News

‘फोर्ब्स’को अर्बपति सूची : ५ स्थान उक्लिए चौधरी

March 08, 2018

 

रमा सुवेदी/अस्मिता ढकाल, आर्थिक अभियान, फागुन २४, २०७४ 

१ अर्ब ५० करोड डलर नेटवर्थ

काठमाडौं । चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरी अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सको यस वर्षको अर्बपतिहरूको सूचीमा ५ स्थान माथि उक्लिएका छन् । सूचीअनुसार चौधरीसँग १ अर्ब ५० करोड डलरबराबरको खुद सम्पत्ति छ । ६२ वर्षीय चौधरी विश्वका अर्बपतिमध्ये १ हजार ५ सय ६१औं धनी हुन् । १ अर्ब ३१ करोड डलरबराबरको खुद सम्पत्तिसहित गतवर्ष उनी सूचीको १ हजार ५ सय ६७औं धनी व्यक्ति बनेका थिए । चौधरीको नबिल बैङ्कमा बहुमत शेयर छ । यसबाहेक पनि उनीसँग खाद्यवस्तु, इलेक्ट्रोनिक्स, पेय पदार्थ, होटललगायत व्यवसायमा लगानी छ ।

गेट्सलाई उछिन्दै बेजोस सर्वाधिक धनाढ्य
सूचीअनुसार अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेजोससँग १ खर्ब १२ अर्ब डलरबराबरको खुद सम्पत्ति छ । फोब्र्सको सूचीमा खर्बपतिका रूपमा दरिने बेजोस पहिलो व्यक्ति हुन् । गत वर्षको तुलनामा यस वर्ष उनको नेटवर्थ ३९ अर्ब २० करोड डलर बढेको छ ।

यो फोर्ब्स अर्बपतिको सूचीमा एकै वर्षमा एउटै व्यक्तिको सम्पत्तिमा भएको अहिलेसम्मकै अत्यधिक वृद्धि हो । सूचीको दोस्रो स्थानमा माइक्रोसफ्ट कर्पोरेशनका सहसंस्थापक बिल गेट्स छन् । गेट्सको सम्पत्ति गतवर्षको तुलनामा १ अर्ब डलरले बढेर ९० अर्ब डलर पुगेको छ ।

यसपटक दोस्रो स्थानमा झरे पनि गेट्स यसअघि लगातार २४ पटक सूचीको शीर्ष स्थानमा थिए । ८४ अर्ब डलरसहित अमेरिकी लगानीकर्ता वारेन बफेट विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । शीर्ष पाँचमा अमेरिकी वचस्र्वलाई तोड्दै फ्रान्सेली बहुराष्ट्रिय लक्जरी सामग्री निर्माता कम्पनी लुइस भिटोँ एसईका सीईओ बर्नार्ड आर्नल्ट विश्वकै चौथो धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति ७२ अर्ब डलर छ । विश्वव्यापी सूचीमा चौथो स्थानमा रहे पनि आर्नल्ट सन् २०१२ पछिकै यूरोपकै सर्वाधिक धनी भएका छन् । फेसबूक इङ्कका संस्थापक मार्क जुकरवर्ग ७१ अर्ब डलर सम्पत्तिसहित सूचीको पाँचौं स्थानमा छन् ।

यस वर्ष सूचीमा २ हजार २ सय ८ जना अर्बपतिले प्रवेश पाएका छन् । ती अर्बपतिको संयुक्त सम्पत्ति गतवर्षको तुलनामा १८ प्रतिशत बढेर ९ हजार १ सय अर्ब डलर पुगेको छ । विश्वका २० जना धनाढ्यको संयुक्त सम्पत्ति १ हजार २ सय अर्ब डलर रहेको छ । यो मेक्सिकोको वार्षिक आर्थिक उत्पादनबराबर हो । मुख्यभूमि चीनका दुई जना प्राविधिक उद्यमी पहिलोपटक सूचीको शीर्ष २० स्थानमा आउन सफल भएका छन् । चिनियाँ बहुराष्ट्रिय इन्भेष्टमेण्ट होल्डिङ कम्पनी टेन्सेण्टका संस्थापक, अध्यक्ष तथा सीईओ र एशियाकै धनी मा हुआटेङ्क विश्वका १७औं धनी व्यक्ति बनेका छन् । त्यस्तै, चिनियाँ ई–कमर्श अलिबाबाका प्रमुख ज्याक मा २०औं धनी बनेका छन् ।

