News

८ महिनामा ६० करोडको खाद्यान्न आयात, निर्यात घट्दै

April 01, 2019

भवानी भट्ट, कान्तिपुर, चैत १७, २०७५ 

(कञ्चनपुर) — कुनै बेला पश्चिम तराईका कैलाली र कञ्चनपुर मुलुककै अन्नभण्डार मानिन्थे । पछिल्ला वर्षमा भने भारतबाट बर्सेनि ठूलो परिमाणमा चामल र गहुँलगायत खाद्यान्न आयात बढदो छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म यी दुई जिल्लाका सीमा नाकाबाट ६० करोडभन्दा बढीको चामल र गहुँ आयात भएको छ । 

दुई जिल्लामा वाषिर्क १ अर्बभन्दा बढीको चामल र गहुँ मात्रै आयात हुन्छ । गड्डाचौकीस्थित क्षेत्रीय प्लान्ट क्वारेन्टाइनका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म मात्रै ६० करोडभन्दा बढीको चामल र गहुँ आयात भएको हो । ५७ करोडको चामल मात्रै आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा निकै बढी हो । गत आर्थिक वर्षमा करिब ४० करोडको खाद्यान्न आयात भएको थियो ।

प्लान्ट क्वारेन्टाइनका नायबसुब्बा हंशराज भट्टका अनुसार खाद्यान्नसँगै तरकारी र फलफूल आयात हुने क्रम बर्सेनि बढदै गएको छ । 'यो त ठूलो मात्रामा आउने खाद्यान्न र तरकारी मात्रै हो,' उनले भने, 'फुटकर आउने र अवैध नाकाबाट भित्रिने सामान योभन्दा बढी हुन सक्छ ।' उनले दाल, चामल, मैदा र बेसनलगायत खाद्यान्न फुटकर रूपमा समेत ठूलो परिमाणमा आयात हुने गरेको बताए । साइकलमा आयात हुने खाद्यान्न, तरकारी र फलफूल क्वारेन्टाइनको आँखा छलेर चोरी नाकाबाट पनि भित्रिने गरेको छ ।

'कञ्चनपुरको उत्पादन यहीँ ठिक्क हुन्छ, पहाडतिरका लागि भारतबाटै आयात भएको खाद्यान्न जाने हो,' महेन्द्रनगरस्थित लक्ष्मी खाद्य उद्योगकका सञ्चालक खगेश्वर बोहोराले भने, 'गौरीफन्टा नाकाबाट ठूलो मात्रामा चामल र गहुँ आयात हुन्छ, पुलको समस्याले गड्डाचौकी नाकाबाट आयात कम छ ।'
कञ्चनपुरमा ५० हजार हेक्टरमा धान र ३० हजार हेक्टरमा गहुँ खेती हुन्छ । कैलालीमा पनि ७० हजार हेक्टरमा धान र ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । औसतमा यहाँ धानको उत्पादकत्व साढे ३ र गहुँको करिब ३ टन प्रतिहेक्टर छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार पनि सुदूरपश्चिममा ८० हजार टन खाद्यान्न बचत भए पनि भारतबाट आयात हुने परिमाण बर्सेनि बढदो छ ।

'हाम्रो उपभोग र उत्पादनको तालमेल नमिलेर यस्तो अवस्था आएको हो,' कृषि ज्ञान केन्द्र कञ्चनपुर कैलालीका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहोराले भने, 'आयात पनि त्यही अनुपातमा बढिरहेको छ, तथ्यांक अद्यावधिक तथा संकलनमा पनि जोड दिनुपर्ने छ ।' उनले वषर्ाैंअघि संकलन गरिएको तथ्यांककै भरमा कृषि नीति बनिरहेको र त्यसैका आधारमा काम भइरहेको बताए ।

'पहिलेका फाँट र खेतमा घर घडेरी निमर्ाण भइसकेको छ, उत्पादन हुने क्षेत्रफल घटदो छ,' उनले भने, 'हामी भने अहिले पनि त्यहीँ तथ्यांकका भरमा खाद्यान्न बचत भएको मात्रै हेरिरहेका छौं ।' उनका अनुसार मुलुकमा समयमै धान र गहुँको मूल्य निर्धारण नहुँदा सीमा क्षेत्रका अधिकांश कृषकले भारततर्फ बिक्री गरिरहेका छन् ।
कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामा पनि धान र गहुँको खेती प्रशस्त गरिन्छ । यहाँ मोटो र मध्यम धान मात्रै उत्पादन हुन्छ । 'मोटो र मध्यम धानको उत्पादनलाई मसिनोले प्रतिस्थापन गर्न सके मात्रै आयात घट्छ,' ज्ञान केन्द्रका बोहोराले भने, 'उपभोक्ताले मसिनो धान नै रुचाउँछन्, हामीले भने मोटो मात्रै उत्पादन गरिरहेका छौं ।' सरकारले मसिनो र बासनादार धान उत्पादनका लागि अनुदान र प्रोत्साहनलगायत कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम वास्तविक कृषकसम्म पुग्न नसकेको किसानकै गुनासो छ ।

५२ करोडको आलु आयातखाद्यान्नसँगै सुदूरपश्चिममा तरकारी र फलफूल आयात पनि निरन्तर बढदो छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा आलु मात्रै ५२ करोडको आयात भएको छ । प्याज साढे ८ करोड, गोलभेंडा ४ करोडको आयात भएको छ । काउली, हरियो खुर्सानी, करेला, गाँजर, फर्सी काँक्रा र घिरौंलालगायत तरकारी पनि ठूलो परिमाणमा आयात हुने गरेको छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार दोस्रो चौमासिकसम्म करिब २ अर्बको खाद्यान्न, तरकारी र फलफूल आयात भएको छ । जुन गत वर्षको तुलनामा झन्डै दोब्बर हो । गत आर्थिक वर्षमा खाद्यान्न, तरकारी, फलफूल, तेलहन र पशु दाना गरी जम्मा १ अर्ब ३० करोडको आयात भएको थियो ।निर्यात नगन्य

आयातको तुलनामा यहाँका नाकाबाट हुने निर्यात भने नगन्य छ । यहाँबाट भारततर्फ सीमित मात्रामा जडीबुटी, घिउ र भुस निर्यात हुने गरेको छ । कैलाली र कञ्चनपुरबाट २ चौमासिकमा ५५ लाखको अदुवा, रिठ्ठा र केही जडीबुटी निर्यात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार ४४ लाखको अदुवा, ५ लाखको तेजपात, १ लाख ६० हजारको काउलो बोक्रा र करिब २ लाखको रिठ्ठा निर्यात भएको छ । यसैगरी धानको भुस र केही परिमाणमा घिउ पनि निर्यात भएको छ ।

सोर्त: https://www.kantipurdaily.com/business/2019/03/31/155404815972698937.html