कर बक्यौता बर्सेनि बढ्दो : २ खर्ब ५४ अर्ब उठाउन बाँकी, १ हजार ७५० करदाता पुनरावलोकनमा

November 20, 2024

मंगलबार, मंसिर ४, २०८१ 

काठमाडौं। लक्ष्यअनुरुप कर संकलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०-८१ मा २ खर्ब ५४ अर्ब ३ करोड रुपैयाँ कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार ३ लाख १९ हजार ३ सय ८१ करदाताको २ खर्ब ५० करोड रुपैयाँभन्दा बढी बक्यौता देखिएको हो ।

‘आर्थिक वर्ष २०८०/८१ को अन्तसम्ममा आईपुग्दा कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कसमेत उठ्न बाँकी कुल बक्यौता रकम १ खर्ब ३० अर्ब २४ करोड छ भने कर कार्यालयबाट भएको कर निर्धारणप्रति विमति जनाउँदै आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ छ’, विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

विभागका महानिर्देशक रामप्रसाद आचार्य न्यायिक निरुपणमा जाँदा मुद्दा फछ्र्यौटमा ढिलाई हुँदा बक्यौता पनि बढेको बताए । विभागले भने धमाधम पुनरावलोकनका मुद्दा फछ्र्यौटमा गर्दै आएको छ । ‘बक्यौता रकममध्ये ५५ देखि ६० प्रतिशत विभिन्न न्यायिक निकायमा विचाराधीन छन् । विभागमा प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण, विभिन्न अदालतमा मुद्दा छिनोफानो नहुँदा बक्यौता बढेको हो’, उनले भने ।

चालु मुद्दा फछ्र्यौट भएका जानकारी दिँदै महानिर्देशक आचार्यले भने, ‘प्रशासकीय पुनरावलोकनमा गएका मुद्दा यथाशक्य चाँडो फछ्र्यौट गरेका छौँ । धेरैभन्दा धेरै जनशक्ति परिचालन गरेर काम भएको छ ।’ हामीले निर्धारण गरेको करउपर चित्त नबुझेमा न्यायिक निकायमा जान पाउने करदाताको अधिकार हो । तर, त्यस्ता मुद्दा फछ्र्यौट चाँडो हुँदा त्यसले बक्यौता असुली गर्न पनि सहज हुन्छ ।

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी छन् । प्रतिवेदनअनुसार १ लाख ९६ हजार चार सय ६३ करदाताबाट १ खर्ब ८६ अर्ब ७८ करोड रुपैयाँ आयकर उठ्न बाँकी छ । आयकर तर्फ ७ सय १८ करदाता प्रशासकीय पुनरावलोकनमा जाँदा १ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ आयकरबाट राज्य वञ्चित भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १ लाख २० हजार ८ सय ३२ करदाताबाट ५९ अर्ब ९० करोड रुपैयाँ असुली हुन बाँकी छ । अन्तःशुल्क ३ सय ७४ करदाताबाट ४ अर्ब ३१ करोड रुपैयाँ उठाउन बाँकी छ । अन्य १ हजार ७ सय १२ करदाताले ३ अर्ब ४ करोड रुपैयाँ राज्य कोषमा दाखिला गरेका छैनन् ।

बक्यौता कर संकलनमा यसरी अवरोध हुँदा सरकारको राजस्व संकलनको लक्ष्य प्रभावित भएको छ । आर्थिक वर्ष २०८०-८१ देखि चालु आर्थिक वर्षका लागि १ हजार ७ सय ४२ वटा प्रशासनिक पुनरावलोकनका निम्ति दर्ता हुँदा राज्य कोषमा रकम अपर्याप्तताको चाप बढेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा ६ खर्ब ७७ अर्ब ७३ करोड रुपैयाँ कर असुली गर्ने लक्ष्य निर्धारण भएकामा ५ खर्ब ३३ अर्ब ३ करोड मात्र उठेको थियो । आव २०७९-८० देखि जिम्मेवारी सरेका र आव २०८०-८१ मा दर्ता भएका जम्मा २ हजार २ सय ४४ निवेदनमध्ये गत आवमा जम्मा ५ सय २ वटा फछ्र्यौट भएका छन् । १ हजार ७ सय ४२ निवेदन आव २०८१-८२ को लागि सारिएका छन् ।

गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको २३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ । उक्त आवको प्रारम्भमा कुल बेरुजु रकम ७६ अर्ब १ करोड ४२ लाख रुपैयाँ रहेकामा आवको अन्त्यमा त्यो बढेर ९९ अर्ब ५७ करोड ७८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । 

Source: https://www.capitalnepal.com/detail/53552

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More