको छ । सरकारले हाललाई सदरमुकाम रुकुमकोट भनेको छ । केही क्षेत्रीय कार्यालय भएका र इतिहास बाकेको ठाउँ भएकाले पनि रुकुमकोटलाई सदरमुकाम बनाइएको हो । तर, भौगोलिक हिसाबले रुकुमकोट ठयाक्कै केन्द्रमा पर्दैन । सदरमुकाम पूर्वी रुकुमको केन्द्रमै राखिनुपर्छ भन्ने आवाज पनि चर्को रूपमा उठेको छैन। 

नदी सभ्यताको हिसाबले हेर्दा उत्तरगंगा र लुकुमखोलाको संगममा पर्छ, रुकुमकोट । दुवै खोला किनारैकिनार सडक सञ्जालबाट जोडिने टाकुरो भएकाले पनि रुकुमकोट सदरमुकामका लागि उपयुक्त देखिन्छ । सरकारले रुकुमकोटलाई स्मार्ट सिटी बनाउने घोषणा गरिसकेको छ। 

अब खाँचो छ– जिल्ला विकासको गुरुयोजना र विकास अभियान । ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगिसकेको अवस्थामा स्थानीय सरकार जागरुक बन्नुपर्छ,’   निमित्त स्थानीय विकास अधिकारी चिन्तामणि दाहाल भन्छन्, ‘हामी स्थानीय निकायलाई आवश्यक सहयोग र समन्वय गर्छौं।’ 

रुकुमकोटलाई फेरि सदरमुकाम बनाउनुअघि त्यहाँ इलाका प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालय, वन कार्यालय, पशु सेवा कार्यालय र कृषि कार्यालय थिए । तिनै कार्यालयमा जनशक्ति र सेवा–सुविधा थपेर जिल्ला कार्यालयमा रूपान्तरण गरिएको छ। 

जिल्ला सञ्चालन गर्न तत्काल थप कार्यालय आवश्यक छन् । दाहालका अनुसार कोलेनिका, नेपाल बैंक लिमिटेड, सरकारी वकिल कार्यालय र अस्पताल तुरुन्तै चाहिएको छ । कोलेनिका छिटै स्थापना हुने उनले जानकारी दिए ।  
रुकुमेलीहरु परम्परागत खेती र पशुपालनमा निर्भर छन् । उनीहरु जडीबुटीको पनि राम्रो व्यापार गर्छन् । किसानलाई व्यावसायिक जडीबुटी खेतीमा प्रोत्साहित गर्न सके जिल्लावासीले ठूलै आम्दानी लिन सक्छन्। 

जिल्लामा सबैतिर बिजुलीको पहुँच पुगेको छैन । दाहालका अनुसार सिस्ने, राङसी र हुकाममा बिजुली बल्दैन । प्रशस्तै नदीनाला भएको जिल्लामा केही लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यहाँ उत्पादन बढाएर बचत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने सम्भावना छ।  

पूर्वी रुकुमका कतिपय दुर्गम भेगमा टेलिफोन पुगिसकेको छैन । यस्ता गाउँमा हुकाम, मैकोट, सिस्ने, जाङ, तकसेरा आदि पर्छन् । भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांश भूगोलमा सञ्चार सुविधा राम्रो छैन। 

दाहालका अनुसार साविकका दुर्गम गाविस प्वाङ, सिस्ने, जाङ, रन्मामैंकोट, हुकाम, राङसी र चुनबाङ सदरमुकामको सडक सञ्जालसँग जोडिइसकेको छैन । त्यहाँ सडक निर्माणका काम भइरहेका छन्। 

ठुल्ठूला सडक योजना पनि चालू छन् । विशेषतः यस्ता पाँच आयोजनाको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग लुकुम, रुकुमकोट भएर चौरजहारीसम्म पुग्छ । अचेल मुसिकोटबाट जिप चल्छ । बाग्लुङ र पूर्वी रुकुमको सीमा पाटीहाल्ने भञ्ज्याङदेखि रुकुमकोटसम्म मात्रै मध्य पहाडी लोकमार्ग ४२ किमि छ। 

