कारोबार आर्थिक दैनिक, २६ पुष २०७४
पूर्वी पहाडका सातवटा जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माण आयोजनाहरू सुस्त छन् । सरकारी नीति, झन्झटिलो प्रक्रिया र ठेकेदारको लापारबाहीको कारण अर्बौं रुपैयाँ लगानीका आयोजना निर्माणमा ढिलाइ भइरहेको सरोकारवालाले गुनासो गरेका छन् ।
डेनमार्कको करिब ७ अर्ब रुपैयाँ सहयोगमा सरकारले सन् २०१५ देखि चार वर्षका लागि लागू गरेको उन्नति परियोजनाअन्तर्गत भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित भौतिक पूर्वाधार निर्माण आयोजनाहरू अलपत्र परेका छन् । आर्थिक प्रवद्र्धनका निम्ति उन्नति समावेशी वृद्धि कार्यक्रमअन्तर्गत सात जिल्लामा चिया, अलैंची, अदुवा र दुग्ध व्यावसाय प्रवद्र्धन गर्न मूल्य शृंखला, पूर्वाधार निर्माण र जवाफदेही व्यापारका लागि चुनौती बहस कार्यक्रम सञ्चालित छन् ।
सातवटै जिल्लामा सञ्चालित अधिकांश आयोजनाहरू ठेकेदारको लापारबाहीले अलपत्र छन् । ठेकेदार कम्पनीले टेन्डर हात पार्न अनुमानित बजेटभन्दा ४५ प्रतिशतसम्म घटाएर ठेक्का पारेका छन् । कम बजेटमा ठेक्का सम्झौता गरे पनि गुणस्तरीय निर्माण कार्य गर्न नसकेर घाटा लाग्ने भएपछि काम छाडेर भाग्ने गरेका छन् । ठेकेदारको हेलचेक््रयाइँ र सरकारी निकायको कमजोर व्यावस्थापनका कारण अर्बौं रुपैयाँ लगानीका आयोजना अलपत्र छन् ।
उन्नति परियोजनाले सडक र पुल निर्माणका लागि इलाममा ६४ करोड, पाँचथरमा ३४ करोड ८७ लाख, भोजपुरमा १६ करोड, संखुवासभा २९ करोड, धनकुटामा २३ करोड ५० लाख, तेह्रथुममा २८ करोड र ताप्लेजुङमा १४ करोड ३९ लाख रुपैयाँ गरी २ अर्ब ९ करोड ७६ लाख रुपैयाँ लगानीमा ३० वटा लामा–छोटा सडक र दुईवटा पुल निर्माणाधीन रहेको जिल्ला प्राविधिक कार्यालयहरूले जनाएका छन् । टेन्डर प्रक्रियामा घटाघटमा बाँकी रहेको रकमसमेत लगानी गर्न सक्ने भए पनि परियोजनाको म्याद गुज्रिन लागेकाले निर्माण कार्यमा रकम खर्च गर्न प्रक्रियागत समस्या छ । अनुदान रकम खर्च गर्न नसकेपछि सडक ग्राभेल तथा स्तरोन्नति आयोजना लथालिंग हुने अवस्थामा छन् । अधिकांश आयोजनाको सम्पन्न गर्नुपर्ने सम्झौताको म्याद कात्तिकमा सकिएपछि समय थप गरिएको छ ।
भोजपुरमा निर्माणाधीन टक्सार–कोट–गोगने–लेखर्क पान्धारे ४६ किलोमिटर कृषि सडक ग्राभेल तथा स्तरोन्नति आयोजना ठेकेदारको लापारबाहीले लथालिंग छ । सडक ग्राभेल, स्तरोन्नति तथा मर्मत सम्भारका लागि भन्दै भत्काएर भोजपुर–टक्सार गुम्बा सडक नबनाएपछि सवारी आवागमन अवरुद्ध छ । ठेकेदार एमके/वाईपी संयुक्त निर्माण कम्पनीले १२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी फाट्टफुट्ट निर्माण कार्य गरे पनि सडक ग्राभेल गर्ने मुख्य काम नगरेपछि ठेक्का करार रद्द गर्ने चेतावनीसहित पटकपटक पत्राचार गर्दासमेत ठेकेदारले बेवास्ता गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिभिजन इन्जिनियर लालु गिरीले बताए ।
अनुमानित लागत २० करोड रुपैयाँ रहेको सडक ग्राभेल गर्न ठेकेदार एमकेवाईपी कम्पनीले ४० प्रतिशत घटाएर १२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यसबाहेक तिवारी भञ्ज्याङ–च्यांग्रे ५ किलोमिटर र घोडेटार–होम्ताङ ५ किलोमिटर सडक ग्राभेल गर्न योजना छनोट भए पनि निर्माण कार्य नभएको प्राविधिक कार्यालयमा प्रमुख इन्जिनियर लालु गिरीले जनाए ।
