८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्बन्धले

February 13, 2018

ईश्वरकाजी खाइजू, अन्नपुर्णपोष्ट दैनिक, माघ २८, २०७४

भक्तपुर : नेपालमा एचआईभी एड्स संक्रमण भएकामध्ये ८५ प्रतिशतलाई असुरक्षित यौन सम्बन्धको कारण हुने गरेको पाइएको छ । फेब्रुअरी १३ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय कन्डम दिवसको सन्दर्भमा सुरुवात संस्थाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

कार्यक्रममा विगत १५ वर्षदेखि एचआईभीको क्षेत्रमा कार्यरत एड्सहेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालका टेस्टिङ अफिसर बबी सिंहले नेपालमा एचआईभी संक्रमण भएकामध्ये ८५ प्रतिशतलाई असुरक्षित यौन सम्बन्धकै कारण सरेको पुष्टि भएको बताए । उनका अनुसार नेपालमा करिब ३३ हजार एचआईभी संक्रमित छन् । जसमध्ये करिब २२ हजारको मात्रै पहिचान भएको छ ।

‘दस हजारभन्दा बढी संक्रमितको पहिचान हुन सकेको छैन’, उनले भने, ‘पहिचान हुन नसकेकाहरुले थपलाई संक्रमित गर्न सक्ने जोखिम उच्च छ । त्यसैले सुरक्षित यौन सम्बन्धको लागि कन्डमको प्रयोग बढाउनु जरुरी छ ।’
कन्डमले एचआइभीको संक्रमणमात्रै होइन प्राणघातक हेपाटाइसिस, यौनजन्य रोग र अनिच्छुक गर्भ रहनबाट समेत रोक्ने भएकाले यसको व्यापक प्रयोग बढाउन जनचेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।

उनले एएचएफले कार्य गरिरहेको नेपालसँगै विश्वका ४० देशमा एकैदिन अन्तर्राष्ट्रिय कन्डम दिवस मनाइने बताएका छन् । उक्त कार्यक्रम नेपालको भक्तपुरमा हुने उनले बताए ।

एएचएफ नेपालको सहयोगमा फागुन १ गते भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय कन्डम दिवस मनाइँदैछ । भक्तपुरस्थित सुरुवात संस्थाले गर्ने उक्त कार्यक्रमबारे जानकारी दिँदै संस्थाका निर्देशक राजेश दिदियाले भक्तपुर पनि एचआईभी संक्रमणको जोखिममा रहेकाले युवाहरुलाई सांगीतिक कार्यक्रममार्फत कन्डमको प्रयोग बढाउन म्युजिक कन्सर्ट नै गर्न लागिएको जानकारी दिए ।

युवा पप गायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्टअघि भक्तपुरको टौमढीबाट दरबार क्षेत्रसम्म कन्डम मार्च, स्थानीय गायकगायिका तथा सांगीतिक समूहबाट आआफ्नो प्रस्तुती हुने उनले बताए ।

उनका अनुसार कार्यक्रम अवधिभर टौमढी र दरबार क्षेत्रमा कन्डम वितरणसँगै दरबार क्षेत्रमा निःशुल्क एचआईभी जाँच हुनेछ ।

  स्रोत: http://annapurnapost.com/news-details/90765

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More