बुद्धिमान पुन, आर्थिक अभियान, सोमवार, बैशाख ३१, २०७५
वैशाख ३०, सल्यान । चालू आर्थिक वर्षको नौ महीनामा जिल्लाबाट रू. ७९ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । यस अवधिमा रू. ३० करोड ३७ लाखको सुन्तला, रू. १९ करोड ९७ लाख ४५ हजारको तरकारी, रू. २३ करोड ९० लाखको अदुवा र रू. ७ करोडको अदुवाको सुठो विक्री भएको तथ्याङ्क छ ।
गत आर्थिक वर्षमा ६७ करोड १७ लाख ७१ मूल्यको कृषिजन्य वस्तु जिल्ला बाहिर निर्यात भएको थियोे । जिल्लामा उत्पादित कृषिजन्य वस्तु देशका विभिन्न शहरहरुमा निर्यात हुने गरको छ ।
सल्यान जिल्लाका करीब ४६ हजार घरधुरीमध्ये ३४ हजारभन्दा बढी घरधुरीले कृषि पेशा अङ्गालेका छन् । उनीहरु परम्परागत निर्वाहमुखी कृषि पेशाका साथै आधुनिक तथा व्यावसायिक कृषिमा समेत सक्रिय छन् । जिल्लामा उत्पादित फलफूल, तरकारी, खाद्यानबाली, नगदेबाली तथा बीउ जिल्लाबाहिर जाने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार तरकारी खेतीबाट जिल्लाभरिका ७ हजार ९ सय ७५ घरपरिवार लाभान्वित छन् ।
यस्तै कोटमौला, कोटबारा, दमाचौर, पीपलनेटा, मार्के, सेजवालटाकुरा, कजेरीका करीब एक हजार किसान व्यावसायिक सुन्तला खेती गर्छन् । शारदा नदीको छेउछाउमा किसानहरूले एक हजार दुई सय प्लास्टिक घर बनाई व्यावसायिक टमाटर खेती गरिरहेका छन् ।