अर्को सडक छ, सहिदमार्ग । दाङको घोराहीबाट होलेरी, घर्तीगाउँ, थबाङ, मैकोट पुग्ने । थबाङ–मैकोट पूर्वी रुकुममा पर्छ । यो खण्डको ८० किमिमध्ये २० किमि ट्र्याक खन्न बाँकी छ । दुई वर्षभित्र ट्र्याक खुला गर्ने योजना छ। 

अर्को सडक छ– सोलाबाङ–ढोरपाटन–म्याग्दी । यसलाई सानी भेरी उत्तरगंगा कोरिडोर भन्न सकिन्छ । एसियाली विकास बैंकको सहयोगमा ठाउँठाउँमा काम हुँदै छ । त्यसैगरी चुनबाङबाट रुकुमकोट, सिस्ने हुँदै डोल्पा जोड्ने करिब एक सय २५ किमि लामो सडकको पनि काम भइरहेको छ। 

निर्वाचन क्षेत्रीय सडकअन्तर्गत फलामे गौँडाबाट पोखरा, प्वाङ, सिस्ने हुँदै डोल्पा जोड्ने सडक पनि काम भइरहेको छ । त्यसबाहेक ढोरपाटनबाट पेल्मा हुँदै मैकोट जोड्ने, नयागाडबाट चार गाउँ हुँदै मैकोट जोड्ने सडक पनि अघि बढाइँदै छ। 

‘समयमै सडकको काम पूरा भयो भने ४–५ वर्षमै पूर्वी रुकुममा सडकले ठूलो परिवर्तन ल्याउनेछ,’ पूर्वसांसद गणेशमान पुन आशावादी छन्। 

एक समय थियो, रोल्पा–रुकुमको नाउँ सुन्नेबित्तिकै माओवादीको जन्मभूमिका रूपमा सबैका कान ठाडाठाडा हुन्थे । माओवादी जनयुद्धमा यी दुई जिल्लाका धेरैले जीवन अर्पण गरे । आज माओवादीको केन्द्रीय राजनीतिमा पनि यहाँका नेता शक्तिशाली मानिन्छन्। 

लोकतान्त्रिक आन्दोलन (०६२/६३) पछि शान्तिको बाटोमा हिँडेको माओवादीका नेताले रुकुममा सडक सञ्जाल विस्तारका योजना भित्र्याएका हुन् । पूर्वी रुकुममा पर्यटनको प्रशस्तै सम्भावना छ । त्यहाँका पुथा, चुरेन र सिस्ने हिमाल आरोहण गर्न लायक छन्। 

पर्यटनको फूल फुलाउन गुरिल्ला पदमार्गको अवधारणा अघि बढाइएको छ । माओवादी छापामार हिँडेका गोरेटामा पर्यटकलाई पदयात्रा गराउन सन् २०१२ देखि गुरिल्ला पदमार्ग सञ्चालनमा आएको हो । रोल्पाको सुलीचौरबाट थबाङ, रुकुमको चुनबाङ हुँदै भुमे गाउँपालिका भएर बाग्लुङको ढोरपाटन हुँदै म्याग्दीको दरबाङसम्म पुग्ने पदमार्ग। 

माओवादी जनयुद्धको केन्द्र रहेका दुई जिल्ला रुकुम र रोल्पा नै हुन् । त्यहाँ जनयुद्धकालीन अवशेष, छापामारको सेल्टर, तालिमस्थल, जनवादी स्कुल, सहिदका गाउँ आदि छन् । त्योसँगै प्रकृति र मगर संस्कृतिको अनुपम खानी भने हुन्छ रुकुमलाई।  

‘गुरिल्ला पदमार्गको संसारभर प्रचार पुगिसकेको छ,’ गुरिल्ला पदमार्गका एक्सप्लोरर एवं चेन्जिङ नेपालका सदस्य सुरेन्द्र राना भन्छन्, ‘अब बढीभन्दा बढी पर्यटक भित्र्याएर युद्ध पर्यटनबाट फाइदा लिनुपर्छ ।’ 

समग्रमा कृषि, ऊर्जा र पर्यटनबाट पूर्वी रुकुम समृद्ध बन्न सक्छ । त्यसका लागि जिल्लावासीको  सक्रियता र भिजनयुक्त इमानदार नेतृत्व खाँचो छ।   

स्रोत: http://www.nagariknews.com/news/29814/