Please wait ..
menu
Content
menu

पर्यटनको सात दशक, उपलब्धि कति ?

नेपाल विदेशी पर्यटकका लागि वि.स.२००७ (सन् १९५१) सालदेखि मात्रै खुला गरिएको हो । सन् १९५३ मा न्युजिल्याण्डका एटमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा थप पचिरित हुने अवसर जुट्यो । त्यसपछि नीजि व्यवसायिक पहलमा पर्यटन प्याकेज बिक्री गर्न थालिए पनि त्यो नगन्य रह्यो । पहिलो पञ्चवर्षीय योजना (सन् १९५६–१०६०) देखि मात्रै संस्थागत रुपमै पर्यटन प्रवद्र्धलाई अघि बढाउने रणनीति बनेको हो । वि.स.२०२९ (सन् १९७२) तत्कालिन प्रधानमन्त्री कीर्तिनिधी विष्टको पालामा दश वर्षे पर्यटन गुरुयोजना निर्माण भई लागु भएको थियो । गुरुयोजनाको समयावधि वि.स.२०२९–२०३९ मा १ लाख ७७ हजार पर्यटक नेपाल आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तथ्याङ्क छ । सन् १९९८ मा "भिजिट नेपाल इयर १९९८" घोषणा भएको थियो । उक्त वर्ष ४ लाख ६३ हजार ६८४ जना पर्यटक नेपाल भित्रिएका थिए ।

आनन्द अधिकारी, नेपाल इन डेटा August 23, 2024
Share source

नेपाल विदेशी पर्यटकका लागि वि.स.२००७ (सन् १९५१) सालदेखि मात्रै खुला गरिएको हो । यसअघि जहानिया राणा शासनकालमा कुटनीतिक प्रयोजन बाहेक अरु प्रयोजनका लागि पर्यटक आगमनमा रोक लगाइएको थियो । सन् १९५३ मा न्युजिल्याण्डका एटमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा थप पचिरित हुने अवसर जुट्यो । त्यसपछि नीजि व्यवसायिक पहलमा पर्यटन प्याकेज बिक्री गर्न थालिए पनि त्यो नगन्य रह्यो । पहिलो पञ्चवर्षीय योजना (सन् १९५६–१०६०) देखि मात्रै संस्थागत रुपमै पर्यटन प्रवद्र्धलाई अघि बढाउने रणनीति बनेको हो । पहिलो पञ्चवर्षीय योजनाले नेपालमा पर्यटन क्षेत्रको ठूलो संभावना रहेको र त्यसका लागि पूर्वाधार विकास निर्माणको आवश्यकता औंल्याएको थियो ।

वि.स.२०२९ (सन् १९७२) तत्कालिन प्रधानमन्त्री कीर्तिनिधी विष्टको पालामा दश वर्षे पर्यटन गुरुयोजना निर्माण भई लागु भएको थियो । गुरुयोजनाले वैदेशिक मुद्रा आर्जन, क्षेत्रीय विकास, रोजगारी प्रर्वद्धन तथा आयका अवसरमा वृद्धि गर्न विभिन्न कार्यक्रम सरकारसमक्ष सिफारिस गरेको थियो । गुरुयोजनाको समयावधि वि.स.२०२९–२०३९ मा १ लाख ७७ हजार पर्यटक नेपाल आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तथ्याङ्क छ । गुरूयोजनाले काठमाडौंपछिको अर्को पर्यटकीय केन्द्र (हब) पोखरालाई बनाउने र चितवन तथा लुम्बिनीलाई नेपालको पर्यटनका थप "आधार क्षेत्र"को रूपमा विकास गर्ने सोच अघि बढाएको थियो । सोही गुरुयोजनाको जगमा २०३४ सालमा पर्यटन मन्त्रालयको स्थापना भयो । त्यस लगत्तै नेपालको पर्यटन ऐन (२०३५) बन्यो । प्रजातन्त्रको उदयपछि भने पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पर्ने तथा यसलाई प्रभाव पार्ने अन्य ऐन–कानुन तथा नीति–नियम निर्माणले गति लियो । राष्ट्रिय हवाई नीति २०५०, नेपाल नागरिक उड्डयन ऐन २०५३, नेपाल पर्यटन बोर्ड ऐन, २०५३ प्रमुख ऐन हुन् । त्यसयता ७ दशक लामो समय अवधिमा नेपालको पर्यटन क्षेत्रले धेरै आरोह अवरोह भोग्दै आएको छ । वि.स.२०५२ देखि २०६२ सालसम्म चलेको सशस्त्र द्धन्द्ध, २०७२ सालको विनाशकारी भूकम्प र सन् २०१९ मा विश्वभर फैलिएको कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुप-र्यो ।

सन् १९९८ (तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा) "भिजिट नेपाल इयर १९९८" घोषणा भएको थियो । उक्त वर्ष ४ लाख ६३ हजार ६८४ जना पर्यटक नेपाल भित्रिएका थिए । कुल आम्दानी ९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ भएको थियो । सन् १९९८ मा कुल गार्हस्थ्य उत्पादनको ३.३ प्रतिशत हिस्सा पर्यटन क्षेत्रको थियो । दश लाख पर्यटक भित्रयाउने लक्ष्यसहित (तत्कालिन एमालेका नेता माधव कुमार नेपाल प्रधानमन्त्री रहेका बेला) सन् २०११ लाई नेपालले पर्यटक वर्षको रुपमा मनायो । उक्त साल लक्ष्यभन्दा कम ७ लाख ३६ हजार २१५ जना पर्यटक नेपाल आएका थिए । पर्यटन क्षेत्रबाट २४ अर्ब ६१ करोड १० लाख रुपैयाँ आम्दानी भएको थियो भने कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको हिस्सा १.६ प्रतिशत थियो ।

सन् २०२० मा २० लाख पर्यटक भित्रयाउनेगरी "भिजिट नेपाल २०२०" योजना अघि सारिएको थियो । एमाले नेतृत्वको सरकारले यस अभियानलाई प्रतिष्ठाकै विषय बनाएको थियो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि योगेश कुमार भट्टराईले अभियानको नेतृत्व लिएका थिए । अभियान सुरु भएलगत्तै विश्वभर कोरोना महामारी फैलिएपछि बीचमै स्थगित गर्नुपर्यो । उक्त साल २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए । 


आरोह–अवरोहपूर्ण पर्यटक आगमन

वि.स. २००८ सालदेखि नै विदेशी पर्यटकका लागि नेपाल खुला गरिएपनि त्यसको आठ वर्षपछि मात्रै २०१८ सालदेखि पर्यटक आगमनको व्यवस्थित तथ्याङ्क राख्न सुरु भएको हो । वि.स. २०१८ सालमा ६ हजार १७९ जना विदेशी पर्यटक नेपाल आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सार्वजनिक गरेको नेपाल टुरिजम्म स्टाटिस्टिक्स् १९६२ मा उल्लेख छ । उक्त वर्ष कुल पर्यटक आगमनको ५८ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको थियो । दोस्रोमा बेलायतबाट ८.९ प्रतिशत र तेस्रोमा फ्रान्सबाट ८.५ प्रतिशत पर्यटक नेपाल भित्रिएका थिए । २०१८ यता तुलनात्मक रुपमा (भूकम्प, कोरोनामा बाहेक) पर्यटक आगमन बढेको छ । तर, लक्ष्य अनुरुपको उपलब्धि भने हासिल भएको छैन । सुरुवातदेखि नै पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । वार्षिक बजेटमा पर्यटन लक्षित कार्यक्रमले प्राथमिकता पाएका छन् । प्रदेश र स्थानीय सरकारले समेत पर्यटक लक्षित कार्यक्रम अघि बढाएका छन् ।

