‘सेतो हात्ती’ बन्न सक्छ पोखरा विमानस्थल

August 15, 2022

दीपक परियार, कान्तिपुर, श्रावण ३०, २०७९

‘बिजनेस प्लान’ बिनै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति तय गर्दा घोषणा कार्यान्वयनमा संशय

पोखरा — नागरिक उड्डयन प्राधिकरण (क्यान) को निर्णयलाई आधार मान्ने हो भने आगामी पुस १७ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने छ । निश्चित ‘बिजनेस प्लान’ बिनै आएको सरकारी घोषणाले पोखरामा भने उल्लासभन्दा बढी संशय पैदा गरेको छ ।

सन् २०१७ जुलाई ११ मा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजना सन् २०२१ जुलाई १० मा सकिनुपर्ने हो । कोरोना महामारीका कारण एक वर्ष म्याद थपियो । तैपनि काम नसकिएपछि आगामी डिसेम्बरसम्म म्याद लम्ब्याइएको छ । हाल ९८ प्रतिशत काम सकिएको भनिएको विमानस्थल पुस १७ (जनवरी १) बाट सञ्चालन आउने भनिए पनि तोकिएको मितिमै अन्तर्राष्ट्रिय उडान हुनेमा पोखराकै सरोकारवाला विश्वस्त छैनन् । विश्वस्त हुन नसकिने पहिलो कारणमा पर्छ, पोखराको ल्यान्डफिल साइट व्यवस्थापन । अर्को हो, रिट्ठेपानी डाँडा कटान ।

ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थल बनाइसक्दा नेपालतर्फबाट हुनुपर्ने काममा ढिलाइ भएको छ । त्यसबाहेक सरकारले विमानस्थल सञ्चालनको खाका नै तयार गरेको छैन । न एयर रुटको टुंगो लागेको छ, न कुन–कुन देशका कुन–कुन कम्पनीले पोखरामा उडान भर्छन् भन्ने निश्चित नै भएको छ ।

विमानस्थल बन्न सुरु भएको पाँच वर्ष भइसक्दा नसरेको ल्यान्डफिल साइट अबको पाँच महिनामा सर्ला भन्ने विश्वास पोखरावासीले गरेका छैनन् । विमानस्थल निर्माणकै क्रममा काट्नुपर्ने डाँडामा हालसम्म रूख मात्रै काटिएको देखेर पनि प्राधिकरणले अबको पाँच महिनामा सञ्चालन कार्ययोजना टुंगो भन्नेमा सरोकारवालाले आशंका व्यक्त गरेका हुन् । सरकारी निकायले काम गरिरहेको देखाउन मात्रै सञ्चालनको मिति घोषणा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । ‘बिजनेस प्लान नभईकन मिति घोषणा हुनु भनेको काम गरेको भान पार्न खोज्नु मात्र हो,’ उनी भन्छन्, ‘त्यतिबेलासम्म रिट्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट व्यवस्थापन नै भएछ भने पनि यहाँबाट कहाँ जहाज जाने हो, कहाँकहाँबाट यहाँ आउने हो, कति व्यापार गर्ने हो, सरकारले भन्न सकेको छैन ।’

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पोखराको विमानस्थल सानो हो । गौतम बुद्धको रन वेको लम्बाइ ३ हजार मिटर छ, जब कि पोखराको २ हजार ५ सय मिटर मात्रै हो । यहाँ १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज मात्रै आउजाउ गर्न सक्छन् । सानो जहाज चलाउँदा लागत बढी पर्ने भएकाले पोखराबाट उड्दा यात्रुलाई भैरहवाभन्दा महँगो हुने सम्भावना छ ।

लुम्बिनी क्षेत्रलाई लक्ष्य गरी बनाइएको गौतम बुद्ध विमानस्थलले उल्लेखनीय प्रगति हासिल गर्न सकेको छैन । वैदेशिक रोजगारीमा गएका कामदार काठमाडौंबाट उड्नु र ओर्लनुको सट्टा लुम्बिनीबाट उड्ने र ओर्लने मात्रै भएको छ । त्यहाँ उडान र अवतरण शुल्कमा जहाज कम्पनीलाई सहुलियत दिइएकाले टिकट सस्तो परेको छ । तर त्यस्तो सहुलियत दिगो नहुने भएकाले त्यसपछिको अवस्थालाई हेरेर मूल्यांकन गर्नुपर्ने मुल्मी बताउँछन् ।

अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय पर्यटक सिधै पोखरा आउने सम्भावना मुल्मी खासै देख्दैनन् । तथ्यांक केलाउने हो भने कोभिड महामारीअघि १५ करोड चिनियाँ पर्यटक विश्वभर घुमे । तर नेपालको भागमा जम्मा साढे दुई लाख हाराहारी मात्रै परे । कुनै देशमा पर्यटक भित्रिन वरिपरिका मुलुकको भूमिका हुन्छ । सन् २०२० मा चीनमा झन्डै ८ करोड पर्यटक पुगे । त्यहाँ पुग्नेमा धेरैजसो दक्षिण पूर्वी एसियाकै पर्यटक थिए ।

पर्यटक आकर्षित गर्न छिमेकी मुलुकको कुन सहरलाई केन्द्रित गर्ने भन्ने यकिन नगर्दासम्म पर्यटक आउने सम्भावना मुल्मी देख्दैनन् । ‘साताको एकाध उडान वा महिनामा ८–१० उडानले यो विमानस्थल धानिँदैन । यो विमानस्थलको लागत नै बढी छ,’ उनी थप्छन्, ‘सञ्चालनमा आएपछि एक्जिम बैंकलाई झन्डै एक दिनमा १० लाख रुपैयाँ ब्याज मात्रै बुझाउनुपर्छ । आक्रामक ढंगले पर्यटक ल्याउन सकेनौं भने सेतो हात्ती हुने खतरा छ ।’ २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण भइरहेको छ । उक्त रकममध्ये ७५ प्रतिशत चीनको एक्जिम बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निर्ब्याजी ऋण हो । सञ्चालनमा आएको ७ वर्षपछि ऋण तिर्न सुरु गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तीन हजार मिटर रन वे नहुँदासम्म विमानस्थलले ‘बिजनेस प्लान’ नै बनाउन नसक्ने र ठूला क्षमताका जहाज नचलाउँदासम्म आर्थिक रूपमा समेत दिगो नहुने मुल्मी बताउँछन् ।

पाँच वर्षमा विमानस्थल बन्न आवश्यक सबै जानकारी प्राधिकरणसँग थियो तर डाँडाकटानको निर्णय अन्तिम समयमा राखियो । योजनाबद्ध रूपमा काम नहुनुको यो एउटा उदाहरण हो । विमानस्थल बनेपछि फ्युल स्टेसन चाहिन्छ भन्ने प्राधिकरणलाई थाहा थियो तर अहिलेसम्म बन्न सकेको छैन । ‘यसले के देखिन्छ भने प्राधिकरणले एकदेखि डेढ वर्षको पनि योजना बनाउन सक्दैन,’ मुल्मी भन्छन्, ‘बिजनेस प्लान पनि त्यति सजिलै बन्दैन । पहल लिने कुरामा नेपाल सरकार र यहाँको कर्मचारीतन्त्र कमजोर छ ।’ मुल्मीको तर्कसँग सहमत छन्, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई । पुस १७ मा अन्तर्राष्ट्रिय उडान सुरु हुनेमा उनी विश्वस्त छैनन् । विमानस्थलले गर्ने व्यापारको योजना बनाउन सरकार संवेदनशील नभएको उनको ठम्याइ छ । ‘अन्तर्राष्ट्रिय उडान हुँदा कार्गो पनि चल्नुपर्छ,’ उनी भन्छन्, ‘तर यहाँ कार्गोका लागि भित्रिने र बाहिरिने छुट्टै संरचना छैन ।’ पहिलो उडान अन्तर्राष्ट्रिय नभई आन्तरिक मात्रै गरिए त्यसले विमानस्थलकै प्रतिष्ठामा आँच पुग्ने उनको भनाइ छ । पोखरा–१४ को बाच्छेवुडुवास्थित ल्यान्डफिल साइट विमानस्थलबाट ४ किलोमिटर दूरीमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार ल्यान्डफिल साइट विमानस्थलभन्दा १३ किमि पर हुनुपर्छ । दिनमा झन्डै २ सय टन फोहोर विसर्जन हुने ल्यान्डफिल साइट विमानस्थल सञ्चालनपूर्व सार्नुपर्छ । पन्छीविद्का अनुसार चरालाई अन्तै बानी पार्न ६ महिनादेखि एक वर्ष लाग्छ । पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार ल्यान्डफिल साइटमा आहाराको खोजीमा बस्ने चरा छँदै छन्, विमानस्थलकै वरिपरि गुँड बनाएर बसेका लोपोन्मुख गिद्धसमेत छन् । ‘ल्यान्डफिल साइट सारेर भोलि चराको बासस्थान परिवर्तन हुँदैन,’ उनले भने, ‘तर यो कुरा किन नबुझिएको हो ?’

