‘सेमेस्टरले नतिजा सुध्रियो’

February 27, 2018

कान्तिपुर समाचारदाता, कान्तिपुर दैनिक, १५ फागुन २०७४

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षाशास्त्र संकायको स्नातकोत्तर तह (एमएड) मा सेमेस्टर प्रणाली सुरु गरेपछि परीक्षाको नतिजामा पनि सुधार भएको छ । त्रिविले दुई वर्षअघि कीर्तिपुरको केन्द्रीय क्याम्पस र गत वर्ष उपत्यकाका क्याम्पसहरूमा एमएडमा सेमेस्टर प्रणाली सुरु गरेको थियो ।

यो वर्षदेखि एमएडमा देशभर सेमेस्टर प्रणाली सुरु भएको छ । ‘निकै बाधा व्यवधानहरूबीच त्रिविले एमएडमा सेमेस्टर प्रणाली सुरु गरेको हो । विरोध पनि भयो । तर अनुभवले के देखायो भन्दा सेमेस्टर प्रणालीले नतिजा सुधार्न मद्दत गरेको छ,’ सोमबार भरतपुरमा आयोजित कार्यक्रममा त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले भने ।

 

डिनको कार्यालयले सेमेस्टर प्रणालीसम्बन्धी भरतपुरमा दुईदिने गोष्ठी आयोजना गरेको छ । ‘केन्द्रीय क्याम्पसकै कुरा गर्नुहुन्छ भने २५/३० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली लागू भएपछि परीक्षा दिनेमध्ये ८० प्रतिशत उत्तीर्ण भएका छन्,’ उनले जानकारी दिए ।

 

८० प्रतिशतभन्दा कम हाजिर भए विद्यार्थीले परीक्षा दिन पाउँदैन । प्राय: कक्षामा आउने भएपछि नतिजामा सुधार भएको डिन गौतमको अनुभव छ । सेमेस्टर प्रणालीले विद्यार्थी भर्ना हुने दर भने घटेको उनले बताए । उनको अनुभवमा सेमेस्टर प्रणालीले गर्दा लगभग आधा विद्यार्थी कम भएका छन् ।

 

भर्ना हुने तर पढ्न नजाने परीक्षा दिन मात्रै जाने चलन सेमेस्टर प्रणालीपछि हटेको उनले बताए । विद्यार्थी कम भए पनि सेमेस्टर प्रणाली गुणस्तरीय शिक्षाका लागि अपरिहार्य भएको त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले बताए । ‘अहिले त्रिविमा ४ लाख विद्यार्थी छन् । विश्वका राम्रा विश्व विद्यालयमा १ लाख पनि विद्यार्थी हुँदैनन् । त्यसैले हामीलाई संख्या धेरै चाहिएको हैन पढ्ने विद्यार्थी चाहिएको हो । यसका लागिसेमेस्टर प्रणाली उत्तम छ,’उनले भने ।

 

सेमेस्टर प्रणालीले शिक्षक विद्यार्थी भेटघाटै नहुने अवस्था अन्त्य भएर जाने उनले बताए । ‘सेमेस्टर प्रणाली भनेको पढ्ने विद्यार्थी र पढाउने प्रध्यापक फुलटाइम लाग्नुपर्छ । भर्ना भयो नपढ्ने, क्याम्पसमा जागिरखायो नपढाउने भन्ने हुँदैन । जब शिक्षक र विद्यार्थीको नियमित अन्तक्र्रिया हुन्छ, शिक्षा गुणस्तरीय बन्छ,’ खनियाले भने ।

 

त्रिवि आफ्नैका २० आंगिक र सम्बन्धन लिएका ९३ क्याम्पसमा अहिले एमएडको पढाइ हुने गर्छ । स्नातक तह पनि पढाउने कलेजहरू ८ सय हाराहारीमा छन् । एमएडमा सुरु भएको सेमेस्टर प्रणाली बीएडमा पनि सुरु हुने उपकुलपति खनियाले बताए । ‘तलबाट सुरु गरेर माथि जानुपर्ने हो तर माथिबाटै सुरुभयो । यो अनुभवले अब हामी बीएडमा पनि सेमेस्टर लागु गर्छौ,’ उनले भने ।

 

सेमेस्टरमा जान नचाहने विद्यार्थी खुला विश्वविद्यालयमा जान सक्ने विकल्प रहेको उनले बताए । शिक्षाशास्त्र पढाइ हुने भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष टेकबहादुर थापाले झारा टराईको पढाइ हुनेगरेको हुँदा सेमेस्टर प्रणालीले यसलाई सुधार गर्ने आशा राखे । उनले भने, ‘भर्ना भएपछि एकैपटक वर्ष दिनमा परीक्षा दिन आउने परिपाटी छ । त्यो अन्त्य होला ।’

स्रोत: https://www.kantipurdaily.com/pradesh-3/2018/02/27/20180227085014.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More