‘पहिले घृणा गर्नेहरु अहिले दुई हात जोड्न थाले’

February 22, 2018

नयाँ पत्रिका, फागुन १०, २०७४ 

‘पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरु आफैँ दुई हात जोडी नमस्कार गर्न थालेका छन्’, यो जीवनको यथार्थ र वास्तविक भोगाइ हो – पाल्पाको रामपुर नगरपालिका–५ का जय नेपालीको ।

आजभन्दा झण्डै दुई दशकअगाडि २०/२२ वर्षे ठिटो नेपालीले विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले बेझाड बजारको एक छेउमा बसेर सियो र धागोको सहाराले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउन सुरु गरे ।

त्यतिबेला उनीसँग धागो र एउटा सियो मात्र जुत्ता चप्पल सिलाउने साधन थियो । ‘एउटा हातमा सियो र धागो, अर्को हातले काखमा राखिएको जुत्ता चप्पल समाउँदै मैले सिलाउन थालेको देखेपछि सबैका लागि म त्यतिबेला हास्यपात्र बनेँ, व्यवसायलाई मेहनतका साथ अगाडि बढाउँदै जाँदा हेयका दृष्टिले हेर्नेहरु अहिले प्रशंसा गर्दै दुई हात जोडेर नमस्कार गर्न थालेका छन्,’ उनले भने ।

बजारको एक कुनाबाट शुरु गरेको सियो र धागोको काम अहिले सटरमा चलाउन पाउँदा निकै गौरव लागेको उनको भनाइ छ । ‘गल्लीमा बसेर अर्काका पुराना जुत्ता चप्पल सिलाएर बस्दा सबैले आलोचना गर्न थाले, मैले लाज नमानीकन इमान्दार भएर आफ्नो काम गर्दै गएँ, त्यसैको प्रतिफल अहिले मिलेको छ’, नेपालीले भावुक हुँदै भने ।

उनले जुत्ता चप्पल सिलाएर एक महिनामा ६० हजार बराबरको कमाई गर्न सफल भएका छन् । चाडपर्वका बेला दिनमै दश हजार रुपैयाँ सम्मको कमाई हुने उनी बताउँछन् ।’अर्काको जुत्ता चप्पल सिलाएर दुई दशक बिताएँ, काममा दुःख पनि छैन, बसी बसी विदेश जाने र सरकारी जागिरमा आबद्ध हुनेले भन्दा दोब्बर कमाई गरेको छु,’ उनले भने ।

ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याई छ । पुराना कामसँगसँगै अहिले आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेका छन्। नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।

मेहनत र परिश्रम गर्नेका लागि कुनै पनि काम ठूलो र सानो हुँदैन। मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको दोब्बर कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय पात्र बनेका छन्, जय नेपाली । ‘काम सानो या ठूलो होस्, इमान्दार भएर गरियो भने पैसा कमाउनका लागि समस्या छैन,’ उनी बताउँछन् ।

स्रोत: www.enayapatrika.com/2018/02/22/26264/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More