पोखरा महानगरले पहिला भलाम र पछि भरतपोखरीमा ल्यान्डफिल साइट सार्ने भने पनि दुवै वडाका बासिन्दाको विरोधपछि ठाउँको टुंगो लागेको छैन । फोहोर व्यवस्थापन प्रणालीबारे बुझ्न महानगरको एक टोली धरान पुगेर फर्किएको छ भने अर्को टोली दिल्ली जाने तयारीमा छ ।विमानस्थलमा उडान र अवतरणमा अवरोधका रूपमा देखिएको पूर्वपट्टिको रिट्ठेपानी डाँडा कटानका लागि ५ वर्षमा बल्ल रूख काटिएको छ । जब कि निर्माणकै बेला उक्त डाँडा ४० मिटर काट्नुपर्छ भन्ने प्राधिकरणलाई थाहा थियो । अक्टोबरमा हुने भनिएको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडानका लागि १४ मिटर काटेर काम चलाइने भएको छ । डाँडा कटानका लागि खरिद प्रक्रिया अघि बढेको छैन । त्यसमा जान नयाँ ठेक्का लगाउने वा विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीलाई दिने भन्नेमा टुंगो नलागेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् । ल्यान्डफिल साइट सार्नुजत्तिको चुनौतीपूर्ण भने डाँडा कटानमा छैन । प्राधिकरणले खरिद प्रक्रियाको टुंगो लगाएको एक–दुई महिनामै डाँडा कटानको काम सकिन्छ ।

यो विमानस्थल नेपालमा भएका भन्दा फरक प्रकारको छ । नेपालमै पहिलोपल्ट विमानस्थलमा प्यासेन्जर बोर्डिङ ब्रिज राखिएको छ । प्यासेन्जर टर्मिनलबाट यात्रु सिधै जहाजमा पुग्न सक्छन् भने जहाजबाट सिधै टर्मिनल बिल्डिङमा फर्कन सक्छन् । सिमेन्ट ढलान गरिएको रनवे छ, जुन खर्चिलो भए पनि टिकाउ हुन्छ । यस विमानस्थलमा निगरानी प्रणाली वाइड एरिया मल्टिल्याटरेसन (वाम) प्रविधिको हुन्छ । ‘पोखरा उपत्यकाका वरिपरिका डाँडामा डिभाइस राखिएको छ,’ मुनकर्मीले भने, ‘त्यसैको सहयोगमा सर्भिलेन्स सिस्टम (निगरानी प्रणाली) सञ्चालन हुन्छ । अहिले विश्वव्यापी रूपमा यो प्रविधि प्रयोगमा छ ।’

‘आधार भएकैले मिति घोषणा’

जीवनराम श्रेष्ठ, पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तोकिएकै मितिमा विमानस्थल सञ्चालन गर्ने आधार रहेको बताउँछन् । विमानस्थल अवलोकनका लागि गत साता पोखरा आएका उनले रिट्ठेपानी डाँडा कटानलाई तत्काल अघि बढाउने निर्णय भएको र ल्यान्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिबद्धता जनाएको बताए । ‘डाँडा कटानका लािग यथाशीघ्र प्रक्रिया अगाडि बढाउने निर्णय भइसकेको छ, रूख कटान पनि भइसकेको छ,’ उनले भने, ‘महानगर प्रमुखले एयरपोर्ट सञ्चालनका लागि समयमा नै फोहोरमैला व्यवस्थापनको कामलाई अगाडि बढाउने प्रतिबद्धता गर्नुभएको छ । त्यसमा महानगरवासीले साथ र समर्थन गर्नुपर्ने आवश्यकता छ ।’

मन्त्री श्रेष्ठले क्यालिब्रेसन फ्लाइट गरेको निश्चित महिनापछि मात्रै व्यावसायिक उडान सुरु गर्नुपर्ने भएकाले सञ्चालनको मिति तय गरिएको बताए । अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग समन्वय गर्ने काम सँगसँगै अघि बढ्ने उनले उल्लेख गरे । ‘सञ्चालन सुनिश्चित नगरिकन एकैपल्ट अरू एयरलाइन्ससँग कुराकानी हुने भएन । उनीहरूले पनि इच्छा व्यक्त गर्ने कुरा रहँदैन । क्रमैसँग अब इच्छुक एयरलाइन्सले कुरा अगाडि बढाउँछन् ।’ ल्यान्डफिल साइटका कारण विमानस्थलमा हुने चराको जोखिमलाई प्रविधिको प्रयोगबाट कम गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल वरपर आउने चरालाई बन्दुक पड्काएर, टल्किने तार (रिफ्लेक्टर) राखेर, ग्यासको प्रयोग गरेर धपाउने गरिन्छ ।

स्रोत: https://ekantipur.com/business/2022/08/15/16605251436112223.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter