News

‘एक प्रतिशत धनाढयसँग ८२ प्रतिशत सम्पत्ति’

January 23, 2018

कान्तिपुर राष्ट्रिय दैनिक, ०९ माघ २०७४

सन् २०१७ मा विश्वव्यापी रूपमा सिर्जना भएको कुल सम्पत्तिमा विश्वको आधा जनसंख्याको कुनै हिस्सेदारी छैन । संसारभरको कुल सम्पत्तिको ८२ प्रतिशत हिस्सा एक प्रतिशत धनाढयको स्वामित्वमा छ । 

बेलायतमा मुख्यालय रहेको ‘अक्सफाम इन्टरनेसनल’ ले सोमबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले उक्त खुलासा गरेको हो । अक्सफामले दाबोसमा मंगलबार सुरु हुने विश्व आर्थिक मञ्च (डब्लूईएफ) को शिखर सम्मेलनको एक दिनअघि आफ्नो सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको हो । सन् २०१७ मा अर्बपतिहरूको सम्पत्तिमा ७ सय ६२ अर्ब अमेरिकी डलरले थपिएको छ । यो विश्वका अति विपन्नहरूको सम्पत्तिको तुलनामा सात गुणा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका कार्यकारी निर्देशक विन्नी ब्यानिमाले यो वृद्धिलाई ‘अर्थ प्रणालीको असफलताको एउटा लक्षण भएको’ प्रतिक्रिया दिएकी छन् । ‘जसले हाम्रा लागि कपडा बनाउँछ, फोन निर्माण र हाम्रा लागि अनाज उत्पादन गर्छ, तिनीहरू सस्तो दरमा बजारमा सामान आपूर्ति गर्न बाध्य छन् तर कम्पनीहरू तथा अर्बपतिले बढी मुनाफा कमाइरहेका छन्,’ उनले भनिन् । ‘रिवार्ड वर्क, नट वेल्थ’ नाममा जारी प्रतिवेदनमा गत वर्ष इतिहासकै सबैभन्दा बढी व्यक्ति अर्बपति बनेको उल्लेख छ । क्रेडिट स्विसको ‘ग्लोबल वेल्थ डेटाबुक २०१७’ का अनुसार विश्वमा २ हजार ४३ जना डलर अर्बपति छन्, तीमध्ये ९० प्रतिशत पुरुष छन् । हरेक १० अर्बपतिमध्ये एकजना मात्रै महिला रहेको उक्त तथ्यांकमा उल्लेख छ । कर छली, श्रमिकहरूको अधिकार र स्वचालीकरणमा क्षयजस्ता कारण विश्वको आर्थिक असमानताका लागि जिम्मेवार रहेको अक्सफामले जनाएको छ । संस्थाले लैंगिक रूपमा तलबमा अन्तर समाप्त गर्दै ‘लिभिङ वेजेज’ को साटो न्यूनतम ज्यालामा ध्यान केन्द्रित गर्नुपर्ने सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

‘अघिल्लो वर्ष विश्वभर आर्जन गरिएको सम्पत्तिको ८२ प्रतिशत मात्रै एक प्रतिशत मानिससँग रहेको छ, अर्बपतिको सम्पत्तिमा वृद्धि भएको छ,’ रिपोर्टमा उल्लेख छ, ‘तर, ३ दशमलव ७ अर्ब मानिसको सम्पत्तिमा कुनै वृद्धि भएको छैन, जसमा गरिबको जनसंख्याको आधा हिस्सा छ ।’ विश्वका नेताहरूको जमघटअघि सार्वजनिक भएको अक्सफामको वार्षिक सर्वेक्षणलाई अत्यन्त चासोका साथ हेरिएको छ । विश्वको आर्थिक मञ्चको वार्षिक बैठकमा यसबारे चर्चा हुने निश्चित छ । आय र लैंगिक आधारमा बढदो असमानता विश्वभरका शीर्ष नेताहरूमाझ महत्त्वपूर्ण मुद्दा रहँदै आएको छ ।

अक्सफामले भनेको छ, ‘वर्तमान विश्वव्यवापी अर्थव्यस्थाले धनाढयलाई थप धनार्जन गर्न सक्षम बनाएको छ भने करोडांै मानिसको जीवन नरकतुल्य रहेको छ ।’ यो सर्वेक्षणमा १० मुलुकका ७० हजार मानिसलाई समावेश गरिएको थियो । अक्सफामले विश्वको आधा जनसंख्या बराबरको सम्पत्ति आठ जनासँग मात्रै रहेको जनाएको छ । संस्थाले उल्लेख गरेको आठ उद्योगपतिहरूमा अमेरिकी ६, स्पेन र मेक्सिकोका एकएकजना रहेका छन् । संस्थाका अनुसार यी आठ जनासँग जति सम्पत्ति छ, त्यो विश्वका ३ दशमलव ७ अर्ब गरिबको सम्पत्ति बराबर रहेको छ । अर्बपतिहरूमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग र अमेजनका संस्थापक जेफ बेजोस रहेका छन् । अक्सफामले विश्वमा धनी र गरिबबीचको फराकिलो अन्तर र मूलधारको राजनीतिमा देखिएको असन्तोषलाई समेत रेखांकित गरेको छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2018/01/23/20180123081327.html