News

७८.६ प्रतिशत निर्यात भारत र अमेरिका

January 03, 2020

अन्नपूर्ण पोष्ट, पुष १८, २०७६ 

काठमाडौं : नेपालको कुल निर्यातमध्ये ७८.६ प्रतिशत निर्यात भारत र अमेरिकामा भएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालको कुल निकासी ४७ अर्ब ६२ करोड रुपैयाँ निकासी भएकोमा भारतमा ३२ अर्ब ५७ करोड र अमेरिकामा ४ अर्ब ८७ करोड रुपैयाँ भएको भन्सार विभागले जनाएको छ। कुल निकासीमध्ये ६८ प्रतिशत निर्यात भारतीय बजारमा भएको छ।


पछिल्लो समय भारतमा पाम तेल निकासी बढेसँगै निकासी भारतमा केन्द्रीकरण भएको हो। समीक्षा अवधिमा नेपालले भारतमा ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल मात्रै निकासी गरेको छ। भारतमा निकासी केन्द्रीकरण हुँदा नेपालले बजार विविधीकरण गर्न नसकेको देखिन्छ। अमेरिकामा पनि नेपालको निर्यात बढिरहेको छ। अमेरिकाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट’ मार्फत स्कार्पm, सल, शिरपोश, यात्रामा प्रयोग हुने सुटकेसलगायत सामान ६६ वस्तुलाई अमेरिकामा निकासीका लागि सन् २०२५ सम्मका लागि शून्य भन्सारमा निर्यात सुविधा दिएको छ। यो सुविधा नहुँदा नेपाली निर्यातकर्ताले अमेरिकामा झण्डै १७ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ। अमेरिकाले दिएको सुविधा भने अझै पनि राम्रोसँग उपयोग गर्न सकिएको छैन।

भारतमा भने नेपालबाट प्राथमिक वस्तुदेखि पाम आयल, जुट, जुस, यार्न, अदुवा अलैंची, चिया, टेक्सटाइल, जुत्ताचप्पल लगायत प्रमुख निकासी वस्तुका रूपमा रहेका छन्। भारतमा हुने निकासी गत वर्षको तुलनामा ४८.५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो ५ महिनामा भारतमा कुल २१ अर्ब ९२ करोड रुपैयाँको निकासी भएको थियो। यस्तै, अमेरिकामा भने गत वर्षको तुलनामा ४ प्रतिशतले निर्यात बढेको छ। गत वर्षको सोही अवधिमा अमेरिकामा ४ अर्ब ६८ करोड रुपैयाँको निकासी भएको थियो। अमेरिकामा नेपालबाट गलैंचा, तयारी पोसाक, हस्तकलाका सामग्रीलगायत वस्तु निर्यात भइरहेको छ।

स्रोत: http://annapurnapost.com/news/144585