एक वर्षमा २२५५ बालिकामाथि यौनजन्य हिंसा : लैंगिक हिंसा मधेशमा र यौनजन्य हिंसा कोशीमा बढी

December 11, 2024

२o८१ मङ्सिर २६ बुधबार

बालबालिकामाथि यौन हिंसाका घटना बढ्दै गएको प्रहरीले जनाएको छ । एक वर्षको अवधिमा दुई हजार २५५ जना बालबालिकामाथि यौन हिंसा भएको छ । यो आर्थिक वर्ष ०८०/८१ मा प्रहरीमा परेको उजुरीको तथ्यांक हो । उजुरी नपर्ने घटना धेरै हुन सक्ने प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको लैंगिक हिंसाको वार्षिक तथ्यांकअनुसार एक वर्षमा महिलामाथि तीन हजार ४८९ यौन हिंसा भएका छन्, जसमा दुई हजार २५५ बालिका छन् । कुल संख्याको यो ६४ प्रतिशत हुन्छ । यौन हिंसाअन्तर्गत बलात्कार, बलात्कार प्रयास, अप्राकृतिक मैथुन, सार्वजनिक स्थलमा यौनजन्य दुर्व्यवहार तथा बालयौन दुर्व्यवहारजस्ता अपराध पर्दछन् । 

११ देखि १४ वर्ष उमेरका बालिका सबैभन्दा धेरै हिंसा भोग्नेमा पर्दछन् । एक वर्षमा यो उमेर समूहका ७७७ जनाले प्रहरीमा उजुरी दिएका छन् । त्यस्तै, १० वर्षमुनिका ३७६, १५ र १६ वर्षका ६७३ तथा १७ र १८ वर्ष उमेरका ४२९ जना पीडित छन् । आरोपीतर्फ भने १९ देखि २५ वर्ष उमेर समूहका धेरै हुने गरेका छन् । 

आर्थिक वर्ष ०८०/८१ मा दर्ता घटनाका आधारमा प्रहरीले विश्लेषण गरेको हो । एक वर्षमा बलात्कारका दुई हजार ५०७, बलत्कार प्रयासका ४६०, बालयौन दुरुपयोग/दुर्व्यवहारका ३६३ र बलात्कार गरी हत्याका ६ घटना भएका छन् । त्यस्तै, ५४ जनालाई बन्धक बनाएर बलात्कार भएको छ भने १९ जनालाई मानव बेचबिखन गरी बलात्कार भएको छ । 

सबैभन्दा धेरै कोशीमा 
यौनजन्य हिंसाका घटना सबैभन्दा धेरै कोशी प्रदेशमा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोशीमा ७३६, लुम्बिनीमा ५८४, मधेशमा ४६६, काठमाडौं उपत्यकामा ४६२, बागमतीमा ४११, सुदूरपश्चिममा २८९, कर्णालीमा २५७ तथा गण्डकीमा २३६ घटना दर्ता भएका छन् ।

घटनामा आरोपितमध्ये अधिकांश चिनजानकै छन् । कुल आरोपित तीन हजार पाँचजना हुँदा नाताका आधारमा ९१.१ प्रतिशत अर्थात् तीन हजार ४६५ जना आरोपी चिनजानका व्यक्ति हुने गरेका छन् । त्यसमा पनि ४५१ जना पारिवारिक नाताका व्यक्ति छन् । 

घरेलु हिंसा सबैभन्दा धेरै मधेशमा 
घरेलु हिंसाका घटना भने सबैभन्दा धेरै मधेश प्रदेशमा दर्ता भएका छन् । कुल १६ हजार ४३४ घटनामध्ये पाँच हजार ५९६ मधेश प्रदेशका छन् । त्यसपछि धेरै लुम्बिनी प्रदेशमा दुई हजार ७९६, काठमाडौं उपत्यकामा दुई हजार २५८, कोशीमा एक हजार ६३३, बागमतीमा एक हजार ३३८, सुदूरपश्चिममा एक हजार २१४, कर्णालीमा ८८० र गण्डकीमा ५०१ घटना दर्ता भएका छन् । 

प्रहरीको लैंगिक नीति सार्वजनिक 
लैंगिक हिंसासम्बन्धी घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरी प्रधान कार्यालयले ‘नेपाल प्रहरी लैंगिक नीति २०८१’ बनाएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षकले नीति सार्वजनिक गरेका छन् । 

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसाविरुद्ध हुने जुनसुकै अपराधहरूमा शून्य सहनशीलताको नीति अवलम्बन गरी अनुसन्धानलगायतका सम्पूर्ण प्रक्रियाहरू पूरा गर्ने उद्देश्यले जारी गरिएको लैंगिक नीति समयसापेक्ष, परिष्कृत र परिमार्जित स्वरूपमा रहेको बताए ।

प्रविधिको विकास र आधुनिक समाजमा देखापरेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थप चुनौती थपेको उनले उल्लेख गरे । यस्ता किसिमका चुनौतीलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्न नेपाल प्रहरीका प्रयास केन्द्रित रहेको कुँवरको भनाइ छ । 

स्रोत: https://www.nayapatrikadaily.com/news-details/155262/2024-12-11

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More