Please wait ..
menu
Content
menu

सङ्ख्या संवादका आधारभूत सिद्धान्त

परिमाणमा व्यक्त गर्न सकिने वस्तु तथा विषयका बारेमा लिखित वा श्रव्यदृश्य सामग्रीमार्फत संवाद गर्दा प्रयोग गरिने सङ्ख्याले पाठक वा श्रोता वा दर्शकलाई सम्बन्धित सन्दर्भसहित अपेक्षाकृत सूचना पूर्ण रूपमा उपलब्ध गराउन सक्नुपर्दछ। सङ्ख्याको प्रयोग गरी लेख, रचना, समाचार वा अन्य सामग्री तयार गर्दा मूलतः प्रयोग गरिने सङ्ख्याको अर्थ, तिनीहरूको मापन तथा गणना विधिका बारेमा लेखक पूर्णरूपले जानकार हुन आवश्यक हुन्छ।

राष्ट्रिय योजना आयोग Share source May 21, 2025

.  परिचय

परिमाणमा व्यक्त गर्न सकिने वस्तु तथा विषयका बारेमा लिखित वा श्रव्यदृश्य सामग्रीमार्फत संवाद गर्दा प्रयोग गरिने सङ्ख्याले पाठक वा श्रोता वा दर्शकलाई सम्बन्धित सन्दर्भसहित अपेक्षाकृत सूचना पूर्ण रूपमा उपलब्ध गराउन सक्नुपर्दछ। सङ्ख्याको प्रयोग गरी लेख, रचना, समाचार वा अन्य सामग्री तयार गर्दा मूलतः प्रयोग गरिने सङ्ख्याको अर्थ, तिनीहरूको मापन तथा गणना विधिका बारेमा लेखक पूर्णरूपले जानकार हुन आवश्यक हुन्छ। अध्येता, अनुसन्धानकर्ता, सञ्‍चार जगत्‌लगायत जुनसुकै क्षेत्रका लेखकहरूका लागि सङ्ख्याको प्रयोग गरी लेख लेख्‍नु एउटा अत्यावश्यक कलाभित्र पर्ने विषय हो। किनभने परिमाणात्मक विश्‍लेषणमा सङ्ख्याको प्रयोग तथा प्रस्तुति एउटा प्राविधिक विषय हुनुका साथै उल्लेख गरिएका सङ्ख्याले निकै महत्त्व राखेको हुन्छ। सङ्ख्या तथ्यसँग सम्बन्धित हुन्छ, जसलाई तथ्याङ्‌क भनिन्छ। लेख, रचना वा समाचारमा तथ्याङ्‌कलाई निम्नानुसार तीन किसिमले प्रस्तुत गर्न सकिन्छः

१. तथ्याङ्‌क प्रयोग गरिएको वाक्य वा अनुच्छेद,

२. तथ्याङ्‌कको तालिका र

३. तथ्याङ्‌क प्रस्तुत गर्ने लेखाचित्र।

कस्ता तथ्याङ्‌कलाई कुन विधिबाट प्रस्तुत गर्ने वा कस्तो सन्दर्भमा कुन विधि उपयुक्त हुन्छ भन्‍ने बारेमा लेखक सदैव चनाखो हुनु पर्दछ। मात्रात्मक वा परिमाणात्मक सोचाइलाई बुझ्न, प्रयोग गर्न वा प्रवर्धन गर्न चाहने जो कोहीलाई यी विषयहरू निकै महत्त्वपूर्ण हुन्छन्। यिनै पृष्‍ठभूमिमा रहेर यस पाठले खास गरी महत्त्वपूर्ण सूचना बोकेका तथ्याङ्‌कको विशेष सञ्‍चार उद्देश्य र सन्दर्भ दिएर प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तरिकाहरू पहिचान र चित्रण गर्न मदत गर्दछ।

२. सङ्ख्या संवादका आधारभूत सिद्धान्त

यस लेखमा तथ्याङ्‌कका बारेमा लेख, रचना वा समाचार लेख्दा ध्यान दिनुपर्ने प्रमुख विषय समेटियोस् भन्‍ने उद्देश्यका साथ प्राध्यापक जेन ई. मिलरद्वारा लिखित The Chicago guide to writing about numbers पुस्तकमा उल्लिखित सङ्ख्या संवादका आधारभूत सात सिद्धान्तका बारेमा चर्चा गरिएको छ  

सिद्धान्त १: तथ्यको लागि सन्दर्भ स्थापित गर्ने

वैज्ञानिक प्रक्रियाद्वारा लेख तथा रचना तयार गर्नका लागि सम्बन्धित सन्दर्भ (Context) तय गर्नु निकै महत्त्वपूर्ण हुन्छ। समसामयिक घटना परिवेशमा "को, के, कहिले, कहाँ" जस्ता प्रश्‍नहरूले विशिष्‍टीकृत सान्दर्भिक विषय छनोटका लागि योगदान गर्दछन्। यस्ता प्रश्‍नबिना पाठकहरूमा सम्बन्धित विषय सामान्यीकरण गर्ने मान्यता स्थापित हुन्छ र प्रयोग गरिएका तथ्याङ्‌कको मुख्य उद्देश्य प्राप्‍ति हुँदैन।

उदाहरणः

कमजोर वाक्यः कुल जनसङ्ख्यामा १,४२,९१,३११ जना पुरुष र १,४९,०११६९ जना महिलाको जनसङ्ख्या रहेको छ।

यो वाक्यमा "कहिले र कहाँ" जस्ता प्रश्‍नहरू अनुत्तरित छन् जसका कारण पाठक द्विविधामा त पर्छन् नै, कतिपय अवस्थामा यस्ता तथ्याङ्‌कको गलत व्याख्या हुने सम्भावना पनि रहन्छ। जस्तैः माथिको वाक्यमा यदि कसैले हाल नेपालको कुल जनसङ्ख्यामा १,४२,९१,३११ जना पुरुष र १,४९,०१,१६९ जना महिलाको जनसङ्ख्या रहेको छ भनिदिए भने यसले गलत अर्थ राख्दछ। तसर्थ, कहिले र कहाँसँग सम्बन्धित सन्दर्भसहित उक्त वाक्यलाई देहायबमोजिम पुनर्लेखन गर्न सकिन्छ।

सुधारिएको वाक्यः राष्‍ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाबमोजिम २०७८ साल असार ८ गते नेपालको कुल जनसङ्ख्यामा १,४२,९१,३११ जना पुरुष र १,४९,०११६९ जना महिलाको जनसङ्ख्या रहेको छ।

यो वाक्यमा "कहिले र कहाँ" जस्ता प्रश्‍नहरूको सन्दर्भ समेटिएको छ। यद्यपि, अधिकांश पाठकहरूले यस प्रकारको तथ्याङ्‌क पढ्दै गर्दा थप गणनाबिना नै नेपालको कुल जनसङ्ख्या तथा महिला र पुरुषको हिस्सा प्रतिशतमा जान्‍ने इच्छा राख्दछन्। त्यसका लागि निम्नानुसारको वाक्य उपयुक्त हुन्छ।

सबल वाक्यः राष्‍ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाबमोजिम २०७८ साल असार ८ गते नेपालको कुल जनसङ्ख्या २,९१,९२,४८० मा १,४२,९१,३११ (४८.९६%) जना पुरुष र १,४९,०११६९ (५१.०४%) जना महिलाको जनसङ्ख्या रहेको छ।

यो वाक्यमा प्रस्तुत गर्न खोजिएको तथ्याङ्‌कको मूलभूत सन्दर्भ समावेश भएको छ। यसमा प्रस्तुत भएका सूचनाको गलत व्याख्या हुने र पाठकले नबुझ्ने भन्‍ने प्रश्‍न नै रहँदैन। "को, के, कहिले, कहाँ" जस्ता प्रश्‍नहरू एउटै वाक्यमा समेटिनुपर्दछ भन्‍ने हुँदैन। साधारण वाक्यहरूको सहायताले पनि पूर्ण सूचना प्रवाह गर्न सकिन्छ।

सूचना वा तथ्याङ्‌कले सामान्यतया कुनै पनि तथ्य, वस्तु, घटना वा अवस्थालाई मापन गरेर प्राप्‍त परिमाणलाई सङ्ख्याको माध्यमबाट प्रतिनिधित्व गराउने काम गर्दछ। यस क्रममा प्रस्तुत गरिने तथ्याङ्‌कको मापन गरिएको एकाइ निकै महत्त्वपूर्ण हुन्छ। मापनका विभिन्‍न प्रणालीहरू हुन्छन्। मापनको स्केल पनि फरक फरक हुन सक्छ। उदाहरणका लागि तौललाई किलोग्राम वा पाउण्ड एकाइमा, तापक्रमलाई डिग्री सेल्सियस वा डिग्री फरेनहाइट वा डिग्री केल्भिन एकाइमा, दुरीलाई किलोमिटर वा माइल एकाइमा मापन गरिएको हुन्छ। त्यसै गरी विभिन्‍न प्रणालीमा आधारित पात्रो (क्यालेन्डर) बमोजिमको समयावधि मापन, देशअनुसार मौद्रिक मापन जस्ता विविधताले यससँग सम्बन्धित तथ्याङ्‌क प्रस्तुत गर्दा स्पष्‍ट रूपमा मापन एकाइको माग गर्दछ। कोरा सङ्ख्यामा व्यक्त गरिने तथ्य जस्तैः समुदायस्तर, स्थानीयस्तर, राष्‍ट्रियस्तर, अन्तर्राष्‍ट्रिय स्तरबमोजिम जनसङ्ख्यालाई पनि क्रमशः सय, हजार, लाख, करोड आदिमा व्यक्त गर्न सकिन्छ। यस किसिमका मापनका विविधतालाई दृष्‍टिगत गरी तथ्याङ्‌क प्रस्तुत गर्दा सम्बन्धित मापन एकाइ पनि अनिवार्य रूपमा समावेश गर्नु पर्दछ। मापन एकाइको प्रयोगले मूलतः तथ्याङ्‌कीय लेखहरूमा "के" भन्‍ने प्रश्‍नको उत्तर दिन्छ। समग्रमा भन्‍नुपर्दा प्रस्तुत गरिएको तथ्याङ्‌कले कुन तथ्यको मापन गरेको हो, कुन एकाइमा मापन गरिएको हो, कुन समयका लागि मापन गरिएको हो र कुन स्थानको मापन हो भन्‍ने कुरालाई प्रतिबिम्बित गरेको हुनु पर्दछ।

