सरस्वति ढकाल, कारोबार आर्थिक दैनिक, ०६ असोज २०७४
काठमाडौँ : मुलुकका अधिकांश निर्यातजन्य उद्योगहरू राजधानीकेन्द्रित देखिएका छन् । लगानीको सुरक्षा, जनशक्ति, हावापानी, संगठित वातावरण तथा पूर्वाधारलगायतका सुविधाले गर्दा उद्योगीहरू राजधानीकेन्द्रित भएका हुन् ।
उपत्यकाबाहिर मजदुर अभाव हुने समस्या भए पनि यहाँ कामदार पाइने भएपछि लगानीकर्ताको आकर्षण् यसै क्षेत्रमा छ । देशवाट मुख्य रूपमा निर्यात हुँदै आएका कार्पेट, पश्मिना, फेल्ट, धातुजन्य सामग्री, हस्तकला, तयारी पोसाकलगायतका अधिकांश उद्योग राजधानीमै सञ्चालनमा छन् ।
नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष अनुपबहादुर मल्लले पूर्वाधार, बजार र सुरक्षाका दृष्टिले निर्यातजन्य उद्योगहरू राजधानीमा केन्द्रित भएको बताउँछन् । “सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणा ल्याएको छ, यसमा हामी एकैसाथ जान सक्दैनौं, पुराना उद्योगहरूलाई विस्तारै सुविधा दिएर स्थानान्तरण गर्न सकिन्छ,” उनले भने, “अहिलेका अवस्थामा ९० प्रतिशतभन्दा धेरै निर्यात उद्योग राजधानीमै छन् ।” निर्यात हुने बस्तु अहिले औंलामा गन्नसकिने भएको उनी बताउँछन् ।
“भैरहवा सेजकै कुरा गर्दा भौतिक पूर्वाधार, कामदारदेखि सबै अभाव छ भने मौसम पनि कामदारअनुकुल छैन,” उनी भन्छन्, “काठमाडौंमा काम गरेका कामदार त्यहाँ गएर काम गर्नसक्ने अवस्था छैन भने स्थानीयस्तरमा दक्ष कामदार पाउन सकिन्न ।”
उद्योग विभागका अनुसार हालसम्म दर्ता भएका करिब ७ हजार उद्योगमध्ये काठमाडौंमा मात्रै ३ हजार छन् । उद्योग विभागकाले यी उद्योगबाट २ लाख १४ हजारको हाराहारीमा रोजगारी सिर्जना भएको तथ्यांक निकालेको छ । उत्पादनमूलक उद्योगका लागि बजार तथा श्रमिक पर्याप्त पाइने हुनुका साथै सुरक्षाका हिसावले काठमाडौंमा लगानीकर्ता आर्कषित भएका छन् ।
बढी उद्योग दर्ता भएका ५ जिल्ला
काठमाडौं २९३३
ललितपुर ७२९
कास्की ३३३
मोरङ २३३
रुपन्देही १८८
स्रोत : उद्योग विभाग
तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले तयारी पोसाकका हकमा बिराटनगरमा ४, भैरहवामा १ र ३५ वटा काठमाडौंमा सञ्चालनमा रहेको बताए । एयरपोर्ट, सुरक्षादेखि अन्य सुविधाले गर्दा निर्यात उद्योग राजधानीकेन्द्रित भएको उनले बताए ।विभागका अनुसार काठमाडौंबाहेक अन्य ७४ जिल्लामध्ये कुनैमा पनि उद्योग दर्ताको संख्या हजारमा पुग्न सकेको छैन ।
२०७३ को अन्त्यसम्म ललितपुरमा ७ सय २९, कास्कीमा ३ सय ३३, मोरङमा २ सय ३३, र रुपेन्देहीमा १ सय ८८, सुनसरीमा १ सय २६, पर्सा र भक्तपुरमा १ सय ५१, नवलपरासीमा १ सय ६ तथा मकवानपुरमा १ सय ३ उद्योग दर्ता भएका छन् । विकासले पछाडि परेका जिल्लाहरूमा उद्योग दर्ता निकै कम छ । नयाँ दर्ता हुने उद्योग पनि राधजानीलक्षित भएका छन् भने पुराना उद्योगहरू सरकारले विशेष आर्थिक क्षेत्र (सेज) को सुविधा दिँदा समेत जान चाहेको अवस्था छैन ।
उद्योग विभागका महानिर्देशक शंकर अर्यालका अनुुसार स्वदेशी होस या विदेशी लगानीकर्ता जो भए पनि सवैभन्दा धेरै ध्यान सुरक्षामा केन्द्रीत गर्छन् । विदेशीजस्तै नेपाली पनि छिटो प्रतिफल दिने क्षेत्र रोज्दा उद्योग दर्ता काठमाडौंमा बढी भएको हो । “निर्यातजन्य उद्योगले पनि हेर्ने नाफा नै हो, त्यसैले त्यस्ता उद्योग पनि उपत्यका बाहिर चाहाँदैनन्,” उनले भने । हालसम्म दर्ता भएका ५ लाख २८ हजार ८ सय १३ लाइ रोजगारी दिएको विभागको अनुमान छ ।
स्रोत:
https://www.karobardaily.com/news/82492