चित्र १: एक दशकमा पर्यटक आगमनको स्थिति (संख्यामा)

श्रोतः Database on the Nepalese Economy,नेपाल राष्ट्र बैंक

नेपालमा शसस्त्र द्धन्द्धको समय (२०५२–२०६२) सम्म औषतमा वार्षिक २.३० प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ । गणतन्त्र स्थापनापछि (२०६२ देखि २०७१) सम्म पर्यटक आगमनदर बढेको पाइन्छ । यस अवधिमा औषतमा वार्षिक ८.१६ प्रतिशतले पर्यटक आगमन बढेको छ । वि.स.२०७२ बैशाखमा गएको विनाशकारी भूकम्प र २०७६ सालदेखि सुरु कोरोना महामारीमा भने पर्यटक आगमन सुस्त छ । भूकम्प गएको दोस्रो सालदेखि नेपालको पर्यटन क्षेत्रले गति लिएको थियो । त्यसको चार वर्षपछि विश्वभर फैलिएको कोरोना महामारीले भने ठूलो क्षति पुर्यायो । कोरोना पछिका वर्षहरुमा फेरी पर्यटक आगमनले गति लिएको छ । पर्यटकीय पूर्वाधार विकासका काम अघि बढेका छन् भने नीजि क्षेत्रले पनि पर्यटनका क्षेत्रमा लगानी बढाएको छ । बहुआयामिक लाभ लिनसक्ने क्षेत्र हुँदाहुँदै पनि यसबाट अपेक्षाकृत लाभ लिन नसकिएको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको न्युन योगदानले देखाउँछ । आर्थिक वर्ष २०७९/०८० मा जिडीपीमा पर्यटन क्षेत्रको योगदान १.१ प्रतिशतमात्रै छ ।

नेपालमा छिमेकी मुलुक भारतीय पर्यटकको आगमन पहिलो नम्बरमा छ । दोस्रोमा चिनीयाँ पर्यटक आउँछन् । सन् २०१४ देखि २०२३ सम्मको एक दशकको अवधिमा भारतीय पर्यटकको औषत वार्षिक वृद्धिदर ३९.२५ प्रतिशत छ । यस अवधिमा चिनीयाँ पर्यटकको औषत वार्षिक वृद्धिदर भने ५५.९४ प्रतिशत छ । सन २०२२ मा ९,६९९ जना चिनीयाँ पर्यटक नेपाल आएका थिए । सन् २०२३ मा भने ५३४ प्रतिशत बढी ६० हजार ८७८ जना चिनीयाँ पर्यटक नेपाल भित्रिए । यही कारण संख्यात्मक रुपमा भारतीय पर्यटकको आगमन बढी भएपनि वार्षिक औषत वृद्धिदरमा चिनीयाँ पर्यटकको प्रतिशत बढी देखिएको हो ।

चित्र २: कुन देशबाट कति आए पर्यटक (संख्यामा, सन् २०१४–२०२३ सम्म)

श्रोतः Database on the Nepalese Economy,नेपाल राष्ट्र बैंक


बसाई लम्याउन र खर्च बढाउनै सकस

दश वर्ष (सन् २०१४–२०२३) सम्मको तथ्याङ्कलाई आधार मान्दा नेपाल घुम्न आउने विदेशी पर्यटकको औषत बसाई १३.३६ दिन छ । माओवादी सशस्त्र द्धन्द्धको समय(सन १९९५–२००४) सम्म एक दशकको अवधिमा नेपाल घुम्न आउने पर्यटकको औषत बसाई ११.४१ दिन थियो । देशमा सशस्त्र द्धन्द्ध समाप्त भएको दुई दशक पुग्न लागेको छ । दुई दशकको अवधिमा समेत उल्लेख्य रुपमा पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन । नेपाल आउने कुल पर्यटकमा बिदा मनाउनका लागि आउने पर्यटकको संख्या उच्च छ । सन २०२३ मा आएका पर्यटकमध्ये ६२.५० प्रतिशत पर्यटक बिदा मनाउन र घुमघाम प्रयोजनका लागि नेपाल आएका थिए । यस्तै, १५.२० प्रतिशत पर्यटक ट्रेकिङका लागि र १३.१० प्रतिशत धार्मिक प्रयोजनका लागि नेपाल आएका पर्यटन मन्त्रालयको नेपाल टुरिजम्म स्टाटिस्टिक्स २०२३ मा उल्लेख छ । नेपाल आउने पर्यटकमा बिदा मनाउने प्रयोजनका लागि आउने पर्यटकको संख्या उच्च रहेकाले उनीहरुको नेपाल बसाई लम्ब्याउने सकिने संभावना बलियो छ ।