सिद्धान्त २: सरल र रोचक उदाहरण तथा दृष्‍टान्तहरूको प्रयोग गर्ने

तथ्याङ्‌कको प्रयोग मूलभूत रूपमा निर्णय प्रक्रियाका लागि र मनोरञ्‍जन वा आत्मबोधका लागि प्रयोग गर्ने गरिन्छ। खास गरी, संस्थाहरूले यसको प्रयोग निर्णय प्रक्रियाका लागि गर्दछन् भने नितान्त व्यक्तिगत रूपमा तथ्याङ्‌क मनोरञ्‍जन वा आत्मबोधका लागि प्रयोग गरिन्छ। उदाहरणका लागि बजारमा यदि झाडापखालाका बिरामीको तथ्याङ्‌कको बढ्दो ग्राफ देखियो भने जीवनजल उत्पादक कम्पनीहरूले आफ्नो उत्पादन बढाउने निर्णय गर्न सक्दछन्। अर्कोतर्फ आत्मबोधका लागि एउटा सर्वसाधारण व्यक्ति निर्वाचनको नतिजा दर्शाउने तथ्याङ्‌कको व्यग्र प्रतिक्षा गरिरहेको हुन्छ। यदाकदा यी दुवै अवस्थामा कतिपय व्यक्तिहरूका लागि तथ्याङ्‌क निरस विषय पनि हुन सक्दछ। यसका प्रमुख कारणहरूमा तथ्याङ्‌क बुझ्न नसक्नु, तथ्याङ्‌कप्रतिको अविश्‍वास, तथ्याङ्‌कप्रतिको विकर्षण, यथार्थताबाट पन्छिन खोज्नु आदि पर्दछन्। यीमध्ये तथ्याङ्‌कको बुझाइलाई सरल र रुचिकर बनाउने उत्तम उपाय भनेको यससँग सम्बन्धित रहेर प्रभावकारी, सरल, परिचित तथा रोचक उदाहरणहरूको प्रयोग गर्नु हो। उदाहरणका लागि नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आयकरको दायरामा विस्तार गरेको थियो, जसअनुसार अविवाहित व्यक्तिले वार्षिक ५ लाख रुपियाँसम्म र विवाहित व्यक्तिले वार्षिक ६ लाख रुपियाँसम्मको आम्दानीमा आयकर बुझाउन नपर्ने भएको थियो। यसभन्दा अघिल्लो वर्षमा उक्त दायरा क्रमशः ४ लाख रुपियाँ र ४ लाख पचास हजार रुपियाँ थियो। यो विषय रुचिकर तरिकाले स्पष्‍ट पार्न देहायबमोजिमको उदाहरण दिन सकिन्छ।

उदाहरणः मानौँ, यदि तपाईँ अविवाहित हुनुहुन्छ र तपाईँले एक वर्षमा ६ लाख रुपियाँ आम्दानी गर्नुभयो भने ५ लाख रुपियाँ आम्दानीको आयकर तिर्नु पर्दैन। बाँकी एक लाख रुपियाँमा १० प्रतिशतका दरले जम्मा १०,००० रुपियाँ आयकर तिर्नुपर्ने हुन्छ। यही आम्दानीका लागि अघिल्लो वर्ष भने २०,००० रुपियाँ आयकर तिर्नुपर्थ्यो। सरल भाषामा यी सबै कुराहरूलाई यसरी व्यक्त गर्न सकिन्छः "सरकारको नयाँ नीतिले वार्षिक ६ लाख रुपियाँ कमाउने अविवाहित व्यक्तिले अघिल्लो वर्षभन्दा कम आयकर तिर्नुपरेका कारणले मात्र वार्षिक १०,००० रुपियाँ बचत गर्दछन्।"

कतिपय सूचकहरू बुझाउनका लागि चिरपरिचित स्तरीय वस्तुहरूको आकार, तौल वा क्षमतासँग तुलना गरेर पनि उदाहरण दिन सकिन्छ। जस्तैः राष्‍ट्रिय जनगणना २०७८ को नजिताबमोजिम नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ। यो तथ्यलाई सरल तरिकाले बुझाउन यसरी पनि प्रस्तुत गर्न सकिन्छ।

"संवत् २०७८ सालको जनसङ्ख्यालाई नेपालको सम्पूर्ण भूभाग बराबर भाग लगाउने हो भने एक जना व्यक्तिको भागमा लगभग एउटा फुटबल ग्राउन्ड जति भूभाग पर्न आउँछ।"

यस किसिमका उदाहरण र तुलना सबै अवस्थामा पाउन कठिन पनि हुन सक्छ। यद्यपि पाठक वा श्रोता दर्शकको स्तरअनुसारका सामग्री समावेश गर्न सकियो भने तथ्याङ्‌कले भन्‍न खोजेको विषय सरल तरिकाले स्पष्‍ट पार्न सकिन्छ। उदाहरणले मूलतः सम्बन्धित विषयवस्तुको महत्त्व दर्शाउन, अघिल्लो समयको सोही प्रकृतिको सूचकसँगको तुलना गर्न तथा नतिजाको आशय प्रस्फुरित गर्न मदत गर्दछ। उदाहरण चयन गर्दा सदैव सरल र सबैले मन पराउने खालका उदाहरण चयन गर्नु पर्दछ। यसका अतिरिक्त विषयवस्तुसँग सान्दर्भिक, तुलनायोग्य तथा पाठकलक्षित उदाहरण प्रयोग गर्नु उपयुक्त हुन्छ।

सिद्धान्त ३: तथ्याङ्‌क प्रस्तुतिका लागि सही विधि चयन गर्ने

तथ्याङ्‌कको प्रस्तुतिका लागि प्रयोग गरिने प्रमुख तीन विधिहरूः अनुच्छेद, तालिका वा लेखाचित्रका सन्दर्भमा यस अगाडि नै चर्चा गरिसकिएको छ। यी विधिका आ-आफ्नै फाइदा तथा बेफाइदाहरू छन्। कतिपय फाइदा तथा बेफाइदा साझा खालका पनि हुन सक्दछन्। तसर्थ, तथ्याङ्‌क प्रस्तुत गर्दा कुन विधि वा औजार प्रयोग गर्ने भन्‍ने सन्दर्भमा तथ्याङ्‌क प्रस्तुतकर्ता विशेष चनाखो हुनुपर्दछ। तथ्याङ्‌क प्रस्तुत गर्ने विधि वा औजार छनोट गर्नका लागि विभिन्‍न कुराहरूले भूमिका निर्वाह गरिरहेको हुन्छ। उदाहरणका लागि कति तथ्याङ्‌क प्रस्तुत गर्ने, तथ्याङ्‌क अध्ययनका लागि पाठकले कति समय खर्च गर्न सक्ने, यथार्थ तथ्याङ्‌क र अनुमानित तथ्याङ्‌कको महत्त्व जस्ता कुराहरूले तथ्याङ्‌क प्रस्तुत गर्न कस्तो प्रकारको विधि अपनाउने भन्‍ने विषय निर्क्यौल गर्दछ। थोरै तथ्याङ्‌कलालाई वाक्य वा अनुच्छेद उपयुक्त हुन सक्दछ भने धेरै तथ्याङ्‌क प्रस्तुत गर्नका लागि तालिका उपयुक्त हुन्छ। मध्यम सङ्ख्याका तथ्याङ्‌कलाई लेखाचित्रमार्फत प्रस्तुत गर्दा पाठकले सजिलै बुझ्ने र मनन गर्न सक्ने हुन्छ। उदाहरणका लागि नेपालको अर्थतन्त्रको आकारमात्र व्यक्त गर्नुपर्दा एउटा सामान्य वाक्यमा तथ्याङ्‌क प्रस्तुत गर्न सकिन्छ। जस्तैः

"आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको चालु मूल्यमा करिब ५७ खर्ब ५ अर्ब रुपियाँ हुने प्रारम्भिक अनुमान गरिएको छ।" यद्यपि यस वाक्यले दिइएको वर्षको अर्थतन्त्रको आकार अघिल्लो वर्षको अर्थतन्त्रको आकारभन्दा सानो, ठुलो वा बराबर भन्‍ने विषयमा मौन रहेका कारण यसलाई कमजोर वाक्यकै रूपमा लिन सकिन्छ। यसलोई सुधार गरेर निम्नानुसार व्यक्त गर्न सकिन्छः

"आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको चालु मूल्यमा करिब ५७ खर्ब ५ अर्ब रुपियाँ हुने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको परिमार्जित अनुमानको तुलनामा करिब ३६ अर्ब रुपियाँले बढी हो।" त्यसै गरी यदि विगत १० वर्षको अर्थतन्त्रको आकार प्रस्तुत गर्नु पर्‍यो भने वाक्य वा अनुच्छेदभन्दा रेखाचित्र उपयुक्त हुन सक्दछ। जस्तैः चित्र ३.१

चित्र ३.१: उपभोक्ताको मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन (चालु मूल्यमा)   

    (रु. दश लाखमा)

(नोटः *२०७९/८० को परिमार्जित र **२०८०/८१ को प्रारम्भिक अनुमानका आधारमा)

स्रोतः राष्‍ट्रिय लेखा अनुमान, राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय, २०८१

त्यसैगरी अर्थतन्त्रको आकारलाई बृहत् औद्योगिक क्षेत्रअनुसार विगत ५ वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन प्रस्तुत गर्नका लागि तालिका उपयुक्त हुन्छ। जस्तैः तालिका ३.१। 

तालिका ३.१: बृहत् औद्योगिक क्षेत्रअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (चालु मूल्यमा)

(रु. दश लाखमा)

बृहत् औद्योगिक क्षेत्र

2076/77

2077/78

2078/79

2079/80R*

2080/81P**

कृषि क्षेत्र

882961

978943

1064069

1157354

1240469

उद्योग क्षेत्र

448042

492806

582952

620666

632900

सेवा क्षेत्र

2097522

2243184

2608963

2960921

3176724

खुद कर

460,179

637,617

720,573

609,587

654,752

कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा)

