भुक्तानी नपाएपछि सप्लायर्सले वीरलाई दिएन फिल्म सिट, आजदेखि एक्सरे सेवा ठप्प हुने जोखिम

February 13, 2025

२o८१ फाल्गुण १ बिहीबार 

देशकै जेठो सरकारी अस्पताल वीरमा फिल्म सिट अभाव हुँदा बिहीबारदेखि एक्सरे सेवा बन्द हुने भएको छ । सप्लायर्सले चाहिनेजति एमआरआई, एक्सरे, मेमोग्राफीलगायत फिल्म सिट आपूर्ति नगर्दा सेवा बन्द हुने अवस्था सिर्जना भएको हो । हाल वीर अस्पतालमा नेक्स्ट मेडिटेक कम्पनीले फिल्म सिट आपूर्ति गर्दै आइरहेको छ ।

एक्सरे रिपोर्ट प्रिन्ट गर्ने फिल्म सिट अभाव भएपछि बिहीबारदेखि एमआरआई, सिटिस्क्यान, ओपिडी एक्सरे, इमर्जेन्सी एक्सरेलगायत सेवा बन्द हुने अवस्था देखिएको रेडियोलोजी विभागले जनाएको छ । ‘बुधबारसम्मलाई त जेनतेन टर्‍यो, तर बिहीबारदेखि अभाव हुने अवस्था छ । सप्लायर्सलाई भनिरहेका छौँ, तर हाम्रो हातमा मात्रै कहाँ छ र ?’ वीरका रेडियोलोजी इन्चार्ज डिपी न्यौपानेले भने, ‘सकेसम्म बिरामीलाई अप्ठ्यारो पार्नुहुँदैन भन्ने हो, तर आपूर्ति नभएपछि समस्या आइहाल्छ ।’ 

न्यौपानेका अनुसार हाल वीर अस्पतालमा दैनिक दुई सय एमआरआई सिट, तीन सय सिटिस्क्यान फिल्म सिट, सयवटा इमर्जेन्सी एक्सरे सिट, सयवटा ओपिडी एक्सरे सिट र ३० वटा मेमोग्राफी एक्सरे सिट चाहिन्छ । तर, बिहीबारदेखि कुनै पनि प्रकारको एक्सरेका लागि फिल्म सिट छैन । यदि सप्लायर्स कम्पनीले बिहीबार बिहानसम्म आपूर्ति नगरेमा बिरामीले एक्सरे सेवा पाउनेछैनन् । 

न्यौपानेले एक्सरे सिट १०–१२, मेमोग्राफी सिट ८–१० र सिटिस्क्यान तथा एमआरआई सिट १४–१७ इन्चको प्रयोग हुने बताए । यसमध्ये सिटिस्क्यान तथा एमआरआई प्रतिसिट १५७, एक्सरेको प्रतिसिट ८९ र मेमोग्राफी सिटको ६० रुपैयाँ सप्लायर्सलाई तिर्नुपर्छ । यसरी अस्पताललाई सबैखाले गरी मासिक रूपमा २० हजारहाराहारी फिल्म सिट चाहिन्छ । त्यसका लागि मासिक २२ लाख रुपैयाँहाराहारी खर्च हुन्छ । 

नेक्स्ट मेडिटेक कम्पनीअघि भाजुरत्न मेडिकेयरले फिल्म सिट आपूर्ति गर्ने गरेको थियो । तर, उक्त सप्लायर्ससँग सम्झौता तोडी गत मंसिरदेखि नेक्स्ट मेडिटेकलाई आपूर्ति गर्ने जिम्मा दिइएको थियो । यो कम्पनीले पनि समयमै फिल्म सिट आपूर्ति नगरेपछि हैरानी हुने गरेको अस्पतालले जनाएको छ । नेक्स्ट मेडिटेक कम्पनीका सञ्चालक अनिल न्यौपानेले कान्ति बाल अस्पतालमा पनि फिल्म सिट सप्लाई गर्ने गरेको र त्यहाँ पनि समयमै फिल्म सिट नपुगेको गुनासो आउने गरेको वीर अस्पताल स्रोतले जनाएको छ । 

वीरका निर्देशक डा. सन्तोष पौडेलले फिल्म सिट अभाव हुने अवस्था नभएको दाबी गर्दै बिहीबारसम्म सप्लायर्सले पुग्दो मात्रामा आपूर्ति गर्ने बताए । ‘सप्लायर्सको बक्यौता बाँकी छ, त्यही भएर निहुँ खोजेका हुन्, उनीहरूले बिमाको पैसा पनि पाएका छैनन्, हामीले बजेट अभावका कारण थोरैथोरै गरेर भुक्तानी गर्ने गरेका छौँ, यदि अनलाइन सिस्टमबाट रिपोर्ट हेर्ने प्रबन्ध भएको भए फिल्म सिटको झन्झट हुने थिएन, त्यसका लागि आवश्यक पूर्वाधार नभएर हो,’ उनले भने ।

