News

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

December 21, 2017

नागरिक दैनिक,  ०६ पुष २०७४

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउनु पर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको  छ । 
आप्रवासी कामदारको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को नेतृत्वमा जोर्डन, कुवेत र लेबनानमा गरिएको अध्ययन अनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण एसियाली मुलुकका महिला ल्याएर घरेलु काममा लगाइन्छ । 

 

खाडी मुलुकमा लामो समयसम्म घरेलु कामदारको रूपमा महिलाले काम गर्दा रोजगारदाताले सामाजिक सुरक्षामा बेवास्ता गरेको तथा उनीहरूको सीप र कामको अनुभव प्रयोगविहीन भइरहेको औंल्याइएको छ । 

एक वर्षअघि तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनपछि श्रम तथा रोजगार मन्त्रालयले वैध तरिकाले खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारमा पठाउन रोक लगाएको थियो । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन रोक लागेपछि केहीले महिलाको रोजगारी अधिकार खोसिएको जिकिर गर्दै उक्त प्रतिबन्ध फुकुवा गर्न माग गरिरहेका छन् । 
खाडी मुलुकमा घरेलु कामदार महिला तथा अन्य श्रमिक पठाउने नेपाल, भारत, पाकिस्तान र श्रीलंकाका श्रम र कूटनीतिक निकायका सरकारी अधिकारीलाई भेला पारेर बिहीबार युएन वुमन, स्विस सहयोग नियोग (एसडिसी) र आइओएमले अयोजना गरेको बहुसरोकारवाला निकायसँगको परामर्श बैठकमा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको हो । 
प्रतिवेदनमा खाडी मुलुकमा रहेका घरेलु कामदार महिला शारीरिक, आर्थिक रूपमा शोषणमा परेको उल्लेख छ । घरेलु कामदार महिलाको न्यूनतम मानवअधिकार हनन भएकाले महिला पठाउने मुलुक गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । युको हामादा र मेरी जोसे तायाहद्वारा गरिएको उक्त अध्ययनमा नक्कली कम्पनी÷रोजगारदातामार्फत समेत महिलालाई घरेलु कामदारको रूपमा बोलाइने गरेको तथ्य फेला परेको छ । 
‘घरेलु कामदार राख्न सक्ने हैसियत नभएका परिवार÷रोजगारदाताले समेत धनी (अर्को) रोजगारदातामार्फत महिला बोलाउने गरेको पाइयो,’ जोसेले भनिन्, ‘गन्तव्य मुलुकका यस्ता रोजगारदाता÷परिवारले महिलालाई दैनिक १२ घन्टाभन्दा बढी काममा लगाउने र ओभरटाइम काम गरेबापत पारिश्रमिक दिने गरेका छैनन् ।’ 
घरेलु कामदारको रूपमा रहेका महिलाले साताभरि छुट्टि नलिएरै काम गर्ने गरेको समेत अध्ययनमा उल्लेख छ । जोर्डन, लेबनान र कुवेतमा गरिएको अध्ययन अनुसार फिलिपिन्सका घरेलु कामदार महिलाले स्थानीय भाषा जानेका कारण अवस्था त्यति खराब नभए पनि दक्षिण एसियाली महिलाले स्थानीय भाषा (अरेबिक) नजान्दा पीडित भएको प्रमाणसमेत जुटाउन सक्ने अवस्थामा छैनन् । दक्षिण एसियाली देशबाट खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला पीडित हुँदासमेत न्याय पाउनबाट वञ्चित हुनुमा कूटनीतिक नियोगमा प्रतिस्पर्धी कर्मचारीको अभाव रहेको अध्ययनको निष्कर्ष छ । 
खाडी मुलुकमा लामो समयसम्म घरेलु कामदारको रूपमा महिलाले काम गर्दा रोजगारदाताले सामाजिक सुरक्षामा बेवास्ता गरेको तथा उनीहरूको सीप र कामको अनुभव प्रयोगविहीन भइरहेको औंल्याइएको छ । वैध र अवैध तरिकाले खाडी मुलुकमा घरेलु कामदारको रूपमा महिलालाई पठाइने गरिएकाले दक्षिण एसियाबाट कति महिला पुगेका छन् भन्ने यकिन तथ्यांक भेट्न गाह्रो छ । तीन गन्तव्य मुलुक (जोर्डन, लेबनान र कुवेत) मा गरिएको अध्ययन अनुसार सबभन्दा बढी भारतका महिला घरेलु कामदारको रूपमा कार्यरत छन् । घरेलु कामदारको रूपमा गन्तव्य मुलुकमा जाने दक्षिण एसियाका महिलामध्ये दोस्रो नम्बरमा श्रीलंका र तेस्रोमा नेपालका छन् । 
कतिपय अधिकारीहरू भने नेपालबाट वैधभन्दा अवैध तरिकाले धेरै महिला घरेलु कामदारको रूपमा जाने गरेकाले तथ्यांक कम देखिएको हुन सक्ने बताउँछन् । खाडी मुलुकमा नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारीहरूले धेरैजसो महिला घरेलु कामदार निकै जोखिममा पर्ने गरेकाले खाडीमा महिलालाई घरको काम गर्न पठाउन नहुने सुझाव दिएका छन् । महिलालाई घरेलु कामदारको साटो खुला कम्पनीमा काम गर्न आवश्यक सीप सिकाएर पठाउन सकिने श्रम सहचारीहरूको भनाइ छ । 
नेपालमा हालसम्म करिब सात लाख महिलाले राहदानी लिएको र जसमध्ये साढे दुई लाखजति श्रम स्वीकृति लिएर र अध्ययनका लागि विभिन्न देश पुगेको पाइन्छ । राहदानी लिएका तर अवस्था एकिन हुन नसकेकामध्ये ठूलो संख्याका महिला दलालमार्फत खाडी मुलुकमा पुगेको हुन सक्ने कतिपय अधिकारी अनुमान गर्छन् । 

स्रोत: http://www.nagariknews.com/news/32883/