व्यवसायीलाई नोक्सानी, सरकारलाई राजस्व घाटा

February 28, 2025

ममता थापा, फागुन १६, २०८१ शुक्रबार ८:३८:५०

व्यवसायीलाई नोक्सानी, सरकारलाई राजस्व घाटा

काठमाडौं : चीनसँगको मुख्य भन्सार नाका रसुवा र तातोपानीमा बर्सेनि बेमौसमी वर्षाले भौतिक संरचनामा क्षति पुर्‍याउँदा व्यापारमा ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार गत असोज–कात्तिकमा परेको वर्षाले निम्त्याएको बाढीले सडक, पुल बगाउँदा पर्वलक्षित आयातीत सामान नाकामै अडकयो। तातोपानीमा ३ सय देखि ४ सय र केरुङमा झन्डै ७ सय वटा कन्टेनर रोकिए। झन्डै २ सय वटा कन्टेनरमा रहेका फलफूल कुहिँदा दसैंको लागि ल्याइएका सामानहरू पनि प्रयोगविहीन भए। नाका खुलेको बेला पनि दिनमा ४०–५० वटाभन्दा बढी भन्सार भएनन्। जसले गर्दा सामान थुप्रियो। 

सामान बिग्रिंदा र ऋण गरेर ल्याएको सामान समयमा बिक्री गर्न नपाउँदा व्यवसायीलाई नोक्सानी व्यहोर्नुपर्‍यो। महिनौंदेखि नाकामा रोकिएको आयातीत वस्तु महँगो हुन जाँदा प्रत्यक्ष मारमा उपभोक्ता पर्छन्। सामानको मूल्य चर्को हुँदा ग्राहकको चहलपहल पनि कम भयो। यसैका कारण व्यवसायीले चाडपर्वमा अपेक्षाअनुसारको व्यापार नभएको गुनासो गरेका छन्। अर्कोतर्फ निर्यातमा पनि असर पर्दा स्वदेशमा उत्पादित बस्तुले समयमा बजार नपाउने कारणले व्यवसायीदेखि मुलुकको आय प्रभावित बन्ने गरेको छ। अन्ततः निर्यातीत वस्तु उत्पादनमा आश्रित श्रमिकको आम्दानीमा समेत प्रभाव पर्ने स्थिति छ। तर सरकारसँग भने नाका अवरुद्ध भएपछि बाटो खुलाउन अल्पकालीनवाहेक दीर्घकालीन विकल्पहरू नभएको देखिन्छ। 

२०७२ सालको महाभूकम्प र बर्सेनि पर्ने मुसलधरे वर्षाले निम्तिने प्राकृतिक विपद्ले उक्त नाकाहरू पटकपटक अवरुद्ध हुने गरेका छन्। भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरु भएसँगै सडकमार्ग जीर्ण हुन्छ। तर गतिलो र दीर्घकालीन भौतिक संरचनाको अभावमा अस्थायी सडकमार्फत जोखिम मोलेरै भए पनि आयात निर्यात गर्नु परेको छ। यसैक्रममा आफू उद्योग सचिव हुँदाको अवस्था सम्झँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा भन्छन्, ‘पहिले यस्तो हुँदैनथियो। तर अहिले जलवायु परिवर्तनको असरले गर्दा धेरै फरक परिरहेको छ । अहिले अतिवृष्टिका कारण बाढीपहिरोले विनाशको क्रम बढेको छ। यसर्थ सरकारले जलवायु परिवर्तनको प्रभावलाई हेरेर आपूर्ति चक्रलाई यथावत् राख्न योजनाबद्ध ढंगले काम गर्दै जानुपर्छ।’ 

वर्षामा  नाका अवरुद्ध हुँदा सामान आइपुग्न ढिलाइले व्यवसायीले बर्सेनि ठूलो क्षति  व्यहोर्नु परेको छ। गत दसैंअघि यस्तो हुँदा पनि त्यतिबेला सरकारलाई दिगो  पूर्वाधार बनाउन माग गरेका थियौं। उत्तरी नाकामा पूर्वाधारको कमी छ। कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

