News

‘४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन’

August 28, 2020

गोविन्द पोखरेल, कान्तिपुर, भाद्र १२, २०२० 

विज्ञ भन्छन्– ‘सेनिटाइजर नै चाहिँदैन, साबुनपानीले मिचीमिची हात धोए हुन्छ ।’

काठमाडौँ — बजारमा पाइने विभिन्न ब्रान्ड र लेबल नै नभएका सेनिटाइजरमध्ये ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा यस्तो नतिजा देखिएको हो ।

फाइल फोटो : रोयटर्स

‘बजारमा आएका सेनिटाइजरले निश्चित समयभित्र रोगकारक कीटाणु (ब्याक्टेरिया) मार्न वा तिनको वृद्धि रोक्न सक्छ/सक्दैन भनेर जाँच गरेका थियौं,’ नास्टकी वैज्ञानिक डा. टिस्टा प्रसाईं जोशीले भनिन्, ‘संकलित नमुनामध्ये ५५ प्रतिशत मात्रै प्रभावकारी देखिए ।’

बजारबाट सेनिटाइजरका २१ फरक नमुना लिएर नास्टले 'माइक्रोबियल एक्टिभीटी'को परीक्षण गरेको थियो । जसमा नेपालसहित भारत र चीनको उत्पादन पनि समावेश थियो । निम, घिउकुमारी र लसुनलगायत मिसाएर बनाइएको सेनिटाइजरको पनि जाँच गरिएको जोशीले बताइन् । त्यस्ता सेनिटाइजर प्रभावकारी देखिए पनि गन्हाउने तथा लामो समयसम्म हातमै रहिरहने समस्या देखिएको छ । ‘हर्बल प्रोडक्ट प्रभावकारी देखिए पनि ‘मास प्रोडक्सन’ गर्दा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘यसमा उत्पादकहरूले फिजिबिलिटी अध्ययनमा ध्यान दिनुपर्छ ।’ अल्कोहलको मात्रा बढी भएको सेनिटाइजर प्रभावकारी हुने उनले बताइन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार घरेलु मदिराको प्रयोग गरेर नास्टले आफैं पनि सेनिटाइजर तयार पारेको छ । बजारमा पाइएका नमुनासँगै परीक्षण गर्दा त्यसको प्रभावकारिता राम्रो पाइएको नास्टको भनाइ छ । ‘रोगका कारक सूक्ष्मजीव हटाउन वा मार्न सेनिटाइजर नै नभई नहुने भन्ने होइन । साबुनपानीले मिचीमिची हात धोए पनि हुन्छ,’ उनले भनिन्, ‘जहाँ पानी पाइँदैन त्यहाँ सेनिटाइजर विकल्प हो । तर त्यसको गुणस्तरबारे जानकार हुनैपर्छ ।’

औषधि व्यवस्था विभागले हाल ४० वटा स्वदेशी उद्योगलाई सेनिटाइजर उत्पादन गर्न अनुमति दिएको छ । विभागले स्वदेशमा उत्पादित सेनिटाइजरको गुणस्तरबारे बुझ्न उद्योगहरूमा अनुगमन पनि गरेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । तर कोरोना महाव्याधिसँगै भारतलगायत विभिन्न मुलुकबाट आयातित सेनिटाइजरले स्वदेशी उत्पादनभन्दा धेरै बजार लिएका छन् । तिनको गुणस्तरका सवालमा भने विभाग मौन छ ।

गत वैशाखयता मापदण्ड पूरा नगरी सेनिटाइजर उत्पादन र बिक्री गर्ने तीनवटा उद्योगलाई विभागले कारबाही गरेको छ । सूचना अधिकारी केसीका अनुसार वीरगन्ज र उपत्यकाका दुईवटा उद्योग कारबाहीमा परेका हुन् । केही व्यवसायीले मिथानोल हालेर सेनिटाइजर बनाएको पाइएपछि विभागले कारबाही गरेको थियो । त्यसपछि विभागले अनुगमन गरेको छैन ।

के छ मापदण्ड ?

प्रायः एक सय एमएलको सेनिटाइजरमा ८० एमएल इथानोल र बाँकी २० एमएलमा पानी, हाइड्रोजन पेरोक्साइड र ग्लिसिरोल हुन्छ । हाड्रोजन पेरोक्साइड सेनिटाइजरमा ब्याक्टेरियाको कन्टामिनेसन नहोस् भनेर प्रयोग गरिन्छ भने ग्लिसिरोलले मोस्चराइजरका रूपमा काम गर्छ । यी कम्पाउन्डको प्रयोगलाई अनिवार्य गरिएको छ ।

सेनिटाइजर तयार गरेपछि उद्योगले पुनः यसको गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने मापदण्डमा छ । यसमा उपयुक्त लेबल र ढुवानी गर्दार्का मापदण्डलाई पनि अनिवार्य गरिएको छ । सेनिटाइजरमा कुनै पनि किसिमका हानिकारक तथा सूक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने नियम छ ।

अब स्वदेशमै उत्पादित सेनिटाइजरले नै माग पूरा गर्ने नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री बताउँछन् । ‘नेपाली उद्योगहरूले गुणस्तर मेन्टेन गर्ने हो भने अब बाहिरबाट आयात गर्नुपर्ने अवस्था होइन,’ उनले भने, ‘सेनिटाइजर उत्पादनका लागि चाहिने कच्चा पदार्थ पनि स्वदेशमै पुग्ने अवस्था भइसकेको छ ।’

मास्क र ग्लोब्सको छैन अनुगमन

सेनिटाइजरबारे औषधि व्यवस्था विभाग र नास्टसम्मको ध्यानाकर्षण भए पनि कोरोना महाव्याधिले बढाएको मास्क र ग्लोब्सको बिक्री सरकारी निकायको आँखामा परेको छैन । निर्धारित मूल्यभन्दा बढीमा बिक्री भएका मास्क बेलाबेला बरामद गरिए पनि त्यसको गुणस्तरबारे अध्ययन भएको छैन । सेनिटाइजर जसरी नै मास्क र ग्लोब्स पनि संक्रमणबाट सुरक्षित रहने सामग्री छन् ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मास्क तथा ग्लोब्सको मापदण्ड तयार गरे पनि यी वस्तुहरू अहिले स्वयंसेवाका रूपमा उत्पादन भइरहेको बताए ।

स्रोत: https://ekantipur.com/news/2020/08/28/159857865736652419.html