कृष्णमणि बराल, अन्नपूर्ण पोष्ट, चैत २४, २०७५
पोखरा : गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ८ महिनामा दुई लाख १५ हजार सात सय ९४ विदेशी पर्यटक भित्रिएका छन्। कुल पर्यटकमध्ये ९० हजार भारतीय र बाँकी अन्य मुलुकका रहेको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन महाशाखाका उपसचिव कृतनराज पौडेलले जानकारी दिए।
प्रदेश सरकारले भारतीय पर्यटकको छुट्टै र अन्य देशको तथ्यांक एकैठाउँ राख्ने गरेको छ। गण्डकी सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउनदेखि गण्डकी प्रदेशमा आउने विदेशी पर्यटकको तथ्यांक संकलन सुरु गरेको हो। ८ महिनायता सबैभन्दा धेरै कात्तिकमा ३८ हजार पाँच सय ७५ विदेशी पर्यटक आएको तथ्यांक छ।
मंसिरमा ३७ हजार एक सय नौ जना छन्। सबैभन्दा थोरै फागुनमा १९ हजार चार सय ५१ छन्। साउनमा २० हजार आठ सय २१ विदेशी पर्यटक रहेको पौडेलले जानकारी दिए। पोखरा र गण्डकी प्रदेशमा यसअघि बर्सेनि कति पर्यटक आउँछन् भन्ने यकिन तथ्यांक राख्ने गरिएको थिएन।
स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक तनहुँको आबुखैरेनीस्थित पृथ्वी राजमार्गको आबुखैरेनी प्रहरी चेकपोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेकपोस्टका प्रहरीको सहयोगमा संकलन गरिएको छ। तथ्यांक संकलनलाई प्रभावकारी बनाउन प्रदेश सरकारले अन्तर्राष्ट्रिय अभ्यासअनुसार थप प्रभावकारी बनाउने भएको छ।
पहिलो चरणमा सरकारले स्थानीय चौकीको सहयोग लिएर तथ्यांक संकलन गरेको र यसलाई नयाँ प्रविधिअनुसार व्यवस्थित बनाउन कर्मचारी व्यवस्था गरिने पौडेलले बताए। गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्यांक पनि छिट्टै संकलन गर्ने कर्मचारीको भनाइ छ। हवाई मार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएको छ। हेलिकप्टरबाट आउने पर्यटकको पनि रेकर्ड राखिनेछ।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै पर्यटक पदयात्राका लागि आउँछन्। अन्नपूर्ण, धौलागिरि, मनास्लु संरक्षण क्षेत्रको पदयात्राका लागि विदेशी पर्यटक प्रदेशमा आउँछन्। भारतीय तीर्थयात्री भने प्रसिद्ध तीर्थस्थल मुस्ताङको मुक्तिनाथ जान आउँछन्। तर, आन्तरिक पर्यटकको तथ्यांक भने राखिएको छैन।