3,888,704

4,352,550

4,976,558

5,348,528

5,704,844

स्रोतः राष्‍ट्रिय लेखा अनुमान, राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय, २०८१

*R = Revised, **P = Preliminary

तथ्याङ्‌क प्रस्तुत गर्दा पाठकको समय र रुचिलाई पनि ध्यान दिनु पर्दछ। प्रस्तुतिका लागि तयार गरिने सामग्रीहरूमा सामान्यतया सरल लेखाचित्र, सरल तालिका वा बुँदागत रूपमा तथ्याङ्‌कसहितका वाक्य राख्‍न सकिन्छ भने लेख रचनाहरूमा विस्तृत व्याख्या विवेचना राख्‍न सकिन्छ। लेख रचनाका सारसङ्‌क्षेपमा भने मुख्यमुख्य तथ्याङ्‌क समेटेर सङ्‌क्षेपमा विषयवस्तु प्रस्तुत गर्नु पर्दछ। कुनै सूचकको बारेमा विस्तृत रूपमा व्याख्या गर्ने उद्देश्यको लेख रचना हो भने यथासम्भव सो सूचकसम्बन्धी सान्दर्भिक विवरणहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। उदाहरणका लागि नेपालको आर्थिक वृद्धिदरका बारेमा चर्चा गर्न खोजिएको हो भने यससम्बन्धी समय शृङ्‌खला, औद्योगिक क्षेत्रअनुसारका वृद्धिदरसहितको तथ्याङ्‌क तालिकामा (जस्तैः तालिका १.२) उल्लेख गर्नु उपयुक्त मानिन्छ भने सामान्य वृद्धिदरको प्रवृत्तिका बारेमा मात्र चर्चा गर्न खोजिएको हो भने समय शृङ्‌खलाको लेखाचित्र (जस्तैः चित्र 3.२) उपयुक्त मानिन्छ। पुनश्‍चः अधिकांश लक्षित पाठक वा दर्शकका लागि तालिका वा अनुच्छेदभन्दा लेखाचित्र निकै आकर्षक, रुचिकर र स्मरणयोग्य औजार मानिन्छ। 

चित्र ३.२ उपभोक्ताको मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन वृद्धिदरको प्रवृत्ति

(नोटः *२०22/23  को परिमार्जित र **२०२३/२४ को प्रारम्भिक अनुमानका आधारमा)

स्रोतः राष्‍ट्रिय लेखा अनुमान, राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय, २०८१

तालिका ३.२ औद्योगिक क्षेत्रअनुसार नेपालको कुल मूल्य अभिवृद्धि वृद्धिदर

क्र. सं.

औद्योगिक वर्गीकरण

2076/77

2077/78

2078/79

2079/80R

2080/81P

1.

कृषि वन तथा मत्स्य

2.43

2.85

2.35

2.76

3.05

2.

खानी तथा उत्खनन

-2.23

4.65

8.84

0.98

2.31

3.

उद्योग

-9.03

8.66

6.70

-1.98

-1.60

4.

विद्युत, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति

19.51

4.18

52.68

19.89

17.44

5.

पानी आपूर्ति, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलाप

2.15

1.35

3.08

3.25

2.80

6.

निर्माण

-4.39

7.00

6.93

-1.10

-2.07

7.

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा

-11.39

6.64

7.42

-3.02

0.16

8.

यातायात तथा भण्डारण

-11.79

4.44

4.60

1.45

11.89

9.

आवास तथा भोजन सेवा

-36.78

10.73

12.56

18.03

21.84

10.

सूचना तथा सञ्‍चार

2.02

3.67

4.19

4.15

4.91

11.

वित्तीय तथा बिमासम्बन्धी क्रियाकलाप

-0.35

4.66

6.91

7.27

7.80

12.

घरजग्गा कारोबारसम्बन्धी सेवा

2.08

2.77

1.72

2.18

2.98

13.

पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप

1.52

1.51

3.50

3.93

4.15

14.

प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप

2.19

2.30

1.58

5.03

4.04

15.

सार्वजनिक प्रशासन तथा रक्षा

6.16

3.38

4.08

5.75

4.49

16.

शिक्षा

3.20

3.92

4.66

3.93

2.71

17.

स्वास्थ्य तथा सामाजिक कार्य

5.20

6.60

6.99

6.57

5.52

18.

अन्य सेवाका क्रियाकलाप

1.77

3.38

4.48

5.11

4.17

कृषि क्षेत्र

2.43

2.85

2.35

2.76

3.05

गैरकृषि क्षेत्र

-4.42

5.21

6.54

2.13

3.75

कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर

(आधारभूत मूल्यमा)

-2.42

4.49

5.28

2.31

3.54

खुद कर

-1.88

8.03

8.75

-1.12

6.77

कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर

(उपभोक्ताको मूल्यमा)

-2.37

4.84

5.63

1.95

3.87

स्रोतः राष्‍ट्रिय लेखा अनुमान, राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय, २०८१

R = Revised, P = Preliminary

चित्र ३.२ र तालिका ३.२ मा प्रस्तुत गरिएका तथ्याङ्‌कमा केही समानता पनि छ। यद्यपि उद्देश्यबमोजिम यी दुई प्रस्तुतिले फरक फरक सन्दर्भ चित्रण गर्दछन्। चित्र ३.२ ले समग्र वृद्धिदरको प्रवृत्ति बताउन सक्दछ तर खण्डीकृत रूपमा कुन औद्योगिक क्षेत्रको कति वृद्धिदर छ भन्‍ने बारेमा केही बताउन सक्दैन। अर्कोतर्फ, तालिका ३.२ ले वृद्धिदरको प्रवृत्तिका साथसाथै औद्योगिक क्षेत्रहरूको समेत वृद्धिदर प्रस्तुत गरेको छ। यद्यपि यो तालिकाका तथ्याङ्‌क बुझ्न, सम्झन र मनन गर्न धैर्य तथा विज्ञताको आवश्यकता पर्दछ। कतिपय अवस्थामा एउटा सिङ्‌गो विधिले मात्र प्रस्तुत गर्न खोजिएको सूचना वा तथ्याङ्‌क अपूर्ण हुन सक्दछ र यस्तो अवस्थामा लेखाचित्र, तालिका तथा तथ्याङ्‌कीय वाक्यहरूको संयोजन आवश्यक हुन्छ। उदाहरणका लागि मानौँ हामी देशको आर्थिक वृद्धिका बारेमा अनुसन्धानमूलक लेख लेख्दैछौँ भने यसका लागि परिचय खण्डमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरका केही तथ्यहरू समेटर सङ्‌क्षेपमा एक दुई अनुच्छेद लेख्‍न सकिन्छ। त्यसपछि लेखको मुख्य भागमा विभिन्‍न दृष्‍टिकोणबाट आर्थिक वृद्धि विश्‍लेषण तथा व्याख्या गर्नका लागि औद्योगिक क्षेत्रअनुसार, प्रादेशिक विभाजनअनुसार, समय शृङ्‌खलाअनुसार तथा विभिन्‍न क्षेत्रको योगदान देखिने गरी तालिका प्रस्तुत गर्न सकिन्छ। यसका साथै, वृद्धिदरको लामो अवधिको प्रवृत्ति हेर्न तथा बृहत् औद्योगिक क्षेत्रको योगदान हेर्न क्रमशः समय शृङ्‌खलाको लेखाचित्र र वृत्तचित्रको प्रयोग गर्न सकिन्छ। यिनै कुराहरूलाई कुनै बैठक वा गोष्‍ठीमा प्रस्तुत गर्नुपर्‍यो भने बुँदागत रूपमा, लेखाचित्रको प्रयोग वा सामान्य तालिकाको प्रयोग गर्न सकिन्छ। तर, यसरी मिश्रित विधिहरूको प्रयोग गर्दा सकेसम्म कुनै पनि तथ्याङ्‌क वा सूचना नदोहोरिने गरी प्रस्तुत गर्नु पर्दछ। अत्यन्त ठुला आकारका तालिकाहरूलाई लेखको मुख्य भागमा समावेश नगरी अनुसूचीमा राख्‍न पनि सकिन्छ। यसरी अनुसूचीमा प्रस्तुत गरिएका तथ्याङ्‌कको सारसङ्‌क्षेप भने लेखको मुख्य भागमा उल्लेख गर्नु पर्दछ।