पाँचथरमा ३४ करोड ८७ लाख रुपैयाँ लगानीमा लामो–छोटो दूरीका छवटा सडक ग्राभेल र पुल निर्माण आयोजना निर्माणाधीन छन् । फालेलुङ गाउँपालिका १ र २ मा काउले–एकतीन–मेमेङ सडक २६ किलोमिटर, सुम्निमा चोक–रानीटार १० किलोमिटर, यही सडकमा पर्ने मेमेङको खेवाथाम खोलामा सडक पुल, काउले–चरिभन्ज्याङ ७ किलोमिटर, लगानीमा सप्तमी–सराङडाँडा ८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति आयोजना निर्माणाधीन छन् । तर, ठेकेदारको लापारबाहीका कारण गति लिन नसकेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर जयराम श्रेष्ठले बताए । उनका अनुसार २५ करोड रुपैयाँ लागत अनुमान रहेको काउले–एकतीन सडक हेटौंडाको गौरी पार्वती मृत सञ्जीवनी कन्स्ट्रक्सन संयुक्त कम्पनीले ४३ प्रतिशत घटेर १५ करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर, गुणस्तरीय काम गर्न नसकेर अलपत्र छाडेपछि स्थानीयबासी आक्रोशित छन् । काउले–एकतीन सडकको १५ करोड ३२ लाख रुपैयाँमध्ये २ करोड ९८ लाख ८० हजार, मेमेङको खेवाथाम सडक पुलको २ करोड १ लाख रुपैयाँमध्ये ६८ लाख ७६ हजार र सुम्निमा चोक–रानीटार सडक ८ करोड ५४ लाखमध्ये ७० लाख मात्र खर्च भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।
संखुवासभामा चैनपुर–नुनढाकी २० किलोमिटर, हयाङखोला–तुम्बेपोम्बे १५ किलोमिटर सडक ग्राभेल आयोजना सञ्चालित छन् । संखुवासभामा समेत ठेकेदारको लापारबाहीले सडक ग्राभेल निर्माण कार्यले गति लिन नसकेपछि लगानी खेर जाने अवस्था रहेको उन्नति परियोजनाका इन्जिनियर खेमराज अधिकारीले बताए । उनका अनुसार चैनपुर–नुनढाकी २० किलोमिटर ग्राभेल गर्न १४ करोड रुपैयाँ लागत अनुमान रहेकामा कुन्सालिङ कन्स्ट्रक्सन कम्पनीले १० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अर्को १७ करोड रुपैयाँको लागत अनुमान रहेको हयाङखोला–तुम्बेपोम्बे १५ किलोमिटर ग्राभेल गर्न केसी एन्ड न्यौपाने खम्पथा निर्माण कम्पनीले १२ करोड रुपैयाँमा ठेक्का लिएर सम्झौता गरेर गुणस्तरीय काम नगरेको इन्जिनियर अधिकारीले बताए । संखुवासभामा ७ करोड रुपैयाँ लागत अनुमान रहेको मौला–देवीथान ८ किलोमिटर सडक टेन्डर भइसकेको र थप दुईवटा विस्तृत सर्वेक्षण पूरा भइसकेको इन्जिनियर अधिकारीले बताए ।
तेह्रथुममा उन्नति परियोजनाको लगानीमा सिधुवा–शुक्रबारे ९ दशमलव ५ किलोमिटर र चित्रे–फुलेक १० किलोमिटर गरी १९ दशमलव ५ किलोमिटर कृषि सडक निर्माणाधीन छन् ।यी दुईवटा सडक ग्राभेल गर्न १३ करोड रुपैयाँ लागत अनुमान रहेकामा बिरुवा एपेक्स निर्माण कम्पनी संयुक्तले ९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । लागतभन्दा ३० प्रतिशत घटेर ठेक्का लिएर गुणस्तरीय काम गर्न नसकेपछि ठेकेदारलाई सम्झौताअनुसार काम गर्न दबाब दिएपछि निर्माण कार्यको गति सुस्ताएको जिल्ला प्राविधिक कार्यालय तेह्रथुमका प्रमुख इन्जिनियर भरतकुमार यादवले बताए । अर्को ३ करोड ३३ लाख रुपैयाँ लागत अनुमान रहेको सेर्मा–नेभोई साढे ५ किलोमिटर, ४ करोड ५० लाख रुपैयाँको चपरी चोक–छथर चागपा ८ किलोमिटर, ३ करोड ३० लाखको शुक्रबारे–सौर्यनी ५ किलोमिटर, ३ करोड ३० लाखमा लिखुवा–सिकिदिन ५ किलोमिटर र आङदिङ–ओयागजुङ सडक ग्राभेल गर्न लागेको प्रमुख इन्जिनियर यादवले बताए ।
स्रोत: https://www.kantipurdaily.com/business/2018/01/10/20180110075725.html