सरकारले चालु आर्थिक वर्ष १६ लाख पर्यटक भित्रयाउने लक्ष्यसहित पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्य राखेको छ । जनकपुरको जानकी क्षेत्रलाई विवाह हव तथा लुम्बिनी क्षेत्रलाई बर्थिङ हवको रुपमा विकास गर्ने सरकारको योजना छ । आर्थिक वर्ष सन् २०१३/०१४ देखि २०२२/०२३ सम्मको एक दशकको अवधिमा वार्षिक औषत ५० अर्ब ६१ करोड रुपैयाँ बराबरको पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकको औषत दैनिक खर्च ४१ डलर छ । नेपाल भ्रमणमा आउने ९० प्रतिशत विदेशी पर्यटक हवाई मार्ग भएर आउँछन् । बाँकी १० प्रतिशत मात्रै सडकमार्ग भएर आउने गरेका पर्यटन मन्त्रालयको नेपाल टुरिजम्म स्टाटिष्टिक २०२३ मा उल्लेख छ । सडक मार्ग भएर आउने पर्यटकमध्ये ८१ प्रतिशत हाराहारी रुपन्देहीको बेहलिया नाका भएर आएका छन् । बेहलिया नाका भएर आउनेमा भारतीय पर्यटक र भारत भ्रमण सकेर नेपाल भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटक छन् । सडक मार्ग भएर नेपाल आउने पर्यटकमध्ये रसुवागढी नाका भएर आउने पर्यटक १० प्रतिशत छन् । उनीहरु सबैजसो चिनीयाँ पर्यटक हुन् ।

सन् २०२३ मा दश वर्ष यताकै सबैभन्दा धेरै ३१ हजार ४६० वटा अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन् । उक्त उडानबाट ४५ लाख ४१ हजार १३७ यात्रुले सेवा लिएका छन् । नेपाल भ्रमणमा आउने पर्यटकको पहिलो रोजाईमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण पर्ने गरेको तथ्याङकले देखाउँछ । सन् २०२३ मा नेपाल आएका पर्यटकमध्ये ३ लाख भन्दा धेरैले विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणको भ्रमण गरेका छन् । यसमा पनि चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या ठूलो छ । यस्तै, भारतीय बाहेक १ लाख १८ हजार पर्यटकले पशुपतिनाथ मन्दिर क्षेत्रको भ्रमण गरेका छन् भने भारतीय पर्यटक बाहेक ८५ हजार २ सय जनाले लुम्बिनी क्षेत्रको भ्रमण गरेका नेपाल टुरिजम्म स्टाटिष्टिक २०२३ मा उल्लेख छ । सन् २०२३ मा पर्यटन विभागबाट अनुमति लिएर २ हजार ५२३ जना विदेशी पर्यटकले विभिन्न हिमालको आरोहण गरेका छन् । उनीहरुबाट ८४ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।

चित्र ३: एक दशकको अवधिमा पर्यटन क्षेत्रबाट आर्जन भएको विदेशी मुद्रा (रु.करोडमा)

