‘दुई कार्यकाल तुलना गरेर मत दिनुहोला’

November 02, 2022

उदयशमशेर राणा, ललितपुर–१, नेपाली कांग्रेस उम्मेदवार, अनलाइनखबर, कात्तिक १६, २०७९

२०७० सालमै सभासद भइसक्नुभएको तपाईं करिब एक दशकपछि फेरि जनप्रतिनिधि बन्न किन चाहनुभएको ?

मलाई ललितपुर–१ मा अझै सेवा गर्ने चाहना छ । यो क्षेत्रका मतदाताले मलाई उम्मेदवारीका लागि हौसला दिनुभयो । अनि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सहकर्मीहरूले मलाई अघि सार्नुभयो । र नेपाली कांग्रेसको नेतृत्वले पनि मलाई उपयुक्त देखेकाले मैले सेवा गर्न पाऊँ भनेर घरदैलो गरिरहेको छु ।

तपाईंका एजेण्डा के के छन् ?

ललितपुर–१ मा तीनवटा एजेण्डा छन् । बाटोको विकास पहिलो एजेण्डा हो, बाटो मात्रै बनेमा अरू धेरै पूर्वाधारको स्वतः विकास हुन्छ । २०७० सालमा यहाँ एक मात्रै एजेण्डा बाटो थियो, अहिले त्यो फेरिएर ‘राम्रो बाटो’ भएको छ । उनीहरूले पाँच वर्षमा बाटोको अवस्था खराब भयो भनेर ‘राम्रो बाटो’ चाहिन्छ भन्न थालेका छन् ।

खानेपानी अर्को एजेण्डा हो, यो समस्या धेरै हदसम्म समाधान भइसकेको छ । ललितपुर–१ मा व्यवसायबाटै रोजगारी सिर्जना गर्न सकिन्छ । यो कुनै पनि दलले घोषणा गरेको भरमा हुने होइन, बरु मिहिनेत गरेर सिर्जना गर्ने विषय हो ।

अर्थतन्त्रमा सुधार आएर व्यवसाय फस्टाएमा स्वतः रोजगारीको सिर्जना हुन्छ । यहाँ तरकारी खेती, फलफूल, चिया, कफीलगायतको सम्भावना छ । यी कृषि उपज उत्पादन विस्तार गरेपछि हामीलाई काठमाडौंको बजार सहज छ । यो क्षेत्रमा फाइदा देखेमा शहर गएको जनशक्ति गाउँ फर्किन्छ । रोजगारी आफैं सिर्जना हुन्छ ।

राष्ट्रिय एजेण्डा के छन् ?

लेले–चन्दनपुर सडक पछिल्लो पाँच वर्षमा भत्किएको छ, सुधार हुन सकेन । पाँच वर्षअघि यो सडक पार गर्न सवा एक घण्टा लाग्थ्यो भने अहिले साढे २ घण्टा लाग्छ । भएका बाटोको सुधारका काम भएनन् । कान्ति लोकपथको स्तरोन्नतिका लागि पनि यो अवधिमा काम भएन ।

कान्ति लोकपथले ललितपुरबाट हेटौंडा जोड्छ । ललितपुरको भाग विजोग छ, हेटौंडाको भाग राम्रो छ । मैले बाटो होइन, राम्रो बाटो निर्माणको पहल गर्छु भन्ने प्रतिबद्धता जनाएको छु । ललितपुरका शहर र नजिकको गाउँको सहायक सडक सुधारका लागि नीतिगत पहल गर्नेछु भन्ने प्रतिबद्धता जनाएको छु ।

तर तपाईं त कानुन निर्माता हुन खोजिरहनुभएको छ ?

म संविधानसभा सदस्य हुँदा विभिन्न उपसमितिमा रहेर नीतिनिर्माणका क्रममा भूमिका खेलेको थिएँ । म अर्थ समितिमा बसेको थिएँ, अब पनि त्यही समिति मेरो प्राथमिकता हुनेछ । सहकारी, बैंकिङ कानुन र सार्वजनिक खरिद कानुन निर्माणमा मेरो कुनै न कुनै योगदान छ । म प्रतिनिधिसभामा गएर चर्को र उट्पट्याङ कुरा गर्नुभन्दा पनि गम्भीर भएर जिम्मेवारी पूरा गर्नेछु ।

२०७० सालमा निर्वाचित हुँदा चाहिं के गर्नुभयो त ?

म त्यतिबेला एक्लै थिएँ, टिम थिएन । त्यतिबेला संविधानसभा सदस्यको हैसियतले संविधान लेखनमा पनि भूमिका थियो, सांसदको भूमिका छँदैथियो । स्थानीय तहमा जनप्रतिनिधि नभएकाले त्यो रिक्तता पनि आफैंले सम्बोधन गर्नुपथ्र्यो ।

वडा सदस्य समेत नभएकाले त्यो काम जिम्मेवारी पनि पूरा गर्नुपरेको थियो । म एक्लो भएकाले गर्न खोजेको कतिपय काम पनि गर्न सकिनँ । मपछिका जनप्रतिनिधिले यो अभाव व्यहोर्नुपरेन । टिम थियो, सबै पद्धति सेट भइसकेको थियो । तर यति हँुदाहँुदै पनि अघिल्लो कार्यकालमा नै ज्यादा काम भएको थियो ।

२०७० देखि २०७४ सालसम्म चार वर्षको अवधिमा कति काम भयो ? अनि २०७४ देखि २०७९ सालसम्म पाँच वर्षको अवधिमा कति काम भयो, हेरौं । मपछिका जनप्रतिनिधिले एक वर्ष बढी समय पाउनुभयो । त्यसैले ललितपुर–१ का जनताले यो काम हेरेर मूल्यांकन गरुन् ।

स्रोत: https://www.onlinekhabar.com/2022/11/1212282

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More