सिद्धान्त ४: पाठक लक्षित शब्दावली तथा भाषा चयन गर्ने

सूचना वा तथ्याङ्‌क प्रयोग गरेर वा सोसम्बन्धमा लेखिने लेख रचनाहरू स्वभावैले अलि बढी प्राविधिक हुने गर्दछन्। खास गरी, सूचना सङ्‌कलनदेखि प्रशोधन र विश्‍लेषणसम्मका चरणमा विविध किसिमका पदावली, अवधारणा तथा परिभाषा प्रयोग गर्नुपर्ने हुन्छ। कतिपय लक्षित पाठकका लागि उक्त पदावली, अवधारणा तथा परिभाषा चिरपरिचित नहुन पनि सक्दछन्। यस्तो अवस्थामा दुई किसिमका खतरा उत्पन्‍न हुने सम्भावना हुन्छः पहिलो, पाठकले सम्बन्धित लेख रचनामा खासै रुचि नदिन सक्दछन्; दोस्रो, प्रयोग गरिएका प्राविधिक पक्षको बुझाइ गलत हुन सक्दछ। उदाहरणका लागि राष्‍ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएपछि कतिपय मानिसहरूले उक्त जनसङ्ख्या र मतदाता नामावलीबमोजिमको जनसङ्ख्यामा मेल नखाएको भनी टीकाटिप्पणी गरेका थिए। जनगणनाको जनसङ्ख्या र मतदाता नामावलीको जनसङ्ख्या सङ्‌कलन गर्ने अवधारणा नै फरक भएको अवस्थामा यस किसिमको तुलना र सोबमोजिमको धारणा बनाउनु सर्वथा गलत हुन्छ। किनभने जनगणनामा अक्सर बसोबास गर्ने नेपाली, विदेशी सबै नागरिकको गणना हुन्छ र अनुपस्थित जनसङ्ख्याको गणना हुँदैन तर मतदाता नामावलीमा सामान्यतया व्यक्तिको स्थायी ठेगाना वा बसोबास गरेको स्थानमा नामावली हुन्छ र अनुपस्थित व्यक्तिको पनि नाम समावेश हुन्छ। यी दुई स्रोतबाट उत्पादन हुने तथ्याङ्‌क फरक फरक अवधारणाबमोजिम उपलब्ध हुने भएकोले तुलना र व्याख्या गर्दा विशेष ध्यान पुर्‍याउनुपर्दछ। तसर्थ, कुनै पनि लेख रचनामार्फत सूचनामूलक सन्देश प्रवाह गर्दा यससँग सम्बन्धित प्राविधिक पदावली वा अवधारणाहरूको स्पष्‍ट रूपमा परिभाषा दिएर मात्र तथ्याङ्‌क प्रस्तुत गर्नु पर्दछ अन्यथा प्रवाह गर्न खोजिएको सन्देशको उद्देश्य प्राप्‍ति हुँदैन। यसका अतिरिक्त लेख रचनामा यदि शब्दावलीका छोटो रूप तथा सङ्‌केत प्रयोग गरिएको भएमा सोको विस्तृत रूप वा अर्थ उपलब्ध गराइएको हुनु पर्दछ। उदाहरणका लागि अङ्‌ग्रेजीमा MMR ले मातृ मृत्युदर (Maternal mortality rate) र मातृ मृत्यु अनुपात (Maternal mortality ratio) दुवैलाई जनाउँदछ। तसर्थ, छोटो रूप प्रयोग गर्दा तिनीहरूको विस्तारित रूप उपलब्ध गराएको हुनु पर्दछ। सामान्यतया लेख रचनासँग सम्बन्धित पाठकप्रति लक्षित भएर सकेसम्म सरल र स्पष्‍ट भाषाको छनोट गर्नु पर्दछ।

कतिपय सङ्ख्या एवं मापन एकाइका नामहरू स्थान विशेषका कारण फरक फरक हुन सक्दछन्। उदाहरणका लागि काठमाडौँमा एक पाउ तौल भनेको २०० ग्राम हो भने पोखरामा एक पाउ तौल भनेको २५० ग्राम हो। वस्तुहरूको गणना गर्दा १२ वटालाई एक दर्जन, समयको गणना गर्दा सय वर्षलाई एक शताब्दी जस्ता शब्दहरू प्रयोग गर्दा ती शब्दहरूलाई सबैले समान रूपले नबुझ्ने सम्भावना पनि हुन सक्दछ। अतः सङ्ख्याका नाम तथा मापन एकाइ प्रयोग गर्दा विशेष ख्याल गर्नु पर्दछ।

यसै गरी पाठकवर्गलाई द्विविधा पार्नसक्ने अर्को पक्ष भनेको अनेकार्थी शब्द, जटिल प्राविधिक शब्द वा सङ्‌केतको प्रयोग पनि हो। उदाहरणका लागि ग्रिक अक्षर α को प्रयोग परिकल्पना परीक्षणमा पहिलो प्रकारको त्रुटिको सम्भावना (Probability of type I error) जनाउन प्रयोग गरिन्छ भने प्रतिगमन विश्‍लेषणमा इन्टरसेप्ट (Intercept) जनाउन पनि α को प्रयोग गर्ने गरिन्छ। खास गरी, गणितीय सूत्रहरूको प्रयोग गर्दा प्रयुक्त साङ्‌केतिक अक्षरहरूको अर्थ खुलाउनुपर्दछ। वैज्ञानिक लेख रचनामा सकेसम्म जटिल प्रकारका शब्द वा पदावलीको प्रयोग गर्नु हुँदैन। समान्यतया पूरै लेखमा कतै पनि नदोहोरिने कुनै प्राविधिक शब्द प्रयोग गर्नुको सट्टा त्यसलाई अन्य तरिकाले व्यख्या गर्नु उपयुक्त मानिन्छ।

उदाहरणः

कमजोर वाक्यः कम्पनी "क" ले उत्पादन गरेको जस्तापाताको तुलनात्मक नटिक्ने खतरा ३५ प्रतिशत छ।

यो वाक्यमा प्रयोग भएको "तुलनात्मक नटिक्ने खतरा" को अर्थ सबै पाठकले सजिलै नबुझ्न पनि सक्दछन्। साथै, कुन कम्पनीको उत्पादनसँग तुलना गरिएको हो र राम्रो जस्तापाताको टिकाउपन कस्तो छ भन्‍ने बारेमा पनि यो वाक्यले बताउन सकेको छैन।

सुधारिएको वाक्यः कम्पनी "ख" ले उत्पादन गरेको जस्तापाता उपलब्ध जस्तापातामध्ये सबैभन्दा राम्रो छ र यो दोस्रो राम्रो जस्तापाता उत्पादन गर्ने कम्पनी "क" को उत्पादनभन्दा औसतमा १० वर्ष बढी टिकाउ छ।

यो वाक्यमा जटिल प्रकृतिका प्राविधिक पदावलीको प्रयोग त भएको छैन, तर ती जस्तापाताहरू औसतमा कति वर्ष टिकाउ छन् भन्‍ने कुरा बताउन सकेको छैन, जुन सामान्यतया सम्बन्धित व्यक्तिहरूका लागि चासोको विषय हुन सक्दछ।

राम्रा वाक्यहरूः कम्पनी "ख" ले उत्पादन गरेको जस्तापाता उपलब्ध जस्तापातामध्ये सबैभन्दा राम्रो छ र यो सामान्य अवस्थामा ४० वर्ष खप्दछ। यसपछि कम्पनी "क" ले उत्पादन गरेको जस्तापाता दोस्रो राम्रो जस्तापाता हो र यो सामान्य अवस्थामा ३० वर्ष खप्दछ।

यी वाक्यहरूमा जटिल प्रकृतिका प्राविधिक शब्दावलीको प्रयोग गरिएको छैन र यी वाक्यले सबैभन्दा राम्रो जस्तापाता, त्यसको टिकाउ अवधि र तुलनाका लागि दोस्रो राम्रो जस्तापाता र त्यसको टिकाउ अवधिसमेत जानकारी प्रदान गरेको छ।

सिद्धान्त ५: प्रतिवेदन र व्याख्या

लेख रचनामा कोरा तथ्याङ्‌क प्रस्तुत गर्नु भनेको सम्बन्धित पाठकलाई थप अनुसन्धान वा सोध कार्यका लागि कच्चा पदार्थ उपलब्ध गराउनुसरह हो। तथ्याङ्‌कका बारेमा लेख लेख्दा सम्बन्धित आँकडा प्रस्तुत गर्ने कार्यलाई महत्त्वपूर्ण पक्षको रूपमा हेरिन्छ। सापेक्ष वा प्रतिशतले मात्र कतिपय परिमाणहरूलाई स्पष्‍ट व्याख्या गर्न सक्दैन। तसर्थ, सङ्ख्याका साथसाथै सापेक्ष परिवर्तन तथा प्रतिशत जस्ता तुलनात्मक औजारको प्रयोग गर्दा प्रवाह गर्न खोजिएको सन्देशले अपेक्षित उद्देश्य हासिल गर्दछ। तर, सङ्ख्या प्रस्तुत गरिसकेपछि ती सङ्ख्याले प्रतिबिम्बित गरेका विषयवस्तुलाई स्पष्‍टसँग व्याख्या गर्नु पर्दछ। कुन उद्देश्यका लागि सङ्ख्या प्रस्तुत गरिएको हो सो बारेमा व्याख्या गर्दै सम्बन्धित विषयवस्तुको चर्चा गर्नु पर्दछ। कुनै सङ्ख्या प्रस्तुत गरेर त्यसका बारेमा व्याख्या गर्दा अन्य थप सान्दर्भिक तथ्याङ्‌क उपलब्ध गराउँदै तुलनात्मक विवेचना गर्न सकिन्छ।

उदाहरणः

कमजोर वाक्यः आर्थिक वर्ष २०१७/१८ मा नेपालको कुल स्वास्थ्य खर्च करिब १.६९ अर्ब रुपियाँ रहेको थियो (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, २०७८)

यो वाक्यमा प्रस्तुत भएको रकमले कुल स्वास्थ्य खर्च कम, बढी, सामान्य, घटबढ के हो भन्‍ने विषयमा केही उल्लेख गर्न सक्दैन। साथै, प्रस्तुत गरिएको सङ्ख्या निकै ठुलो भएका कारण पाठकले सजिलै आन्तरिकीकरण गर्न पनि कठिन हुन्छ। 

सुधारिएको वाक्यः आर्थिक वर्ष २०१७/१८ मा नेपालको कुल स्वास्थ्य खर्च करिब १.६९ खर्ब रुपियाँ अर्थात् एकजना बराबर ५,९५२ रुपियाँ स्वास्थ्य खर्च रहेको थियो।

यो वाक्यमा प्रस्तुत भएको रकमले कुल स्वास्थ्य खर्च रकमलाई केही सरलीकरण गरिएको र पाठकलाई यसबारेमा सामान्य अवधारणा बनाउनका लागि प्रतिव्यक्ति स्वास्थ्य खर्चसमेत उल्लेख गरिएका कारण पहिले प्रस्तुत गरिएको वाक्यभन्दा केही सुधारिएको देखिन्छ। यद्यपि, यसले पनि तुलनात्मक अध्ययनलाई भने टेवा पुर्‍याएको छैन।

राम्रा वाक्यहरूः आर्थिक वर्ष २००९/१० देखि २०१७/१८ सम्ममा नेपालको कुल स्वास्थ्य खर्च करिब १७० प्रतिशतले बढेर करिब ६३ अर्ब रुपियाँबाट करिब १६९ अर्ब रुपियाँ पुगेको छ। यस हिसाबले आर्थिक वर्ष २००९/१० मा एकजना बराबर २,३८५ रुपियाँ स्वास्थ्य खर्च रहेकोमा सो खर्च बढेर आर्थिक वर्ष २०१७/१८ मा ५,९५२ रुपियाँ पुगेको हो। सोही अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कुल स्वास्थ्य खर्चको अंश ५.२ प्रतिशतबाट बढेर ५.५ प्रतिशत पुगेको छ (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, २०७८)