मुलुकभर भन्सार कार्यालयको ४१ नाका छन्। यसमध्ये प्रायः २८–२९ नाका मात्रै नियमित सञ्चालनमा छन्। यीमध्ये बढी वर्षा प्रभावित क्षेत्र टिमुरे रसुवाको रसुवा भन्सार र सिन्धुपाल्चोक लार्चाको तातोपानी भन्सार कार्यालय हो। भन्सार विभागको तथ्यांकअनुसार बर्सेनि रसुवाबाट मात्रै मुलुकको कुल आयातको ४ प्रतिशत हाराहारीमा र तातोपानीबाट ३ प्रतिशत हाराहारीमा आयात हुने गरेको छ। चालु आर्थिक वर्षको माघसम्ममा मात्रै कुल आयात ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबर हुँदा रसुवा नाकाबाट ४७ अर्ब ९० करोड हाराहारीमा आयात भएको छ। यो कुल आयातको ४.८५ प्रतिशत हो। उक्त नाकाबाट निर्यात पनि १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँको भएको छ। यो कुल निर्यातको १.३१ प्रतिशत हो। रसुवा नाकाबाट वार्षिक कुल निर्यातको औसत १ प्रतिशत चीनमा हुने गरेको छ। यता तातोपानी नाकाबाट पनि चालु आवको ७ महिनामा २७ अर्ब २५ करोड रुपैयाँबराबरको आयात भएको छ। यो कुल आयातको २.७६ प्रतिशत हो। तर उक्त नाकाबाट चालु आवको यस अवधिसम्म निर्यात भने भएको छैन। कहिलेकाहीँ नगन्य मात्रामा हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। 

यसरी अर्बौं कारोबार गर्ने नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले यो सधैं ग्रसित छ। चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरोलगायतका समस्याले सधैं भासिने गरेको छ। यो क्षेत्र भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरु भएसँगै सडकमार्ग जीर्ण हुन्छ। सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्गको सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ। दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ। 

प्रायःजसो वर्षायाममा हुने यो समस्या पछिल्ला वर्षहरूमा चाडपर्वको संघारमा हुने गरेकाले नाकामा आयातीत वस्तुहरू महिनौंसम्म रोकिने स्थिति छ। यसले एकातर्फ सरकारको राजस्व लक्ष्य हासिल गर्न चुनौती थपेको छ भने अर्कोतर्फ व्यवसायीको लागत बढाएको छ। परिणामस्वरूप सामान आपूर्तिमा ढिलाइ हुनेदेखि अन्ततः उपभोक्ता नै महँगीको मारमा पर्ने गरेका छन्। 

अहिले  जलवायु परिवर्तनको असरले गर्दा धेरै क्षेत्रमा फरक परेको छ। यसमध्ये  बेमौसमी वर्षाका कारण अतिवृष्टि हुँदा बाढीपहिरोजस्ता विनाशको क्रम बढेको  छ। यसले भन्सार नाका अवरुद्ध हुँदा व्यापार प्रभावित बनेको छ। पुरुषोत्तम ओझा, पूर्वसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 

यी सबै समस्याका मुख्य कारण जलवायु परिवर्तन हो। जसले गर्दा असार साउनमा हुने वर्षा सरेर भदौ, असोज र कात्तिकमा पुगेको छ। नेपाली उपभोक्ताबाट धेरै खपत हुने पर्व तीज, दसैं र तिहार यतिबेलै पर्ने भएकाले बढी व्यवसाय हुने समय पनि हो। तर विगत ३–४ वर्ष यता चाडपर्वकै आसपासमा मुसलधरेदेखि आरीघोप्टेसम्म वर्षा हुने गरेको छ। जसले गर्दा नेपालको उत्तरी क्षेत्रका भन्सार नाकामा आएको अस्वाभाविक बाढीले सडक, पुल भत्किँदा आवागमन अवरुद्ध हुन्छ। यसको प्रत्यक्ष असर स्वरूप व्यापारको आपूर्ति शृंखला नै बिग्रिएको छ। 

सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको व्यवसायी गुनासो गर्छन्। तत्कालीन समयमा नाका अवरुद्ध हुँदा सामान आइपुग्न ढिलाइले गर्दा व्यवसायीले ठूलो क्षति व्यहोर्नु परेको थियो। आफूहरूले त्यतिबेलै सरकारलाई घचघच्याउने काम गरेको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल बताउँछन्। ‘उत्तरी नाकामा पूर्वाधारको कमी छ। अहिले सानोतिनो कच्ची अवस्थामा छ। प्राकृतिक विपद्ले पुल भाँचिदा अस्थायी पुल, सडक पनि त्यत्ति राम्रो छैन। यसले गर्दा व्यवसायीको लागत नै अतिरिक्त बढी भइरहेको छ,’ उनले भने, ‘यसै वर्षको दसैंमा नाका अवरुद्ध भएपछि आयातीत सामान २६ दिन रोकिएकाले वाणिज्य मन्त्रीसँग दिगो पूर्वाधार बनाउन माग लिएर डेलिगेसन गएका थियौं। सरकारले व्यापारीलाई कहिले पनि नाइँ भन्दैन तर काम गर्नमा विलम्ब गर्ने प्रवृत्तिले अन्ततः आम उपभोक्ताले यसको मार खेप्नु परेको छ।’ 

व्यापारीको तीन दशकको अनुभव 

३० वर्षदेखि काठमाडौंको न्युरोडमा फुटवेयरको व्यापार गर्दै आएका छन् नयन खत्री। उनले दसैंमा बढी खपत हुने बेलामै आयात गर्दा उनको सामान चीनको केरुङ नाकामा झन्डै एक महिना रोकियो। त्यसैगरी तातोपानी नाकामा २०–२५ दिन रोकिएको उनको गुनासो छ । तीन दशकदेखि यो व्यवसाय सञ्चालन गरेको अनुभवमा २०७२ सालपछि तातोपानी नाका पूर्वाधार तहसनहस बनाएको उनी बताउँछन्। ‘त्यसपछि सिन्धुपाल्चोकको जुरे पहिरोले असर गर्‍यो। हाम्रा बाटोहरू वर्षायाममा निर्वाध रूपमा चलाउन गाह्रो हुन्छ,’ नेपाल चेम्बर्स अफ कमर्सका कार्यकारी सदस्यसमेत रहेका खत्रीले भने। उनले दसैंमा अलि बढी व्यापार गर्ने भन्ने आशासहित डेढ–दुई महिनाअघि नै सामान मगाएका थिए। तर सामान बाटोमै अडकएपछि नियमित खर्च बढेको र आम्दानी नभएकाले घाटा खेप्नु परेको बताए। खत्री भन्छन्, ‘हरेक दिन नाकामा कन्टेनर राख्नुपर्दा दैनिक अक्टोडिडेक्सन चार्जले अतिरिक्त खर्च बढायो। औसत दैनिक ३ हजार तिर्नुपर्छ। दुवै नाकामा गरेर ४० दिनको शुल्क थपिँदा भन्सार भार थपियो। यसले अन्य व्यवसायीलाई पनि आर्थिक भार बढायो।’ उनका अनुसार त्यतिबेला चीनबाट आएका करिब ४ देखि ५ सय मालवाहक ट्रक पूरै रोकिएका थिए। चीनतिरको असरका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई चेम्बरको तर्फबाट ध्यानाकर्षण गरेको उनले जनाए। जलवायु परिवर्तनले ती नाकामा दुःख व्यहोर्नु परेको उनको भनाइ छ। अझ नेपालतर्फको पूर्वाधार धेरै कच्ची भएकाले दीर्घकालीन र बलियो पूर्वाधार बनाउन सरकारलाई आग्रह गरेको उनले बताए । 

