‘हाई इन्ड टुरिस्ट’ मा जोड

January 03, 2018

कान्तिपुर राष्ट्रिय दैनिक, १९ पुष २०७४

नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने जिम्मेवारी पाएको पर्यटन बोर्डले अब दिन हाई इन्ड (धेरै खर्च गर्ने) पर्यटक भित्र्याउने रणनीति अपनाउने भएको छ । 

बोर्डको १९ औं वर्षगाँठका अवसरमा बोर्डका प्रमुख अधिकृत दीपकराज जोशीले अबका दिन बोर्डले लक्जरी फोकस मार्केटमा नेपालको प्रचारप्रसार गर्ने बताए । ‘अहिलेसम्म नेपालमा आउने पर्यटकलाई कतिपय पर्यटन व्यवसायीहरूले ‘झोले’ लगायतका शब्दले व्याख्या गर्ने गरेका छन् । ती पनि पर्यटक नै हुन्,’ जोशीले भने, ‘तर, अबका दिन पर्यटन बोर्ड धेरै खर्च गर्ने हाई इन्ड पर्यटक लक्षित बजारमा जान्छ ।’ अहिले नेपाल घुम्न आउने तेस्रो मुलुकका पर्यटकहरूले औसत २५ सयदेखि ३ हजार डलर खर्च गर्ने गरेको अनुमान छ ।

नेपाल घुम्न हाई इन्ड पर्यटक आउने क्रम बढे यिनले गर्ने खर्च अहिले आइरहेका पर्यटकहरूको दाँजोमा बढी हुनेछ । बोर्डले हरेक वर्ष पर्यटनसम्बन्धी मेला, बजार, सम्मेलनमा नेपाली व्यवसायीहरूलाई सहभागी गराउँदै आएको छ । यस्ता बजारमा व्यवसायीहरू नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा त्यहाँका व्यवसायीहरूसँग साझेदारी गर्ने गरेका छन् ।

गत वर्ष बोर्ड ३६ वटा मेला, सम्मेलनमा सहभागी भएको थियो । जोशीले अबका दिन पर्यटनकास्रोत बजार छनोट गरेर मात्रै सहभागिता जनाउने बताए । ‘अब हामी सबै बजारमा जाँदैनौं, उच्च क्रयशक्ति भएका पर्यटक लक्षित मार्केटको खोजी गर्नेछौं,’ उनले भने । बोर्डले हाई इन्ड पर्यटक लक्षित रणनीति अपनाउने बताउँदै व्यवसायीहरूलाई ‘प्राइस–वार होइन ‘सर्भिस–वार’ गर्न अनुरोध गरेको छ । ‘विगत तीन वर्षयता व्यवसायीहरूले प्राइस वार गरेका कारण एक व्यवसायी सफल हुने ५ व्यवसायी मर्ने स्थिति देखियो,’ उनले भने ।

उनको भनाइलाई पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले पनि समर्थन गर्दै समारोहमा अन्य व्यवसायीहरूलाई प्राइस वारका कारण पर्यटन बजारमा नेपालको छविमा नकारात्मक असरपरेको सुनाइन् ।

यसैबीच पर्यटन बोर्डले सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यले नेपाली खाना र संस्कृतिलाई आधार मानिएको ‘एक्सपिरियन्स नेपाल’ अभियानको घोषणा गरेको छ ।

नेपाली स्वाद, परिकार र व्यञ्जनलाई विश्व बजारमा पुर्‍याउने उद्देश्य राखिएको यो अभियान दुई वर्षसम्म सञ्चालन गरिनेछ । यसअघि बोर्डले नेपालको प्रकृतिलाई पर्यटन बजारमा प्रचारप्रसार गर्दै आएको थियो ।

स्रोत: https://www.kantipurdaily.com/business/2018/01/02/20180102075111.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More