श्रोतः Database on the Nepalese Economy,नेपाल राष्ट्र बैंक


पर्यटन पूर्वाधार

सन् २०२३ मा पर्वतारोहण दल (हिमाल आरोहण दल) को संख्या १५ प्रतिशतले बढेर २ हजार २५३ पुगेको छ । सन् २०२२ को तुलानामा सन् २०२३ मा पर्वतारोहीको संख्या (पर्यटन विभाग र नेपाल पर्वतारोहण संघबाट अनुमति लिएका गरी) ११ प्रतिशतले बढेर ९ हजार ३९८ पुगेको छ ।  सन् २०२३ मा पर्वतारोहणबाट सरकारलाई ९९ करोड ५३ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको थियो । वि.स.२०८० पुषसम्ममा डिलक्स् सहितका तारे होटेलको संख्या १८२ पुगेको छ । तारेस्तरका होटेलमा १७ हजार ७३ शैया रहेको आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख छ । तारेस्तर बाहेकका डिलक्स्, लक्जरी हेरिटेज बुटिक होटेल सहित पर्यटकीय होटेल, लज र रिसोर्टको संख्या २०८० पुषसम्ममा १२ सय ३४ पुगेको छ । यी तारेसतर बाहेकका होटेलमा ३७ हजार २९७ शैया छन् । २०८० पुषसम्ममा १३ वटा क्यासिनो र मिनि क्यासिनो १७ गरी ३० वटा क्यासिनो संचालनमा छन् । २०८० पुषसम्ममा ४,८४५ ट्राभल एजेन्सी, ३,१९१ वटा ट्रेकिङ एजेन्सी, ९४ वटा -याफ्टिङ् एजेन्सी, ११२ वटा पर्यटक यातायात सेवा, ५,१२३ टुर गाइड, २६,२९२ ट्रेकिङ गाईड दर्ता भएका आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख छ । नेपालका तारे र पर्यटकस्तरीय होटेलले दैनिक ५४ हजार ३७० पर्यटकलाई व्यवस्थापन गर्न सक्ने क्षमता राख्छन् । पछिल्लो समय नयाँ नयाँ पर्यटकीय गन्तव्यको विकास भएसंगै पर्यटक लक्षित साहसिक खेल पूर्वाधार विकासले पनि गति लिएको छ । 


पर्यटनसंग सम्बन्धित संघसंस्था र तिनको भूमीका

पर्यटन उद्योगको व्यवसथापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायतका जिम्मेवारी पूरा गर्नेगरी सरकारले वि.स.२०७१ भदौमा पर्यटन विभागको स्थापना गरेको छ । विभागले पर्यटन उद्योगको दर्ता, नविकरण, स्तरीकरण, अनुगमन तथा पर्यटन व्यवसायको नियमन गर्दै आइरहेको छ ।   पर्यटन प्रवद्र्धन, नयाँ गन्तव्यको विकास लगायतका क्षेत्रमा काम गर्न वि.स.२०५५ सालमा पर्यटन बोर्डको गठन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहनेगरी पर्यटन तथा होटेल क्षेत्रमा दक्ष जनशक्ति विकास गरी विश्व पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउन वि.स.२०२९ सालमा होटेल व्यवस्थापन तथा पर्यटक तालिम केन्द्र, २०५५ मा नाम परिवर्तन गरी नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) स्थापना गरिएको छ । पर्वतीय प्रशिक्षणसम्बन्धि काम गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तरगत रहनेगरी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान संचालनमा छ । प्रतिष्ठानले हिमाल अध्ययन सम्बन्धि स्नातक तथा स्नातकोत्तरको कक्षा संचालन गर्दै आइरहेको छ । नेपाल भ्रमणमा आउने पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन वि.स.२०४५ सालदेखि पर्यटक प्रहरीले काम गर्दै आइरहेको छ ।

निजी क्षेत्रका संघसंस्था

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)

सन् १९६६ मा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको पहलमा नाट्टाको स्थापना भएको हो । अहिले यो संस्थामा ५५० सदस्य रहेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