वीरमा विस्तारित अस्पताल सेवा सुरु गरिने 
वीर अस्पतालले अब नियमित समयबाहेक अन्य समयमा विस्तारित अस्पताल सेवा सुरु गर्ने भएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अबको चार–पाँच दिनमै विस्तार सेवा सुरु गर्ने बताए । ‘अस्पतालले अब विस्तारित सेवा सुरु गर्छ, यो भनेको अन्य समयमा दिइँदै आएको सेवा अवधि बढाउने हो, ४ बजेपछि नियमित सेवा बन्द हुन्छ, त्यसपछि राति ८ बजेसम्म विस्तारित सेवा सुरु हुन्छ,’ उनले भने, ‘यसमा ओपिडीदेखि अप्रेसनसम्मको सेवा पाइन्छ ।’ 

पौडेलका अनुसार सुरुको चरणमा केही विभागबाट विस्तारित सेवा सुरु गर्ने र त्यसलाई सबै विभागमा लागू गर्दै लगिनेछ । विस्तारित सेवाका लागि बिरामीले अनलाइनबाटै टिकट काट्न सक्ने व्यवस्था मिलाइनेछ । सुरुमा मुटु, दाँत, कोलोन्सकपीलगायत सेवा सुरु गरिनेछ । यो सेवा सुरु भएपछि बिरामीले साँझ ७ बजेसम्म ओपिडी सेवा लिन सक्नेछन् ।

दिवा सेवा बन्द भएपछि मात्रै विस्तारित सेवा सुरु हुनेछ । विस्तारित सेवामा उपचार सेवा लिन चाहनेले ३ देखि ७ बजेसम्म टिकट बुकिङ गर्न सक्नेछन् । अस्पतालले यो सेवाका लागि छुट्टै सफ्टवेयर बनाउने र त्यसलाई सिस्टममा राखिनेछ । हाल अस्पतालले नियमित सेवाअन्तर्गत बिहान ८ देखि दिउँसो ४ बजेसम्म उपचार सेवा दिने गरेको छ । यो समयमा बिरामीको संख्या उल्लेखनीय देखिएको भन्दै थप समयमा पनि सेवा विस्तार गर्न लागिएको हो । त्यसका लागि भएकै जनशक्ति परिचालन हुने अस्पताल प्रशासनले जनाएको छ । 

नौवटा आइसियू बेड र १२ वटा क्याबिन उपचार कक्ष थपियो
अस्पतालले बुधबारदेखि थप नौवटा आइसियू बेड पनि सञ्चालनमा ल्याएको छ । अब वीर अस्पतालको आइसियू बेड संख्या ५५ पुगेको छ । ‘आइसियू बेड पनि थपेका छौँ, यसले सेवा दिन थप सहज हुनेछ,’ पौडेलले भने, ‘थप आइसियू बेड सर्जिकल भवनमा राखिएको छ, बिहीबारदेखि नै १२ वटा क्याबिन उपचार सेवाका लागि थपेका छौँ, यसले देशभरिबाट आउने बिरामीलाई थप टेवा पुग्नेछ ।’ हाल वीर अस्पतालमा सबै गरेर ९६० बेड सञ्चालन भइरहेको छ ।

मेडिकल शिक्षाको स्नातकोत्तर तहमा २०९ सिट थप्नेबारे छलफल
पोस्ट ग्य्राटुएट (पिजी) तहमा थप २०९ सिट क्षमता बढाउने गरी छलफल भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्नेबारे छलफल गरेको हो । तर, यसबारे ठोस निर्णय एक सातापछि बस्ने आयोगको बैठकले गर्नेछ । २०९ मध्ये सयजना विदेशी र अन्य नेपाली विद्यार्थी पढाउनेबारे छलफल भएको छ । 

बैठकमा निजी मेडिकल कलेजका तर्फबाट आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन यसअघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको संख्या बढाउने प्रस्ताव आएको थियो । बैठकले नर्सिङ शिक्षाको अध्ययन, अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदनलाई पारित गरेको छ भने शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डका विषयमा बैठकमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले सरकारले सबै विद्यार्थीलाई नि:शुल्क पढाउन नसक्ने र निजी कलेजको पनि साथ लिन आवश्यक पर्ने भएकाले उठेका समस्यालाई थप गृहकार्य गरेर निष्कर्ष निकाल्ने बताएका थिए ।

स्रोत: https://www.nayapatrikadaily.com/news-details/160174/2025-02-13

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More