७७ करोडको पशुजन्य उत्पादन बढ्यो

June 06, 2019

दिलीप पौडेल, नागरिक, जेठ २३, २०७६ 

काठमाडौं - स्वदेशी उत्पादनले नथेगेर विदेशबाट वार्षिक करिब आठ अर्ब रुपैयाँका  मासुलगायत पशुजन्य वस्तु आयात भइरहेको बेला यो वर्ष करिब साढे ७७ करोड रुपैयाँको पशुजन्य वस्तुको उत्पादन बढेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार दूध, अण्डा, माछा, मासुको उत्पादन बढेपछि यो वर्ष ७७ करोड ७४ लाख ६५ हजार रुपैयाँ मूल्यका पशु वस्तुको आयात प्रतिस्थापन भएको हो। ‘पशुपालन व्यावसायिक बन्दै गएपछि पशुजन्य वस्तुको उत्पादन बढेको छ,’ मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, ‘उत्पादन बढेपछि आयात प्रतिस्थापनमा सघाउ पुगेको छ।’


मन्त्रालयका अनुसार दूध उत्पादन ९.०६ प्रतिशतले बढेर २० लाख पाँच हजार मेट्रिक टन पुगेको छ। त्यसैगरी, मासु उत्पादन १८.४४ प्रतिशतले बढेर तीन लाख ५३ हजार टन, अण्डा ६.०८ प्रतिशतले बढेर एक करोड ३९ लाख ७५ हजार गोटा र माछा ७.४१ प्रतिशतले वृद्धि भई ८५ हजार मेट्रिक पुगेको हो।

उत्पादन बढेपछि पशुजन्य वस्तुको उपलब्धता पनि बढेको छ। प्रतिवर्ष प्रति व्यक्ति दूध उपलब्धता ७१.७ लिटरबाट बढेर ७८.३५ लिटर पुगेको छ। मन्त्रालयका अनुसार गाई, गोरु, बाच्छा, बाच्छी आयात ६९.०३ प्रतिशत  घटेको छ। राँगा–भैंसी, पाडा–पाडी आयात ८.४६ प्रतिशतले, बोका–बाख्रा आयात २८.४३ र बंगुर, सुँगुर आयात ७२.५ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएका छ।

नेपालमा वार्षिक करिब आठ अर्ब रुपैयाँको मासु तथा दुग्धजन्य आयात हुँदै आएको छ। मुलुक कुखुराको मासुमा आत्मनिर्भर भए पनि खसि–बोका, राँगा, बंगुर, माछाको मासु विदेशबाट आयात हुन्छ। सरकारले किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याए पनि आयात प्रतिस्थापन हुने गरी उत्पादन भएको छैन। परम्परागत एवं निर्वाहमुखी पशुपक्षीपालनलाई व्यवसायीकरण गर्दै पशुजन्य उत्पादन बढाउँदै निर्यात प्रवद्र्धन गर्न पहल भइरहेको मन्त्रालयले जनाएको छ। किसानलाई सेवा, उन्नत नश्ल, दान÷आहार, पशु स्वास्थ्य सेवा, सुलभ ऋण, पशु बिमालाई प्राथमिकतामा राखेको छ।

बर्सेनि अर्बौं रुपैयाँको मासु आयात भइरहेको अवस्थामा सरकारले आगामी वर्ष मासुमा आत्मनिर्भर बन्ने आगामी आर्थिक वर्ष ०७६÷७७ को बजेटमा घोषणा गरेको छ। त्यसका लागि कुनै प्याकेज कार्यक्रम तय गरिएको छैन। पशुपक्षीपालन गर्नेलाई निश्चित मापदण्डको आधारमा अनुदान, प्राविधिक सहयोग र मेसिनरी आयातमा कर सहुलियत दिने बजेटमा उल्लेख छ।

सरकारले आगामि तीन वर्षमा दूध उत्पादन करिब एक अर्ब लिटर वृद्धि गर्ने योजना बनाएको छ। पशुपालनमा निजी क्षेत्रलाई आकर्षित गर्दै व्यवसायीकरण गरी उत्पादन बढाएर आगामी आर्थिक वर्ष ०७७÷७८ सम्म तीन अर्ब १३ करोड लिटर दूध उत्पादन गर्ने लक्ष्य लिएको राष्ट्रिय योजना आयोगले बनाएको रणनीतिमा उल्लेख छ। अहिलेको उत्पादनले बजारको माग धान्न नसकेकाले उत्पादन बढाउनुको विकल्प नभएको मन्त्रालयले जनाएको छ। प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले ७८.३५ लिटर दूध उत्पादन भएको छ। दूध उत्पादनमा निजी क्षेत्रको सहभागिता बढाउने सरकारी रणनीति छ।

अण्डा र कुखुराको मासुमा भने मुलुक आत्मनिर्भर छ। हरेक व्यक्तिलाई वार्षिक ४८ अण्डा आवश्यक पर्नेमा अहिले प्रतिवर्ष प्रतिव्यक्ति ५०.७ गोटाका दरले उत्पादन भएको  छ।  वार्षिक एक अर्ब ३९ करोड लाख गोटा अण्डा उत्पादन भएको छ।  सरकारी तथ्यांक अनुसार कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अण्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला बिक्रीबाट तीन अर्ब ६० करोड ७६ लाख, कुखुराको मलबाट ४५ करोड ३७ लाख रुपैयाँको कारोबार हुन्छ। ६४ जिल्लामा २१ हजार नौ सय ५६ व्यावसायिक फार्म छन् ।

पशुजन्य बस्तुको उत्पादन बढे पनि समग्र कृषि तथा पशुजन्य वस्तुको आयात भने बढेको छ। यो वर्षको पहिलो आठ महिनामा सवा खर्ब रुपैयाँ बढीको कृषि तथा पशु उत्पादन आयात भएको छ। चालु आर्थिक वर्ष ०७५÷७६ को फागुनसम्म एक खर्ब ३८ अर्ब ६ करोड रुपैयाँको कृषि तथा पशुजन्य वस्तु उत्पादन आयात भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण उल्लेख छ।

कुल वस्तु आयातमा १४.६ प्रतिशत कृषि उत्पादनको हिस्सा ओगटेको छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ०.६१ प्रतिशतले घटेको छ। गत आवको फागुनसम्म कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन)को योगदान २७.५९ रहेकोमा चालु आवको सोही अवधिमा २६.९८ प्रतिशत रहने अनुमान छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/78934/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More