सन् १९७९ मा स्थापना भएको टान निजी क्षेत्रका पदयात्रा सञ्चालक संस्थाहरूको छाता संगठन हो । यसले साहसिक पर्यटनको प्रवद्र्धनका लागि भूमीका खेल्दै आएको छ ।

होटल सङ्घ नेपाल (हान)

सन् १९६६ मा स्थापना भएको होटल सङ्घ नेपाल (हान)मा देशभरका ३०० होटल, लज र रिसोर्टहरू सदस्य छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)

नेपाल पर्वतारोहण सङ्घ सन् १९७३ मा स्थापना भएको हो । यो एउटा गैर नाफारहित संस्थाको रुपमा काम गर्दै आएको छ । हिमाल तथा त्यसवरपरका विविध समस्या समाधानको प्रयास गर्ने, हिमाली संस्कृतिको संरक्षणका लागि आवाज उठाउने महत्वपूर्ण संस्थाको रुपमा यसले काम गर्दै आएको छ । एनएमएले नेपालका ३३ वटा हिमालहरू आरोहणका लागि अनुमति समेत दिन्छ ।

नेसनल एसोसियसन अफ -याफ्टिङ एजेण्टस् (नारा)

नेपालका नदीहरूमा साहसिक जलयात्रा सञ्चालन गर्ने संस्थाको छाता संगठनको रुपमा रहेको नारा सन् १९८९ मा स्थापना भएको हो । पर्यटन क्षेत्रमा काम गर्ने अन्य संस्थाहरुमा हिमालय उद्धार सङ्घ (एचआरए), नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, टुर गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), नेपाल वायुसेवा सञ्चालक सङ्घ (एओन), सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो), नेपाल नेसनल माउण्टेन गाइड एसोसियसन (एनएनएमजीए),रेष्टुराँ एण्ड बार एसोसिएसन– नेपाल (रेबान) लगायत छन् ।


निष्कर्ष

बहुआयामिक लाभ लिन सकिने क्षेत्रमध्ये पर्यटन क्षेत्र एक हो । प्रत्यक्ष वैदेशिक मुद्रा आर्जन, स्थानीय वस्तुको खपत तथा बिक्रीमार्फत स्वरोजगारको विकास, होटेल क्षेत्रको बिस्तारमार्फत रोजगारी सिर्जना लगायतमा पर्यटन क्षेत्रको योगदान ठूलो रहन्छ । प्राकृतिक सुन्दरता, हिमाल आरोहण, ट्रेकिङ, धार्मिक स्थल र अध्यात्मिक केन्द्रको रुपमा नेपाल परिचित छ । बिदा मनाउने उदेश्यले प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने विदेशी पर्यटकको संख्या ठूलो छ । हिमाल आरोहण र तीर्थ यात्राका लागि आउने पर्यटकको संख्या पनि वर्षेनी बढ्दै आइरहेको छ । पर्यटन पूर्वाधारमा बिस्तार, नयाँ गन्तव्यको विकास, यात्रालाई सुरक्षित, सहज र छिटो बनाउन सकेको खण्डमा नेपालमा पर्यटकको संख्या बढाउन सकिन्छ । साथसाथै उनीहरुको नेपाल बसाई लम्ब्याउन र दैनिक खर्च बढाउने वातावरण निर्माण गर्न सकेको खण्डमान पर्यटनबाट हुने आय बढाउन सकिन्छ । संख्यामा भन्दा पनि गुणस्तरीय पर्यटक प्रवद्र्धनमा नेपालले ध्यान दिनुपर्छ । छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटकको संख्या पछिल्ला वर्षहरुमा निकै बढेको छ । विषेश प्रवद्र्धनात्मक कार्यक्रम ल्याएर उनीहरुलाई नेपालप्रति आकर्षित गर्न सके छोटो समयमै पर्यटन क्षेत्रबाट धेरै लाभ लिनसक्ने अवसर प्राप्त हुनेछ ।


Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More