यो वर्ष फोब्र्सको सूचीमा २ सय ५९ जना नयाँ धनाढ्यहरूले प्रवेश पाएका छन् भने चीनबाट सबैभन्दा धेरै अर्थात् ८९ जना नयाँ धनीहरूले सूचीमा आफ्नो स्थान बनाएका छन् । अमेरिकाका ५ सय ८५ जना र चीनका ३ सय ७६ जना अर्बपति सूचीमा समावेश गरिएका छन् ।

यो वर्षको सूचीमा पहिलोपटक हङ्गेरी र जिम्बाबेका अर्बपति समावेश गरिएका छन् । त्यस्तै, साउदी अरबमा राजकुमारलगायत केही धनाढ्य जेल सजायमा परेका कारण फोब्र्सले सूचीमा त्यहाँका कुनै पनि प्रतिनिधि समावेश गरेन । यो वर्ष अधिकांश अर्बपतिले आफ्नो सम्पत्ति थपे पनि १६ प्रतिशत धनाढ्यको सम्पत्ति घटेको पाइएको छ ।

ट्रम्प २ सय स्थान झरे 
फोब्र्सको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ सयभन्दा धेरै तल आएका छन् । गतवर्ष सूचीको ५ सय ४४औं स्थानमा रहेका ट्रम्प यो वर्ष चिप्लिएर ७ सय ६६औं स्थानमा आएका छन् । उनको सम्पत्ति गत वर्षको तुलनामा ४० करोड डलर घटेर ३ अर्ब १० करोड डलरमा आएको अनुमान गरिएको छ । उनको रिटेल सम्पत्तिको मूल्य घटेका कारण सम्पत्तिमा कमी आएको विश्लेषण गरिएको छ ।

भारतीय अर्बपतिकोे सङ्ख्या बढ्यो
यो वर्ष सूचीमा भारतीय प्रतिनिधिको सङ्ख्या बढेको छ । गतवर्ष १ सय २ जना भारतीय अर्बपति सूचीमा रहेकोमा यो वर्ष १ सय २१ ज्ना पुगेको छ । यससँगै अमेरिका र चीनपछि सबैभन्दा धेरै अर्बपति हुने तेस्रो राष्ट्र बनेको छ भारत । ४० अर्ब १० करोड डलर नेटवर्थसहित भारतीय व्यवसायी मुकेश अम्बानी सर्वाधिक धनी भारतीय बनेका छन् । विश्वको धनाढ्य सूचीमा उनी १९औं स्थानमा रहेका छन् । गतवर्ष भने उनी ३३ औं स्थानमा थिए । यो वर्ष उनको सम्पत्ति गतवर्षको तुलनामा १६ अर्ब ९० करोड डलर बढेको छ । विप्रोका लिमिटेडका मालिक अजिम प्रेमजी दोस्रो धनी भारतीय हुन् ।

विश्व धनाढ्य सूचीमा उनी ५८औं स्थानमा छन् । गतवर्ष प्रेमजी ७२औं अर्बपति थिए । गतवर्ष ५६औं धनाढ्य बनेका भारतका तेस्रो धनी व्यक्ति स्टील व्यवसायी लक्ष्मी मित्तल यो वर्ष भने ६२औं स्थानमा ओर्लिएका छन् । त्यस्तै, भारतीय स्टील कम्पनी जिन्दाल स्टीलकी अध्यक्ष सावित्री जिन्दाल भारतकै धनी महिला बनेकी छन् भने विश्व धनाढ्यको सूचीमा उनी १ सय ७६औं स्थानमा छन् ।

स्रोत: www.abhiyan.com.np/2018/03/08/186151