यता भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठका अनुसार उक्त दुई नाका भौगोलिक दृष्टिकोणले पनि विकट हुँदा विपद्मा झन् समस्या पर्ने गर्छ। त्यहाँ मालवाहक सवारी रोकिँदा असोजमा लक्ष्यअनुसार राजस्व प्राप्त हुन नसककेको उनी बताउँछन्। ‘प्रायः वर्षामा उत्तरी नाका प्रभावित हुन्छ। ‘तर यसपटक दसैंअघि अलि लामो समय अर्थात् करिब ४५ दिन नै रोकियो। जसले गर्दा अरू बेलाको भन्दा कुल व्यापार पनि घट्यो। रोकिएकामध्ये सबै विपद्का कारण मात्र होइनन्। अरू नियम नपुर्‍याएका मालवाहक सवारीसाधन पनि छन्,’ श्रेष्ठले भने। 

नाकामा यसरी कन्टेनर रोकिँदा एक सातासम्म भन्सारमा शुल्क लाग्दैन। तर त्यसपछि प्रत्येक दिन सामानअनुसार शुल्क बुझाउनु पर्छ। ६० दिनसम्म राख्न पाइन्छ। त्यसपछि व्यवसायीले जाँचपास गर्न आएनन् भने सरकारले जफत गर्छ। यद्यपि गत दसैंताका दुई वटा पुल भत्किँदा चीनदेखि नेपालसम्म असोज १३ देखि कात्तिक ७ गतेसम्म भन्सार सामान जाँचपाच गर्न नसकिएको सिन्धुपाल्चोक लार्कास्थित तातोपानी भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार अहिले पनि सडकको स्थिति त्यति राम्रो छैन। ‘दुई पुल भत्किएपछि अस्थाई सडक र एउटा बेलिब्रिज बनाइएको छ। तर खोलामा अर्को बेलिब्रिज बनाउनुपर्ने छ। अबको वर्षासम्ममा बनेन भने फेरि सम्बन्धविच्धेद हुन्छ,’ उनले भने, ‘यहाँ अर्को बाटो छैन। कि त रसुवाबाट ल्याउनुपर्‍यो, त्यो पनि अस्थायी बाटो हो। काठमाडौंबाट त्यहाँसम्म पुग्न अलि लामो बाटो छ। यसको विकल्पमा व्यवसायीले जहाजबाट सामान ल्याउनुपर्ने हुन्छ ।’ तर, यसो गर्दा महिना दिनसम्मको समय लाग्ने र लागत बढ्ने उनले जनाए। अहिलेलाई पानी नपर्दा अस्थायी बाटो चलिरहेको छ। यतिखेर चीनमा नयाँ वर्ष, ल्होसार हुँदा दुवै नाकाबाट आयात कम छ। खोलामा बेलिब्रिज राख्दा माघ ६ गतेदेखि २५ गतेसम्म बाटो पूरै बन्द गरियो। यसपछि दैनिक औसत १०–१२ वटा कन्टेनर आइरहेको नाका प्रमुख भट्टराई बताउँछन्। 

महँगीको मारमा उपभोक्ता 

रसुवा  र तातोपानी नाका भौगोलिक दृष्टिकोणले पनि विकट भएकाले विपद्ले समस्या  भइरहन्छ। गत असोजमा मालवाहक सवारी लामो समय रोकिँदा सरकारले पनि उक्त  नाकाबाट लक्ष्यअनुसार राजस्व प्राप्त गर्न सकेन। प्रायः वर्षामा उत्तरी नाका प्रभावित  हुन्छ। 
मुक्तिप्रसाद श्रेष्ठ, निर्देशक तथा सूचना अधिकारी, भन्सार विभाग