यी वाक्यहरूले प्रस्तुत गरिएका सङ्ख्याहरूलाई सरलीकरण गर्नुका साथै तुलनात्मक अध्ययन पनि गरेका छन्। यसका अतिरिक्त तुलनाका अन्य आयामहरू जस्तैः प्रदेशअनुसार कुल स्वास्थ्य खर्च, सार्क राष्‍ट्रहरूको कुल स्वास्थ्य खर्च आदि समावेश गरेर पनि तथ्यहरू प्रस्तुत गर्न सकिन्छ।

सिद्धान्त ६: चरहरूबिचको सम्बन्धको दिशा र परिमाण उल्लेख गर्ने

सङ्ख्याहरूका बारेमा लेख्‍ने क्रममा कतिपय अवस्थामा दुई वा दुई भन्दा बढी चरहरूको (Variables) सम्बन्धका बारेमा चर्चा गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा दुई वा दुई भन्दा बढी चरहरू एकआपसमा सहसम्बन्ध कायम गर्दछन् मात्र भन्‍नुको सट्टा त्यस्तो सहसम्बन्धको दिशा र परिमाण के कस्तो छ सोसमेत उल्लेख गर्नु पर्दछ। उदाहरणका लागि नेपालका प्रदेशहरूको जनसङ्ख्या वृद्धि र आर्थिक वृद्धिसम्बन्धी तुलनात्मक प्रस्तुति गर्दा जनसङ्ख्या वृद्धि र आर्थिक वृद्धि एकआपसमा सम्बन्धित छन् भन्‍नुका साथसाथै कुन प्रदेशको वृद्धि बढी छ र कतिले बढी छ, जनसङ्ख्या र कुल गार्हस्थ्य उत्पादनबिच कस्तो सम्बन्ध छ र सो सम्बन्धको स्तर कति छ भनेर निर्दिष्‍ट गर्न सकिन्छ। 

चरहरूबिचको सहसम्बन्ध मूलतः दुई प्रकारका हुन्छन्। यदि एउटा चरमा वृद्धि हुँदा अर्को चर पनि बढ्ने वा एउटा चर घट्दा अर्को पनि घट्ने प्रकृतिको सम्बन्ध भएमा त्यसलाई धनात्मक सहसम्बन्ध (Positive correlation) भनिन्छ। उदाहरणका लागि मानिसको उचाइमा वृद्धि हुँदा तौलमा पनि वृद्धि हुन्छ। त्यस्तै सरकारी खर्च बढ्दा देशको कुल गार्हस्थ्य उत्पादन पनि बढ्दछ र घट्दा घट्दछ भने ती दुई चरहरू सकारात्मक रूपले सम्बन्धित छन् भन्‍न सकिन्छ। अर्कोतर्फ यदि एउटा चरमा वृद्धि हुँदा अर्को चर घट्ने वा एउटा चर घट्दा अर्को बढ्ने प्रकृतिको सम्बन्ध भएमा त्यसलाई ऋणात्मक सहसम्बन्ध (Negative correlation) भनिन्छ। जस्तैः सामान्यतया कुनै वस्तुको मूल्य बढ्यो भने बिक्री परिमाण घट्दछ अर्थात् बजारमा माग र मूल्यबिच नकारात्मक सहसम्बन्ध रहेको हुन्छ। कतिपय चरहरू एकआपसमा असम्बन्धित पनि हुन्छन्। उदाहरणका लागि विद्यार्थीको जुत्ताको आकार र उनीहरूले परीक्षामा प्राप्‍त गरेको प्राप्‍ताङ्‌क असम्बन्धित चरहरू हुन्। तर, गणितीय क्रियाकलापबाट हिसाब गर्दा यस किसिमका चरहरूबिच पनि सहसम्बन्धको कुनै निश्‍चित मान प्राप्‍त हुन सक्दछ, जसलाई अर्थहीन सहसम्बन्ध (Spurious correlation) भनिन्छ। यस किसिमको अर्थहीन सहसम्बन्धको गणितीय मान प्राप्‍त हुनुमा अन्य मध्यस्थकर्ता चरहरूको भूमिका पनि रहन सक्दछ। जस्तै: आइसक्रिमको बिक्री परिमाण र पशु आहार बिक्री परिमाणबिच कुनै सहसम्बन्ध छैन तर पशु आहार खरिद गर्न बजार गएको बेला आइसक्रिम पनि सेवन गर्ने सम्भावना भएका कारण यी दुई चरबिच सकारात्मक सहसम्बन्ध देखिन सक्दछ। खास गरी, सहसम्बन्ध परिमाणात्मक चरहरूबिचको परस्पर सम्बन्धको मापन गर्ने औजार हो। वर्गीय मापनका चरहरू वा संज्ञात्मक चरसँग अन्य परिमाणात्मक चरहरूको सहसम्बन्ध स्थापित गर्न सकिँदैन। उदाहरणका लागि लिङ्‌ग र धुम्रपानबिच सकारात्मक वा नकारात्मक सहसम्बन्ध छ भनेर व्याख्या गर्न सकिँदैन। यसको सट्टा महिलाहरू तुलनात्मक रूपले पुरुषभन्दा कम वा बढी धुम्रपान गर्दछन् भन्‍न सकिन्छ।

दुई चरबिचको सहसम्बन्धको स्तर निकै बलियो, सामान्य वा कमजोर किसिमको हुन सक्दछ। अर्थात्, कुनै एउटा चरमा परिवर्तन आउँदा अर्को चरमा ठुलै परिवर्तन आउने वा सामान्य परिवर्तन आउने वा निकै कम परिवर्तन आउने हुन सक्दछ। सहसम्बन्धको गुणाङ्‌क (Correlation coefficient - r) को प्रयोगबाट चरहरूबिचको सम्बन्धको परिमाणका बारेमा बोध गर्न सकिन्छ। सहसम्बन्धको गुणाङ्‌क -१ देखि +१ सम्म हुन्छ र चरहरूबिचको सहसम्बन्ध ±१ को नजिक भएमा बलियो, ०.५ वरपर भएमा सामान्य र शून्यको वरपर भएमा कमजोर मान्‍न सकिन्छ।

उदाहरण:

कमजोर वाक्यः आर्थिक वर्ष २०७७/७८ मा नेपालको मासिक मुद्रा प्रदाय (Money supply) र मासिक उपभोक्ता मूल्य सूचकाङ्‌क (Consumer Price Index - CPI) बिच सहसम्बन्ध रहेको छ।

यस वाक्यले दुई चरबिचको सहसम्बन्धको दिशा र परिमाण उल्लेख गर्न सकेको छैन।

सुधारिएको वाक्यः आर्थिक वर्ष २०७७/७८ मा नेपालको मासिक मुद्रा प्रदाय र उपभोक्ता मूल्य सूचकाङ्‌कबिच ऋणात्मक सहसम्बन्ध रहेको छ।

यस वाक्यले दुई चरबिचको सहसम्बन्धको दिशा उल्लेख गरेको भए तापनि परिमाण उल्लेख गर्न सकेको छैन।

राम्रो वाक्य: १. आर्थिक वर्ष २०७७/७८ मा नेपालको मासिक मुद्रा प्रदाय र उपभोक्ता मूल्य सूचकाङ्‌कबिच सामान्य (r = -०.५६ ) ऋणात्मक सहसम्बन्ध रहेको छ।

यस वाक्यले दुई चरबिचको सहसम्बन्धको दिशा तथा परिमाणको स्तर दुवै उल्लेख गरेको छ।

राम्रो वाक्य: २. आर्थिक वर्ष २०७७/७८ मा नेपालको मासिक मुद्रा प्रदाय दश खर्बले बढ्दा मासिक उपभोक्ता मूल्य सूचकाङ्‌क १.५ प्रतिशत विन्दुले घट्दछ।

यो वाक्यमा दुई चरबिचको सम्बन्धलाई परिमाण र दिशा दुवै प्रतिबिम्बित हुने गरी प्रस्तुत गरिएको छ।

सिद्धान्त ७: ढाँचाहरू सङ्‌क्षेपीकरण गर्ने

लेख रचनामार्फत प्रवाह गर्न खोजिएको विषय, सन्देश वा सन्दर्भलाई पुष्ट्याइँ गर्न सङ्ख्या, तथ्याङ्‌क वा सूचना प्रयोग गरिन्छ। परिकल्पनाजन्य कथनहरूलाई प्रमाणित गर्न पनि तथ्याङ्‌कको प्रयोग गरिन्छ। वाक्य, तालिका वा लेखाचित्र जुनसुकै माध्यमबाट सङ्ख्याहरू प्रस्तुत गरिए तापनि ती सबैको समग्र उद्देश्य भनेको प्रमाणमा आधारित संवाद स्थापित गर्नु नै हो। सामान्यतया तालिका वा लेखाचित्रमा धेरै सङ्ख्याहरू प्रस्तुत गरिएको हुन्छ, तिनीहरूले सम्बन्धित वस्तुस्थितिको कथा बोकेका हुन्छन्। तर, लेख रचनामा ती सबै सङ्ख्याका बारेमा एकएक गरेर वर्णन गर्नुपर्दैन। समग्रमा तथ्याङ्‌कले के विषयलाई निर्दिष्‍ट गरेको छ वा सम्बन्धित घटना विशेषको समग्र ढाँचा कस्तो छ भन्‍ने विषयलाई लेखमा उजागर गरे पुग्दछ। चरहरूबिचको प्रमुख सम्बन्ध कस्तो रहेको छ, सर्वमान्य वा सर्वविदित स्तरको तुलनामा प्रस्तुत गरिएका चरहरूको अवस्था कस्तो छ भन्‍ने जस्ता विषय समेटेर सारसङ्‌क्षेप कुराहरू मात्र उल्लेख गर्नु पर्दछ। यसका साथै, तालिका वा लेखाचित्रका तथ्याङ्‌कले बताइरहेको सारसङ्‌क्षेप प्रस्तुत गर्ने समयमा केही उदाहरणमूलक सङ्ख्याहरू उल्लेख गरी विस्तृत तथ्याङ्‌कमा रुचि राख्‍ने पाठकलाई तालिकामा प्रेषण गर्न सकिन्छ।

