पहिलो संस्करणको एनपिएलबाट दुई करोड ४६ लाख नाफा भएको क्यानको विवरण

August 01, 2025

रमेश सुवेदी काठमाडाैं २o८२ श्रावण १६ शुक्रबार

प्रतियोगिता आयोजनामा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)बाट दुई करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । केन्द्रीय कार्यालय मूलपानीमा बिहीबार बसेको क्यान कार्यसमिति बैठकले एनपिएलको आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगिता सकिएको सात महिनापछि आर्थिक कारोबार सार्वजनिक भएको हो । एनपिएलको आर्थिक विवरण सार्वजनिक नगरेको भन्दै क्यानको आलोचना हुँदै आएको छ ।

एनपिएलको आर्थिक विवरण सार्वजनिक गर्न १० घण्टा बैठक चल्यो । मूलपानीमा बिहीबार राति ८ बजे सकिएको बैठकले एउटा मात्र एजेन्डामाथि निर्णय गरेको क्यानले जनाएको छ । त्यो एजेन्डा एनपिएलकै आय–व्यय थियो । लगभग एक महिना त्रिवि क्रिकेट मैदानमा चलेको एनपिएलबाट क्यानले २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

क्यानले पहिलो संस्करण विश्व क्रिकेटमा पुर्‍याउन र यसको ब्रान्डिङ गर्न समग्रमा प्रतियोगितामा २० करोड १५ लाख रुपैयाँ खर्च भएको प्रवक्ता छुम्बी लामाले बताएका छन् । आम्दानी र खर्चको अन्तर सात करोड ५३ लाख रुपैयाँ रहेको छ । यसको ५० प्रतिशत हिस्सा चार करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टोलीलाई वितरण गरिएको छ । सेयरिङपछि बाँकी तीन करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि क्यानले पहिलो एनपिएलबाट दुई करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको हो ।

एनपिएलको पहिलो संस्करणको आय–व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको छ ।

बैठकमा एक दर्जन एजेन्डाको सूची समावेश थियो । तर, दिनभर बसेको बैठकमा एनपिएलबारे छलफल भएको प्रवक्ता लामाले बताए । क्यानका अनुसार आगामी संस्करणका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ ।

एनपिएलको अनियमिततामाथि छानबिन जारी
एनपिएलको आय–व्यय सार्वजनिक भए पनि क्यानको अनियमितताको विषयमा छानबिन जारी छ । पहिलो सिजनको एनपिएलमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत ७ मंसिर र १२ फागुन ०८१ मा उजुरी परेको थियो । आयोगले उजुरीको व्यहोरा मन्त्रालयमा पठाउँदै आन्तरिक अनुसन्धान गर्न भनेको थियो । त्यसपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले गत १२ जेठमा रञ्जना प्रधानको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेका थिए । 

कार्यदलले अनुसन्धानमा सहयोग गर्नका लागि तीनपटक क्यानलाई पत्र पठाएको छ । तर, क्यानले एनपिएलको छानबिनमा सहयोग नगरेको निष्कर्ष निकाल्दै कार्यदलले २७ असारमा मन्त्री चौधरीलाई प्रतिवेदन बुझायो । 

कार्यदलको प्रतिवेदनमा एनपिएलको अनियमितताको सम्बन्धमा थप छानबिन आवश्यक रहेको उल्लेख छ । अख्तियारमा परेको उजुरीमा सार्वजनिक खरिद ऐनविपरीत टेन्डर गरेको तथा विज्ञापन नियमन गर्ने ऐन उल्लंघन गरेको मुख्य आरोप लगाइएको छ ।

दोस्रो संस्करण तयारी सुरु
बैठकमा क्यानका सचिव तथा एनपिएल आयोजना समिति संयोजक पारस खड्काले एनपिएलका आय विवरण प्रस्तुत गरेका थिए । ‘साथीहरूले प्रतियोगिताको विषय र हिसाबकिताबबारे प्रश्न राख्नु ठिक हो । प्रतियोगिताको आम्दानी र खर्च सार्वजनिक गरेका छौँ,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘अब बाँकी एजेन्डाका विषयमा अर्काे बैठकबाट छलफल हुनेछ ।’ क्यानले दोस्रो संस्करणको तयारी सुरु गरिसकेको छ । २४ साउनमा हुने मिनी अक्सनका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराइसकेका छन् । 

क्यानले एक अनिवार्य मार्कीसहित ६ खेलाडी रिटेन गर्न पाउने मापदण्ड बनाएको छ । पहिलो संस्करणमा सहभागी आठै फ्रेन्चाइज टोलीले ५६ खेलाडी रिटेन गरेका छन् । मिनी अक्सनका लागि क्यानले १२ देखि २२ जुलाईसम्म खेलाडी दर्ता खुलाएको थियो । दोस्रो सिजनमा सहभागी आठ टोलीले पाँचदेखि ६ खेलाडी आबद्ध गर्नेछन् ।

महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइसिसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने महत्वपूर्ण जिम्मेवारी नेपाललाई दिएको छ । सन् २०२६ को १२ जनवरीदेखि २ फेब्रुअरीसम्म छनोट खेल हुनेछ । नेपालले आयोजना गरेकामध्ये अहिलेसम्मकै ठुलो प्रतियोगिता आइसिसी ग्लोबल छनोट हुनेछ ।

मूलपानीको तल्लो र माथिल्लो क्रिकेट मैदानमा ग्लोबल छनोटका खेल हुनेछन् । आइसिसीले छनोट खेलको तालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ । ग्लोबल छनोटमा सहभागीमध्ये चार राष्ट्रले सन् २०२६ को १२ जुनदेखि ५ जुलाईसम्म इंग्ल्यान्डमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीको सहभागिता रहनेछ । ग्लोबल छनोटमा बंगलादेश र आयरल्यान्डले सन् २०२४ को टी–२० विश्वकप खेलेका कारण स्थान बनाएका थिए ।

यी दुई राष्ट्रबाहेक नेपाल, थाइल्यान्ड र अमेरिकाले पनि छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् । नेपाल र थाइल्यान्डले एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट स्थान सुरक्षित गरेका हुन् । अमेरिकाले अमेरिकी क्षेत्रको छनोटबाट अन्तिम चरणको स्थान बनाएको हो । अब ग्लोबल छनोटमा पाँच राष्ट्र छनोट हुन बाँकी छ । नेपालमा आयोजना हुने अन्तिम चरणको प्रतियोगिताका लागि अफ्रिका र युरोपबाट समान दुई राष्ट्र आउनेछन् । 

स्रोत: https://www.nayapatrikadaily.com/news-details/174249/2025-08-01 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More