विपत्तिको समयमा आपूर्ति व्यवस्थालाई सुचारु, चुस्त–दुरुस्त र पारदर्शी बनाउन सरकारले बेलैमा चासो दिनुपर्ने उपभोक्ताकर्मी बताउँछन्। यसै क्रममा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बजारमा कुनै पनि वस्तुको अभाव र कालोबजारी हुन नदिन सरकारले समयमै ख्याल गर्नु जरुरी रहेको टिप्पणी गर्छन्। प्राकृतिक प्रकोपले नाका अवरुद्ध हँुदा आपूर्ति शृंखला खल्बलिने र पर्याप्त सामान समयमा नआउँदा अभावसँगै उपभोक्ताले महँगीको भार खेप्नुपर्ने उनको भनाइ छ। यसर्थ राजमार्गमा प्राकृतिक विपत्तिले अवरुद्ध भएको अवस्थामा अत्यावश्यकता अनुसार वस्तुको सहज आपूर्ति गर्न सरकारको स्पष्ट नीति हुनु जरुरी भएको प्रति उनले सम्बद्ध निकायको ध्यानाकर्षण गराए। ‘हाम्रो बजारको माग कति हो ? कुन समयमा कति आयात गर्ने भनेर व्यवस्थापन कसरी गर्ने हो ? यस अनुरूप मात्रै प्रदेशमा भण्डारण क्षमता विस्तार गरेर सुव्यवस्था गर्नु आवश्यक छ’, उनको सुझाब छ।

‘राजमार्गहरू बाह्रैमहिना चल्न सक्ने व्यवस्था गरिनुपर्छ’ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा आपूर्ति शृंखलालाई व्यवस्थित गर्न काठमाडौंबाट उत्पादन क्षेत्रसम्म जोडिने सप्लाईका मुख्य ट्रंकलाइन र विदेशी व्यापारसम्म जोडिने मूल राजमार्गहरू बाह्रैमहिना चल्न सक्ने व्यवस्था गरिनुपर्ने सुझाव दिन्छन्। कस्ता–कस्ता प्राकृतिक जोखिम आई पर्न सक्छन् भन्नेबारे अध्ययन गरेर दीर्घकालीन आपूर्ति गुरुयोजना बनाउन जरुरी भएको उनले औंल्याए। ‘अझ दैवी प्रकोपको कारणले गर्दा उत्पादनमा पनि ह्रास हुन्छ। बाढीपहिरोले बालीहरू नोक्सान हुने भएकाले यस अवस्थामा मुलुकभित्र खाद्य अभाव हुन नदिन पनि सरकारले उपयुक्त योजना बनाएर कार्यान्वयन गर्नुपर्छ,’ ओझाले भने,‘भन्सार नाका बेलाबेला अवरुद्ध हुनेबारे एउटा मन्त्रालयले भन्दा पनि धेरैले हेर्नुपर्ने भएकाले अन्तर मन्त्रालय समन्वय हुनुपर्छ। यसबारे आपूर्ति मन्त्रालयले आपूर्ति सहज बनाउने दृष्टिले हेरेर मास्टर प्लान बनाउँदा नै सडक, पुलबारे भौतिक योजना तथा निर्माण मन्त्रालयको सहयोग चाहियो।’ राजमार्गसँगै उत्पादनदेखि उपभोक्तासम्म पुर्‍याउने आपूर्ति शृंखलामा कहाँ–के समस्या आउन सक्छन्, त्यसको पहिले नै आकलन गरेर बचाउने काम गर्नुपर्नेमा उनले जोड दिए।

