९ जिल्लाका स्कुलमा ‘पोषिलो’ चामल

December 26, 2017

अतुल मिश्र, कान्तिपुर राष्ट्रिय दैनिक, ११ पुष २०७४

सरकारले नौ जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत हाल दिइँदै आएको हलुवा विस्थापित गरेर पोषक तत्त्व मिसिएको चामल (फोर्टिफाइड राइस) दिने भएको छ ।

डोटी, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडी, दार्चुला, जाजरकोट र रुकुम गरी ९ जिल्लाका स्कुलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ । आयोडिनको कमीले गलगाँड देखिने समस्या कम गर्न नुनमा अनिवार्य रूपले आयोडिन मिसाएर प्रचलनमा ल्याएजस्तै चामल लगायतका खाद्य पदार्थमा सूक्ष्म पोषक तत्त्व मिलाएर उपयोगमा ल्याउने प्रक्रियालाई ‘फोर्टिफिकेसन’ भनिन्छ ।

हाल मुलुकका केही जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत विद्यालयमै हलुवा पकाएर विद्यार्थीहरूलाई खुवाउने गरिन्छ । यसरी दिनहुँ एक विद्यार्थीलाई ११० ग्रामको ३९० क्यालोरी दिवा खाजा (हलुवा) खुवाइन्छ । ‘पाइलट प्रोजेक्टका रूपमा दैलेखमा गत वर्षदेखि नै दिवा खाजा हलुवाको सट्टा फोर्टिफाइड राइस दिन थालिएको हो,’ शिक्षाका लागि खाद्य कार्यक्रमका निर्देशक विष्णु भण्डारीले भने, ‘यसको राम्रो परिणाम देखिएपछि थप ९ जिल्लामा विस्तार गर्न लागिएको हो ।’ यसअन्तर्गत प्रत्येक विद्यार्थीका लागि ८० ग्राम थप पोषक तत्त्व मिसिएको चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम आयोडिन मिसिएको नुनबाट जाउलो, दालभात वा फ्राइड राइस बनाएर खुवाइने छ ।

विद्यालय जाने उमेरका बालबालिका शिक्षाको पहुँचबाहिर नहुन् र विभिन्न अवस्थाका कारण विद्यालय आउन नसकेका समुदायका बालबालिका विद्यालय आउन सकुन् भन्नका लागि मध्य दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यसले ती समुदायका बालबालिकामा पोषणको स्थितिलाई समेत थप बलियो बनाउने भण्डारी बताउँछन् । आधारभूत विद्यालयका २ लाख ३६ हजार बालिबालिकालाई फोर्टिफाइड चामलद्वारा निर्मित खाजा कार्यक्रमले समेटिने भण्डारीले बताए ।

फोर्टिफाइड चामलमा स्थिति हेरेर ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म चामल जस्तै देखिने सूक्ष्म पोषक तत्त्व भएको खाद्य पदार्थ मिसाइएको हुन्छ । आम जनसंख्यामा वा कुनै खास लक्षित जनसंख्यामा देखिएको पोषक तत्त्वको कमीलाई पूरा गर्न सैद्घान्तिक रूपमा कुनै भिटामिन र खनिजको कुनै पनि संयोजनलाई चामलमा थप्न सकिन्छ । तर चामलमा हालसम्म पानीमा घुल्ने भिटामिन बी १ (थाइमिन), बी ३ (नियासिन), फलिक एसिड, बी १२, बी ६ र सी एवं बोसोमा घुल्ने भिटामिन ए, ई र डी एवं मिनरलअन्तर्गत आइरन, जिंक, सेलिनियम, क्याल्सियम छन् भने अन्य पोषक तत्त्वमा वेटा कैरोटिन, लाइजिन, फाइवरहरू सफलतापूर्वक हालिएका छन् ।

स्रोत: https://www.kantipurdaily.com/news/2017/12/25/20171225201907.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More