चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिना (तेस्रो त्रैमाससम्म)मा वाणिज्य बैंकहरूको खुद नाफामा झिनो सुधार देखिएको छ । यो अवधिमा २० वाणिज्य बैंकको खुद नाफा ४४ अर्ब नौ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकहरूको खुद नाफा ४० अर्ब ४० करोड रुपैयाँ थियो । अर्थात्, बैंकहरूको खुद नाफामा तीन अर्ब ६८ करोडले वृद्धि भएको छ ।
२० मध्ये १३ बैंकको खुद नाफा बढेको छ भने सात बैंकको घटेको छ । खुद नाफामा सर्वाधिक सुधार गर्नेमा नेपाल बैंक अग्रपंक्तिमा छ । यो बैंकको खुद नाफा दुई अर्ब ६५ करोड रुपैयाँले बढेको छ । गत आवको नौ महिनामा १३ करोड पाँच लाख रुपैयाँ मात्रै खुद नाफा गरेको नेपाल बैंकले चालू आवको सोही अवधिमा दुई अर्ब ७८ करोडको नाफा आर्जन गरेको छ ।
विगतमा कर्जा असुल (रिकभरी) गर्न नसकेर कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) बढी राख्नुपर्दा नाफामा कमी आएको थियो । अहिले कर्जा असुलीमा सुधार भएकाले नाफामा पनि सुधार आएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले बताए ।
कुमारी बैंकले पनि समीक्षा अवधिमा खुद नाफा एक अर्ब ८० करोड रुपैयाँले बढाएर दुई अर्ब ८५ करोड पुर्याएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आवको तेस्रो त्रैमाससम्म तीन अर्ब २७ करोडको खुद नाफा आर्जन गरेकोमा यसपालि चार अर्ब ५४ करोड कायम भएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले खुद नाफामा एक अर्ब २२ करोडले बढाएर चार अर्ब ५३ करोड आर्जन गरेको छ । एभरेष्ट बैंकले खुद नाफामा ८४ करोड ९२ लाखले बढाएर तीन अर्ब ४५ करोड पुर्याएको छ । नबिल बैंकको नाफा ३८ करोडले बढेर पाँच अर्ब पाँच करोड कायम भएको छ ।
माछापुच्छ्रे बैंकको खुद नाफामा २४ करोड ७२ लाखको सुधार आएर एक अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ । त्यस्तै, सानिमा बैंकको नाफा २१ करोडले बढेर एक अर्ब ६५ करोड कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा २७ करोडले बढेर दुई अर्ब ४४ करोड कायम भएको छ । प्रभु बैंकको नाफामा झिनो सुधार आएर एक अर्ब ८७ करोड पुगेको छ । लक्ष्मी सन्राइजको एक अर्ब ६५ करोड, नेपाल एसबिआई बैंकको एक अर्ब २० करोड र एनएमबि बैंकको दुई अर्ब ३७ करोड खुद नाफा कायम भएको छ ।
तर, एनआइसी एसिया बैंकको खुद नाफा एक अर्ब ७५ करोडले खस्किएर १५ करोड ६७ लाखमा सीमित छ । हिमालयन बैंकको खुद नाफा एक अर्ब ४४ करोडले घटेर ५० करोडमा खुम्चिएको छ । राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा एक अर्ब १७ करोडले घटेर एक अर्ब २० करोडमा सीमित छ । सिटिजन्स इन्टरनेसनल बैंकको खुद नाफा खस्किएर ९६ करोड, कृषि विकास बैंकको एक अर्ब ८४ करोड र सिद्धार्थ बैंकको एक अर्ब ६६ करोडमा सीमित छ ।
१.१७ प्रतिशत विन्दुका दरले बढ्यो निष्क्रिय कर्जाको अनुपात
कुल कर्जामा निष्क्रिय कर्जाको औसत अनुपात १.१७५ प्रतिशत विन्दुका दरले बढेको छ । गत आवको तेस्रो त्रैमासमा औसत निष्क्रिय कर्जाको अनुपात ३.६५ प्रतिशत थियो । चालू आवको सोही अवधिमा यो ४.८२५ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिमा हिमालयन बैंकको निष्क्रिय कर्जाको अनुपात ४.९६ प्रतिशतबाट ७.६८ प्रतिशत पुगेको छ । त्यस्तै, कुमारी बैंकको यस्तो अनुपात ५.४९ प्रतिशतबाट ६.९८ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकको ४.६६ प्रतिशतबाट ६.०६ प्रतिशत कायम भएको छ । लक्ष्मी सन्राइज बैंकको ५.४९ प्रतिशतबाट ५.८६ प्रतिशत पुगेको छ । प्रभु, सिटिजन्स, नेपाल, एनआइसी एसिया र प्राइम कमर्सियल बैंकको यस्तो अनुपात ५ प्रतिशतभन्दा बढी छ । माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, एनएमबि, नेपाल एसबिआई, ग्लोबल आइएमई, कृषि विकास बैंक, सिद्धार्थ र नबिल बैंकको निष्क्रिय कर्जाको अनुपात ४ प्रतिशतभन्दा बढी छ ।
स्ट्यान्डर्ड चार्टर्डको निष्क्रिय कर्जाको अनुपात २.१४ प्रतिशतबाट १.४४ प्रतिशत र एभरेष्ट बैंकको यस्तो अनुपात ०.७ प्रतिशतबाट ०.६४ प्रतिशतमा सीमित छ ।
कर्जा असुली हुँदा नाफामा झिनो सुधार
तिलकराज पाण्डे, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक
यसपालि कर्जा असुली बढेको र ऋणीले नियमित किस्ता तिर्दा निष्क्रिय कर्जाहरू असल कर्जामा वर्गीकृत हुन थालेकाले प्रोभिजनिङ (कर्जा नोक्सानी व्यवस्था) घटेकाले खुद नाफामा सुधार देखिएको छ । यद्यपि, कर्जा रिकभरी पूर्ण रूपमा सहज बन्न सकेको छैन ।
स्रोत: https://www.nayapatrikadaily.com/news-details/165573/2025-04-21