सरकार दीर्घकालीन समाधानमा सम्भाव्यता नै देख्दैन

विपद्बाट व्यापारिक नाका अवरोध हुँदा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर व्यापार अवरुद्ध खुलाउन अनुरोध गर्ने काम तत्काल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव हुमकला पाण्डेय बताउँछिन्। उनका अनुसार विपद्बारे दीर्घकालीन योजनाका लागि विपद्को १४ वटा कलस्टरमध्येको एक रोड कनेक्टिभिटी हो। ‘सम्बन्धित मन्त्रालयसँगै नाकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसँग समन्वय गरेर सहजीकरणका लागि लिखित, मौखिक अनुरोध गरिरहेका हुन्छौं। तत्कालीनबाहेक भारी वर्षाजस्ता विपद्को क्षति रोक्न दीर्घकालीन पूर्वाधारका लागि भने इन्ट्रा मोडलले काम गर्छ,’ उनले भनिन्, ‘विपद्को १४ वटा क्लस्टरमध्ये रोड कनेक्टिभिटी हो। यसको काम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ।’ समितिका कार्यकारी निर्देशक आशिष गजुरेल उत्तरी खण्डको दुई नाका रसुवा र तातोपानी भौतिक रूपमै अप्ठेरो नाका भएको बताउँछन्। उनका अनुसार रसुवामा भोटेकोशीले प्रभावित भइरहन्छ र तातोपानीमा पनि दसैंअघिको वर्षामा दुई वटा पुल भत्कियो। उनी भन्छन्, ‘मुख्यतः धेरै सडकहरू खोलाकै किनारमा छन्। बीपी राजमार्ग, पृथ्वी राजमार्गमा पनि त्यस्तै छ। ठ्याक्कै बाढीपहिरोले बगाउँदा के गर्ने भन्ने पूर्व तयारी त हुँदैन। सडक विभागले ठाउँठाउँमा जेसीबीहरू व्यवस्थापन गरेको हुन्छ। सामान्य सुधार गरेर ढुंगा पल्टाउने, डाइभर्सन गर्न मिल्ने ठाउँमा तुरुन्त पनि हुँदो रहेछ। जस्तै तातोपानी र बीपी राजमार्ग।,’ यसर्थ डाइभर्सन बनाउन पूर्वतयारी छ तर ठूलो क्षति हँुदा पुल बनाउन भने अलि समस्या भएको कार्यकारी निर्देशक गजुरेल बताउँछन्। साना बेलिब्रिज बनाउँदा पुर्कोटा १२ दिनमा बनाइयो तर ठूला आयोजना गर्दा बजेट छुट्ट्याउनेदेखि टेन्डर गर्ने लामो प्रक्रियाले समय लाग्ने उनको भनाइ छ। असोजमा पुल भत्कियो भने तत्काल बजेट हुँदैन। त्यसैले अर्को वर्ष कुर्नुपर्ने समस्याबारे उनले दर्शाए। यस्तैखाले क्षति नदोहोरियोस् र आपूर्ति शृंखला नबिग्रियोस् भन्ने खालको दीर्घकालीन योजना नभएको उनले स्वीकार गरे। ‘बरु तत्कालीन डाइभर्सन बनाउनेजस्ता सुविधामा समित छ। सामान्य र मध्यम खालको क्षति हुँदा तुरुन्त बनाइहाल्ने क्षमता हामीसँग वृद्धि भइसकेको छ। तातोपानी नाकामा क्षति भएपछि डाइभर्सन भइसक्यो। एक ठाउँमा बेलिब्रिज, कल्भर्टहरू राखिएको छ। तर पुल बनाउन बजेट विनियोजन गरेर टेन्डरमा जाँदा समय लाग्छ। अब फेरि वर्षा सुरु हुन लागेपछि अवरोध हुन्छ। जति जे गरे पनि प्रकृतिभन्दा बलियो अरु हुन सक्दैन। भवितव्यमा तत्काल पुलहरूभन्दा जनधन जोगाउनेतर्फ बढी केन्द्रित हुनुपर्छ,’ उनले भने। तातोपानी जोड्ने नेपालको ड्राइपोर्टबाट चीनको नाकासम्म जाँदा दुई वटा पुल भत्काएको छ। पुल महँगो हो। यो दुई वटा बनाउन कम्तीमा १०–१५ करोड पर्ने बताउँदै कार्यकारी निर्देशक गजुरेलले अहिले सडक विभागले यसैबारे कुरा गरिरहेको जानकारी दिए। 

कुन वर्ष कति क्षति ?