उदाहरण:

कमजोर वाक्यः नेपालको विगत १० वर्षको आर्थिक वृद्धिदर हेर्दा आर्थिक वर्ष २०७१/७२ मा ३.९८%, २०७२/७३ मा ०.४३%, २०७३/७४ मा ८.९८%, २०७४/७५ मा ७.६२%, २०७५/७६ मा ६.६६%, २०७६/७७ मा -२.३७%, २०७७/७८ मा ४.८४%, २०७८/७९ मा ५.६३%, २०७८/७९ मा १.९५% र २०८०/८१ मा ३.८७% रहेको पाइन्छ (राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८०/८१)

यो वाक्यमा भएको सङ्ख्याहरूको भिड कतिपय पाठकलाई रुचिकर नहुन सक्दछ। यहाँ सङ्ख्या प्रस्तुत भए तापनि आर्थिक वृद्धिमा भएको परिवर्तनको प्रवृत्तिको बारेमा बताइएको छैन र तुलनात्मक रूपले उच्च तथा न्यून वृद्धि भएका वर्षहरूका बारेमा पनि केही बताइएको छैन।

सुधारिएको वाक्यः नेपालको विगत १० वर्षको आर्थिक वृद्धिदर हेर्दा सबैभन्दा बढी आर्थिक वर्ष २०७३/७४ मा ८.९८% र सबैभन्दा कम आर्थिक वर्ष २०७६/७७ मा -२.३७% रहेको पाइन्छ (राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८०/८१)

यो वाक्यमा तुलनात्मक हिसाबले सबैभन्दा बढी र कम वृद्धिदर भएका वर्षहरूको उल्लेख भए तापनि हाल कस्तो प्रवृत्तिमा वृद्धिदर रहेको छ भन्‍ने विषयमा केही उल्लेख छैन।

राम्रा वाक्यहरूः राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय (२०८०/८१) का अनुसार नेपालको विगत १० वर्षको आर्थिक वृद्धिदर हेर्दा औसतमा वार्षिक ४.१८% वृद्धिदर रहेको पाइन्छ। यस अवधिमा सबैभन्दा बढी आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७३/७४ मा ८.९८% र सबैभन्दा कम वृद्धिदर आर्थिक वर्ष २०७६/७७ मा    -२.३७% रहेको छ। वि.सं. २०७२ सालको भूकम्पको प्रभावपछि पुनर्निर्माणले गति लिएका कारण आर्थिक वर्ष २०७३/७४ मा उच्च वृद्धिदर हासिल भएको हो भने कोभिड-१९ को प्रभावका कारण भएको लकडाउनका कारणले आर्थिक गतिविधिमा आएको गतिरोधले आर्थिक वर्ष २०७६/७७ मा वृद्धिदरमा ऋणात्मक रूपमै सङ्‌कुचन आएको हो। आर्थिक वृद्धिदरको उतारचढावका बिच विगत १० वर्षे अवधिमा समग्रमा देशको आर्थिक वृद्धिदर धनात्मक रहेको र पछिल्लो आर्थिक वर्ष २०७८/७९ मा ५.८४% को वृद्धिदर रहेको छ जुन विगत १० वर्षको औसत वृद्धिदरभन्दा धेरै हो (चित्र ३.२(क))।

चित्र ३.२(क) उपभोक्ताको मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन वृद्धिदरको प्रवृत्ति

(नोटः *२०22/23  को परिमार्जित र **२०23/24 को प्रारम्भिक अनुमानका आधारमा)

स्रोतः राष्‍ट्रिय लेखा अनुमान, राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय, २०८०

२.१  सङ्ख्या संवादका थप पाँच सिद्धान्त

सङ्ख्याका बारेमा लेख लेख्‍नका लागि माथि उल्लेख गरिएका सात सिद्धान्तका साथै अन्य पाँच सिद्धान्तहरूको अनुशरण गर्नु पर्दछ। मूलतः सङ्ख्याले प्रतिनिधित्व गरेका चरको प्रकृति, मापनका एकाइ, चरको वितरण तथा तुलनाका लागि स्तरीय मानहरूको पहिचान जस्ता कार्यहरू सङ्ख्याको प्रयोग गरी लेखिने लेखहरूका लागि अपरिहार्य हुन्छन्। यसबाट कस्तो प्रकारको गणना, तालिका, लेखाचित्र वा नक्सा प्रयोग गर्दा प्रवाह गर्न खोजिएको सन्देश थप प्रभावकारी हुन्छ भन्‍ने कुराको यकिन गर्न सकिन्छ। यिनै विषयहरू समेटेर यहाँ सङ्ख्या संवादका थप पाँच सिद्धान्तहरू उल्लेख गरिएको छ।

अतिरिक्त सिद्धान्त १: चरका प्रकारहरूका बारेमा बुझ्ने

चरका प्रकृतिबमोजिम त्यससँग सम्बन्धित गणितीय एवं तथ्याङ्‌कीय क्रियाकलाप गर्न सकिन्छ। सङ्ख्याका बारेमा लेख्‍नुपूर्व सम्बन्धित चर श्रेणीगत (Categorical) वा अविच्छिन्‍न (Continuous) कस्तो प्रकृतिको हो यकिन गर्नु पर्दछ। श्रेणीगत भएमा पुनः संज्ञात्मक (Nominal) हो वा क्रमिक (Ordinal) मापको हो र अविच्छिन्‍न भएमा अनुपात (Ratio) मापका हुन् वा अन्तराल (Interval) मापका हुन् भनी छुट्ट्याउनुपर्दछ। अविच्छिन्‍न चरहरूको औसत वा स्तरीय भिन्‍नता निकाल्न सकिन्छ भने श्रेणीगत चरको गणितीय क्रिया गर्न सकिँदैन। उदाहरणका लागि महिला र पुरुषको औसतले कुनै अर्थ दिँदैन तर कुनै अफिसमा काम गर्ने कर्मचारीको तलबको औसतले अर्थ राख्दछ। संज्ञात्मक मापका चरहरूलाई वर्गीकरण मात्र गर्न सकिन्छ र यिनीहरूलाई कुनै पनि गणितीय क्रियाबाट सङ्‌क्षेपीकरण गर्न सकिँदैन। फुटबल खेलाडीको जर्सी नम्बर, स्थानीय तहभित्रका वडा नम्बर यसका उदाहरण हुन्। त्यसै गरी क्रमिक तहका चरहरू क्रमबद्ध हुने हुनाले एक अर्कामा तुलनासम्म गर्न सकिन्छ तर जोड, घटाउ, गुणा, भाग केही गर्न सकिँदैन। कुनै परीक्षाका परिक्षार्थीहरूको योग्यताक्रम, मानव विकास सूचकाङ्‌कबमोजिम देशहरूको क्रम यसका उदाहरण हुन्।

अविच्छिन्‍न चरहरू पनि अन्तराल र अनुपात माप गरी दुई प्रकारका हुन्छन्। अन्तराल मापमा वास्तविक शून्य हुँदैन भने अनुपात मापमा वास्तविक शून्य हुन्छ। उदाहरणका लागि तापक्रम अन्तराल मापको चर हो जसको वास्तविक शून्य हुँदैन अर्थात्, शून्य डिग्री सेल्सियस भनेको तापक्रम विहीनता होइन। तापक्रमलाई सेल्सियस, फरेनहाइट वा केल्भिन एकाइमा मापन गरिन्छ। तीन डिग्री सेल्सियस र छ डिग्री सेल्सियस तापक्रममा एउटाभन्दा अर्को दोब्बर तातो भन्‍न मिल्दैन, तर पहिलोभन्दा दोस्रो तीन डिग्री सेल्सियसले बढी तातो भन्‍न सकिन्छ। अनुपात मापका चरहरूको भने सबै प्रकारका गणितीय क्रिया गरेर सङ्‌क्षेपीकरण गर्न सकिन्छ। तर, अविच्छिन्‍न चरको वितरणको प्रकारले पनि गणितीय तथा तथ्याङ्‌कीय क्रियाका लागि महत्त्व राख्दछ। समूहीकृत खुला वर्गीकरणमा वितरित परिमाणात्मक चरको कतिपय सूचकहरू निकाल्न सकिँदैन। जस्तैः कर्मचारीको तलब २०,००० भन्दा कम र २०,००० भन्दा बढी भनेर वर्गीकरण गरिएको छ भने औसत तलब निकाल्न सकिँदैन। अविच्छिन्‍न चरहरूको निश्‍चित एकाइ हुन्छन्, जस्तैः उचाइको से.मि., तौलको के.जी., खर्चको रुपियाँ आदि। यिनीहरूको सङ्ख्यात्मक प्रतिनिधित्वमा दशमलवको प्रयोग गर्न सकिन्छ। अविच्छिन्‍न चरहरूलाई श्रेणीगत बनाउन पनि सकिन्छ। जस्तैः उमेरअनुसारको जनसङ्ख्यालाई आर्थिक रूपले निर्भर र आर्थिक रूपले सक्षम समूहमा समूहीकृत गर्न सकिन्छ। पन्ध्र वर्षमुनिका जनसङ्ख्यालाई बच्चा, १५ देखि ६५ वर्ष उमेरसम्मका जनसङ्ख्यालाई काम गर्ने उमेर समूह र ६५ वर्षभन्दा माथिका जनसङ्ख्यालाई जेष्‍ठ नागरिकको समूहमा व्यक्त गरिएको जनसाङ्‌ख्यिक तथ्याङ्‌क श्रेणीगत हुन्छ। तर, श्रेणीगत चरलाई भने विस्तृत रूपमा अविच्छिन्‍न चर बनाउन सकिँदैन। 