उत्तरी  खण्डको दुई नाका भौतिक रूपमै अप्ठेरो नाका हो।  रसुवामा भोटेकोशीले  प्रभावित भइरहन्छ र तातोपानीमा पनि दसैंअघिको वर्षामा दुईवटा पुल भत्कियो । यस्ता क्षति नदोहोरियोस् र आपूर्ति शृंखला नबिग्रियोस् भन्ने खालको  दीर्घकालीन योजना छैन। आशिष गजुरेल, कार्यकारी निर्देशक, नेपाल इन्टरमोडल यातायात विकास समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 

२०७२ साल वैशाखदेखि २०७६ जेठ १४ गतेसम्म भूकम्पले पूर्वाधार क्षतिग्रस्त हुँदा नाका बन्द भयो। तातोपानी नाका पहिरो र भूकम्पले भत्कियो। २०७६ माघ १५ देखि २०७७ असार २७ गतेसम्म कोभिड—१९ महामारीका कारण चीनले नै नाका बन्द गर्‍यो। २०७७ असारदेखि कात्तिकसम्म नाका कहिले खुल्ने कहिले बन्द गर्ने भयो। 

२०७७ माघ ७ देखि माघ २७ गतेसम्म तातोपानीस्थित मितेरी पुलमर्मतका लागि नाका बन्द भयो। २०७७ माघ ३० देखि फागुन ८ गतेसम्म पर्व मनाउन कामदार र कर्मचारी बिदामा बस्दा नाका बन्द भयो। विभिन्न बहानामा अवरुद्ध हुँदै आएका तातोपानी र रसुवागढी नाका आर्थिक वर्ष २०७८÷७९ मा करिब÷करिब ठप्प अवस्थामा थियो। करिब तीन वर्षसम्म चीनले कोभिड—१९ प्रोटोकल भन्दै दैनिक कम्तीमा ३ देखि बढीमा ८ कन्टेनर सामान मात्र आयात गर्न दिन्थ्यो। कोभिड महामारीपछि ठप्प रसुवा–केरुङ नाका २०७९ पुस दोस्रो सातातिर मात्रै खुलायो। 

पछिल्ला हरेक वर्ष वर्षाका कारण भौतिक संरचना बिग्रिँदा नाका बन्द हुने गरेको छ। नेपाल–चीन व्यापारका लागि तातोपानी मुख्य नाका हो। तर, विभिन्न बहानामा पटक–पटक अवरुद्ध भएपछि त्यसको विकल्पका रूपमा रसुवागढी नाका खुला गरिएको थियो। कोभिड अघिसम्म केरुङ हुँदै रसुवा नाकाबाट दैनिक सयको संख्यामा मालवाहक कन्टेनर आउँथ्यो। 

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार यही वर्ष चाडपर्व लक्षित आयातीत सामान तातोपानी नाकामा ३ सय देखि ४ सय र केरुङ नाकामा झन्डै ७ सय वटा कन्टेनर रोकिए। झन्डै २ सयवटा कन्टेनरमा रहेका फलफूल कुहिँदा दसैंका लागि ल्याइएका सामानहरू पनि प्रयोगविहीन भए। नाका खुलेको बेला पनि दिनमा ४०–५० वटाभन्दा बढी भन्सार भएन। जसले गर्दा सामान थुप्रियो। केहिले ३०–४० दिन लगाएर ल्याउन मिल्ने सामान बन्दरगाहमार्फत पनि गरे। यसबीच, समयमा पर्याप्त सामान नआएर व्यापार नहुँदा बैंकको ऋण तिर्न नसकेर व्यापारीहरू मर्कामा परेको गुनासो समेत गरेका थिए। यातायात अवरुद्ध हुँदा एकातिर व्यापारीले लाखौं घाटा व्यहोरिरहेका छन्। अर्कोतर्फ सरकारको राजस्व संकलन प्रभावित भएको छ।

स्रोत: https://annapurnapost.com/story/474167/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More