गणना वा नमुना सर्वेक्षणबाट प्राप्‍त तथ्याङ्‌कको प्रयोग गरी लेख्‍ने क्रममा सम्बन्धित सङ्ख्याहरू कस्ता किसिमका प्रश्‍नहरूबाट लिइएको हो सोबारे पनि पूर्ण जानकारी राख्‍नुपर्दछ। कतिपय प्रश्‍नका वैकल्पिक उत्तरहरू एकआपसमा नखप्टिने (Mutual exclusive) र पूर्ण (Exhaustive) प्रकृतिका हुन्छन् भने कतिपय खप्टिने प्रकृतिका हुन्छन्। उदाहरणका लागि व्यक्तिको लिङ्‌ग के हो भनी सोधेर प्राप्‍त हुने उत्तर महिला वा पुरुष वा अन्य लिङ्‌गीमध्ये एउटा हुन्छ पूर्णता भएका नखप्टिने प्रकृतिका चरका सबै विकल्पको सङ्ख्या जोडेर कुल जनसङ्ख्या निकाल्न सकिन्छ। तर, खप्टिने प्रकृतिका चर जस्तैः व्यक्तिले पढ्ने दैनिक पत्रिकाको नाम सोधिएको प्रश्‍नको विकल्पमा पत्रिकाहरूको नाम दिइएको हुन्छ र कसैले दुई वा दुईभन्दा बढी पत्रिकाको नाम बताउन पनि सक्दछन्। यस अवस्थामा उक्त विकल्पहरूको सङ्ख्या जोडेर कुल जनसङ्ख्या निकाल्न सकिँदैन। यसका अतिरिक्त कतिपय बहुउत्तर वैकल्पिक प्रश्‍नमा "अन्य" भन्‍ने विकल्प राखिएको हुन्छ। कतिपय प्रश्‍नहरू उत्तरदाताले जवाफ नदिएका हुन सक्दछन् र कतिपय प्रश्‍न कुनै वर्ग विषेशलाई सान्दर्भिक नहुन सक्दछ। यी सबै कुराहरू निर्क्यौल गरेर मात्र तथ्याङ्‌कको प्रयोग गर्नु पर्दछ। तसर्थ, लेखनमा सङ्ख्याहरू समावेश गर्नुअघि गणना, स्थिरता परीक्षण र सूचना प्रस्तुतिका तरिकाहरू बारे सुझबुझका साथ छनोट गर्नका लागि तथ्याङ्‌क कसरी सङ्‌कलन गरिएको थियो भन्‍ने बारे पूर्ण रूपमा जानकार हुनु पर्दछ।

अतिरिक्त सिद्धान्त २: चर मापनका एकाइ उल्लेख गर्ने

तथ्याङ्‌कको तुलना र व्याख्या गर्ने समयमा सम्बन्धित तथ्याङ्‌कको खण्डीकृत एकाइ, मापन एकाइ र मापनको प्रणालीसमेत स्पष्‍ट रूपमा उल्लेख गर्नु पर्दछ। एकाइ बिनाका सङ्ख्याले पाठकलाई द्विविधा मात्र सिर्जना गरिदिन्छन्। उदाहरणका लागि "नेपालको पहिलो जनगणना १९६८ मा सञ्‍चालन भएको थियो" भन्‍ने वाक्यमा उल्लेख गरिएको मिति वि.सं. हो वा इ.सं. हो साधारण पाठकका लागि द्विविधाको विषय हुन्छ। त्यसै गरी दुई वा दुईभन्दा बढी स्रोतबाट सङ्‌कलित तथ्याङ्‌क तुलना गर्नुपर्दा तिनीहरूको मापन एकाइका बारेमा समेत सचेत हुनपर्दछ भने कतिपय चरहरूलाई स्थान विशेष एकाइमा मापन गरिएको भएमा सोबारे थप नोट उपलब्ध गराउनुपर्दछ। जस्तैः नेपालको कुल गार्हस्थ्य उत्पादनको आकार उल्लेख गर्दा नेपाली रुपियाँमा व्यक्त गरिएको छ भने नेपाली रुपियाँ र डलरबिचको सम्बन्धका बारेमा उल्लेख गरिदिनु पर्दछ। एकाइको आयामलाई खास गरी विश्‍लेषणको एकाइ र मापनको एकाइ गरी दुई प्रकारले बुझ्न सकिन्छ। विश्‍लेषणको एकाइ भन्‍नाले तथ्याङ्‌क उपलब्ध गराइएको तह भन्‍ने बुझ्नुपर्दछ। व्यक्ति, परिवार, उद्योग प्रतिष्‍ठान, स्थानीय तह, जिल्ला, प्रदेश आदि तथ्याङ्‌क विश्‍लेषणका एकाइका उदाहरण हुन्। त्यसै गरी मापनको एकाइलाई स्केल र मापन प्रणाली गरी दुईवटा पक्षबाट हेर्न सकिन्छ। स्केल भन्‍नाले व्यक्त गर्न लागिएको सङ्ख्या १० को कतिऔँ गुणाङ्‌क हो भन्‍ने जनाउँदछ। उदाहरणका लागि आर्थिक वर्ष २०८०/८१ का लागि नेपालको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको चालु मूल्यमा ५७,०४,८४.४ करोड रुपियाँ बराबर प्रारम्भिक अनुमान गरिएको छ (राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८०/८१)। यस वाक्यमा यदि स्केलको प्रयोग नगर्ने हो भने ५७,०४,८४,४०,००,००० रुपियाँ भन्‍नु पर्दथ्यो।

मापन प्रणाली भन्‍नाले भौतिक परिमाणको मापन गर्नका लागि विकास गरिएको विभिन्‍न एकाइहरूको समूह भन्‍ने बुझिन्छ। एस.आई. अथवा एम.के.एस. प्रणाली, सी.जी.एस. प्रणाली र एफ.पी.एस. प्रणाली प्रचलित मापन प्रणाली हुन्। दुरीलाई मिटर, पिण्डलाई के.जी., र समयलाई सेकेन्डमा मापन गर्ने प्रणाली एस.आई. प्रणाली हो। त्यसै गरी दुरीलाई से.मि., पिण्डलाई ग्राम र समयलाई सेकेन्डमा मापन गर्ने प्रणाली सी.जी.एस. प्रणाली हो र दुरीलाई फिट, पिण्डलाई पाउण्ड र समयलाई सेकेन्डमा मापन गर्ने प्रणाली एफ.पी.एस. प्रणाली हो। विश्‍वभर प्रचलित एकाइबाहेक अन्य एकाइ प्रयोग गरी सङ्ख्याका बारेमा लेख्दा सम्बन्धित एकाइलाई प्रचलित एकाइसँग तुलना गरेर व्याख्या गरिदिनु पर्दछ। उदाहरणका लागि माथि उल्लिखित नेपालको जनगणनासम्बन्धी वाक्यमा वि.सं. १९६८ देखि नेपालमा जनगणना गर्न थालिएको हो भनेर लेखियो भने वि.सं.लाई सङ्‌क्षिप्‍त व्याख्या गर्नु पर्दछ। जस्तैः विक्रम संवत् (वि.सं.) भनेको हिन्दु पञ्‍चाङ्‌गमा आधारित मिति जनाउने पात्रो प्रणाली हो। यो ग्रेगोरी (अङ्‌ग्रेजी पात्रो वा इ.सं.) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ।

सूचकलाई दर, अनुपात, समानुपात आदिमा व्यक्त गर्दा यदि प्रतिशतको प्रयोग गरिन्छ भने केको प्रतिशत हो भन्‍ने कुरा खुलाउनुपर्दछ। जस्तैः

कमजोर वाक्यः आर्थिक वर्ष २०८०/८१ मा २२.९६ प्रतिशत विप्रेषण भित्रिने प्रारम्भिक अनुमान रहेको छ (राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८०/८१)

यस वाक्यमा प्रस्तुत भएको २२.९६ प्रतिशत के को हो भन्‍ने खुलेको छैन।

सुधारिएको वाक्यः आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको २२.९६ प्रतिशत विप्रेषण भित्रिने प्रारम्भिक अनुमान रहेको छ (राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८०/८१)

यस वाक्यमा प्रस्तुत भएको २२.९६ प्रतिशत कुल गार्हस्थ्य उत्पादनको हो भन्‍ने कुरा खुलाइएको त छ तर अघिल्ला वर्षहरूको तुलनामा कम बढी के हो भन्‍ने विषय खुलाइएको छैन।

राम्रा वाक्यहरूः आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको २२.९६ प्रतिशत विप्रेषण भित्रिने प्रारम्भिक अनुमान रहेको छ। गत आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनको २२.८२ प्रतिशत विप्रेषण भित्रिएकोमा यस वर्ष ०.१४ प्रतिशत विन्दुले विप्रेषण आयमा सामान्य वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा भित्रिने विप्रेषण गत १० वर्ष यताकै कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा अधिक प्रतिशत हो (राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८०/८१)

यी वाक्यहरूमा प्रस्तुत भएको २२.९६ प्रतिशत कुल गार्हस्थ्य उत्पादनको हो भन्‍ने कुरा खुलाइएको छ र तुलनाका लागि अन्य सूचनाहरू पनि प्रस्तुत गरिएको छ।

कतिपय समाचारहरूमा सङ्ख्या प्रयोग गर्दा सही एकाइ प्रयोग नभएको पनि पाइन्छ। यसले पाठकलाई द्विविधामा पार्दछ। कुनै एउटा पत्रिकामा प्रकाशन भएको एउटा वाक्य तलको बक्स ३.१ मा हेरौः

बक्स ३.१

स्रोतः स्रोत उल्लेख नगरिएको।

माथि बक्स ३.१ मा उल्लेख भएको वाक्यमा प्रयोग गरिएको कुल प्रजनन दर (Total fertility rate) को मापन एकाइ प्रतिशत हुँदैन। कुल प्रजनन दर भन्‍नाले एक जना महिलाले आफ्नो प्रजनन उमेर (१५ देखि ४९ वर्ष) मा औसतमा कति जना जीवित बच्चा जन्माइन भन्‍ने बुझिन्छ। अतः यसको मापन एकाइ प्रतिशत भन्‍ने हुँदैन।

अतिरिक्त सिद्धान्त ३: चरको वितरण परीक्षण गर्ने

सङ्ख्याका बारेमा लेख्दै गर्दा कतिपय समयमा उदाहरण तथा विरोधाभासहरू उल्लेख गर्नु पर्दछ। उदाहरण वा विरोधाभास उल्लेख गर्ने समयमा तथ्याङ्‌कको सारसङ्‌क्षेप जस्तैः औसत, अनुमानित परिवर्तन हुने मान, उत्कर्ष विन्दुहरू आदि गणना गर्दा सम्बन्धित आँकडाहरूको वितरणका बारेमा समेत विशेष ध्यान दिनु पर्दछ। आँकडाहरूको वितरणसम्बन्धी जानकारीका लागि उच्च मान, न्यून मान, विचरण (विस्तार, स्तरीय भिन्‍नता, भेरियन्स आदि), औसत जस्ता औजारहरूको गणना गर्नु पर्दछ। यसबाट प्रस्तुत गरिएका उदाहरण र सङ्ख्याहरू सामान्य, असामान्य वा विरोधाभास के हुन् पहिचान गर्न सहज हुन्छ।

उदाहरणः

आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। यस वर्षको वृद्धिदर गत १० वर्षको औसत वार्षिक वृद्धिदर (४.५%) भन्दा उच्च रहेको छ। गत १० वर्षमा उच्चतम आर्थिक वर्ष २०७३/७४ मा ८.९८ प्रतिशत र न्यूनतम वृद्धिदर आर्थिक वर्ष २०७६/७७ मा -२.३७ प्रतिशत रहेको थियो।

अतिरिक्त सिद्धान्त ४: स्तरीय ढाँचा र सीमाङ्‌क परिभाषित गर्ने

सामान्यतया सङ्ख्याहरूका बारेमा लेख लेख्दा प्रचलित स्तरीय मान (Standards) वा सीमाङ्‌क (Cutoffs) को प्रयोग गरेर तुलना गरियो भने पाठकहरूले उल्लेख गरिएको तथ्य सामान्य हो, असामान्य हो वा विरोधाभाष के हो भन्‍ने बारेमा स्पष्‍ट धारणा बनाउन सक्दछन्। यहाँ स्तरीय मान भन्‍नाले उच्च मान, न्यून मान, औसत मान वा अन्य यस्तै प्रचलित मान वा ढाँचालाई बुझ्नुपर्दछ। उदाहरणका लागि मिति २०७९ जेठ २८ गते बेलुका ५.४५ बजे वीरेन्द्रनगरको वायुको अधिकतम तापक्रम ३७.४ डिग्री सेल्सियस रेकर्ड भएको थियो। यो तापक्रम सामान्य मानिसको शरीरको तापक्रम (३७ डिग्री सेल्सियस) भन्दा पनि बढी हो। सोही समयमा देशभरका २० स्थानमा रेकर्ड भएका वायुको तापक्रममध्ये अधिकतम तापक्रम सबैभन्दा बढी नेपालगञ्‍ज (४०.२ डिग्री सेल्सियस) मा र न्यूनतम तापक्रम सबैभन्दा कम जोमसोम (१२.७ डिग्री सेल्सियस) मा रेकर्ड भएको थियो (मौसम पूर्वानुमान महाशाखा, २०७९)। आर्थिक तथ्याङ्‌कका सन्दर्भमा कतिपय सूचकहरू जस्तैः कुल गार्हस्थ्य उत्पादन, मूल्य सूचकाङ्‌क आदिलाई कुनै स्तरीय आधार वर्ष (Base year) को आधारमा गणना तथा तुलना गर्ने गरिन्छ। त्यस्ता आधार वर्षहरू समय समयमा परिवर्तन पनि गरिन्छ। जस्तैः नेपालको कुल गार्हस्थ्य उत्पादन स्थिर मूल्यमा अनुमान गर्नका लागि आर्थिक वर्ष (इ.सं.मा) १९६१/६२ देखि सुरु भई १९६४/६५, १९७४/७५, १९८४/८५, १९९४/९५, २०००/०१, र २०१०/११ मा आधार वर्षहरू परिवर्तन गरिँदै आइएको छ। पछिल्लो पटकको आधार वर्ष २०१०/११ को तुलनामा २०२१/२२ को कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको स्थिर मूल्यमा २,५२,०३,२१९ लाख रुपियाँ अनुमान गरिएको छ। चालु मूल्यमा हेर्ने हो भने नेपालको कुल गार्हस्थ्य उत्पादन २०२१/२२ को लागि उपभोक्ताको चालु मूल्यमा ४,८५,१६,२४६ लाख रुपियाँ अनुमान गरिएको छ। यहाँ स्थिर मूल्य भन्‍नाले दिइएको आधार वर्षको मूल्य बुझिन्छ भने चालु मूल्य भन्‍नाले सम्बन्धित वर्षको प्रचलित बजार मूल्य बुझ्नुपर्दछ। आर्थिक वृद्धिदर निकाल्नका लागि स्थिर मूल्यको कुल गार्हस्थ्य उत्पादनमा आएको वृद्धि वा सङ्‌कुचनलाई प्रयोग गरिएको हुन्छ भने कुल गार्हस्थ्य उत्पादनको आकार (Size) अनुमानका लागि चालु मूल्यको मान प्रयोग गरिन्छ।

स्तरीय मान, सामान्य मान वा सन्दर्भ विन्दुसँग सम्बन्धित चरहरूको तुलना हामी दैनिक जीवनमा धेरै नै गरिरहेका हुन्छौँ। बच्चाको उमेरअनुसारको तौल, बिरामीको रक्तचाप, मधुमेहको स्तर, वायुको तापक्रम, वर्षाको मात्रा, मूल्य वृद्धि, कृषि उत्पादन, विद्यार्थीको प्राप्‍ताङ्‌क आदि हामीले तुलनात्मक हिसाबले हेर्ने केही चरका उदाहरण हुन्। तुलनात्मक प्रस्तुतिका क्रममा पनि सम्बन्धित पाठकलाई ध्यानमा राख्‍नुपर्दछ। सामान्य पाठकका लागि स्तरीय मानसँग तुलनात्मक अध्ययनका प्रक्रियाका बारेमा वर्णन गरिराख्‍नु पर्दैन भने प्राज्ञिक पाठकका लागि विस्तृत प्रक्रिया तथा सूचनाको स्रोतसमेत उल्लेख गरिदिनु पर्दछ। कतिपय अवस्थामा विस्तृत विवरण अनुसूचीमा समेत समावेश गरेर प्रस्तुत गर्नुपर्ने हुन्छ।

अतिरिक्त सिद्धान्त ५: अङ्‌क र दशमलव स्थानहरूको उपयुक्त सङ्ख्या छनोट गर्ने

सङ्ख्याको प्रयोग गरी लेख लेख्दा यदि प्रयोग गरिने सङ्ख्या पूर्ण सङ्ख्या हो र साह्रै ठुलो सङ्ख्या छ भने कसरी प्रस्तुत गर्ने तथा भिन्‍न सङ्ख्याको प्रयोग गर्दा दशमलवको प्रयोग कसरी गर्ने भन्‍ने विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। उदाहरणका लागि आर्थिक वर्ष २०८०/८१ का लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान रु. ५७,०४,८४,४३,७६,१०१.४  रहेको छ। यो सङ्ख्या पाठकलाई पढ्न र मनन गर्न निकै असजिलो महसुस हुन सक्दछ। यो सङ्ख्या निकै ठुलो भएका कारण दशमलव पछाडिका अङ्‌कहरूले सारभूत रूपमा ठुलो महत्त्व पनि बोकेका हुँदैनन्। तसर्थ, यसलाई ५७ खर्ब ४ अर्ब ८४ करोड ४३ लाख ७६ हजार १०१ रुपियाँ भनेर व्यक्त गर्न सकिन्छ। यसलाई अझै सङ्‌क्षिप्‍त रूपमा करिब ५७ खर्ब ५ अर्ब रुपियाँ भन्‍न पनि सकिन्छ। कुल गार्हस्थ्य उत्पादनकै वृद्धिदरको सन्दर्भमा भने दशमलव पछाडिका अङ्‌कहरूको पनि विशेष महत्त्व हुन्छ। उदाहरणका लागि आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादन (GDP) को वार्षिक वृद्धिदर ३.८७ प्रतिशत रहेको छ। यो सूचकमा दशमलव पछाडि १४ अङ्‌कको प्रयोग गरिएको छ र वास्तविक सङ्ख्यामा यो भन्दा बढी अङ्‌कहरू छन्। तर यो सूचकका लागि यी सबै अङ्‌कहरूको खासै महत्त्व हुँदैन बरु यसले पाठकलाई अनावश्यक झन्झट उत्पन्‍न गराउँदछ। अतः जिडिपिको वार्षिक वृद्धिदरलाई दशमलव पछाडि एक वा दुई अङ्‌कमा व्यक्त गर्दा पुग्दछ। जस्तैः ३.८७ प्रतिशत।

दशमलव स्थानको राउन्डिङ गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्दछ। कतिपय सङ्ख्याका मानहरू प्रायः एकभन्दा साना हुने गर्दछन्, जस्तैः पि मान (P-value), गिनीको सूचकाङ्‌क, सहसम्बन्धको गुणाङ्‌क आदि। यस्तो अवस्थामा दशमलव पछाडि २, ३ वा ४ अङ्‌क लिएर मात्र प्रयोग गर्नु पर्दछ, पूर्ण सङ्ख्यामा राउन्डिङ गर्नुहुँदैन। कतिपय चर (Variable) हरूको सन्दर्भमा भने सङ्ख्याको आकारबमोजिम राउन्डिङ गर्ने आधार फरक फरक हुन्छ। उदाहरणका लागि नेपालको जिडिपिको आकार प्रस्तुत गर्दा अर्बमा राउन्डिङ गरेर सङ्ख्या प्रस्तुत गर्दा पुग्दछ भने मोबाइल फोनमा कुरा गर्दा लाग्ने महशुल रकमका लागि दशमलव पछाडि एक वा दुई वा पूर्ण सङ्ख्यामा राउन्डिङ गरेर उल्लेख गर्नु पर्दछ। जस्तैः आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक अनुमानबमोजिम नेपालको जिडिपि ५७ खर्ब ५ अर्ब रुपियाँ रहेको छ। एक मिनेट टेलिफोनमा कुरा गर्दा १.५ रुपियाँ महशुल लाग्दछ आदि। सामान्यतया लेखका वाक्यहरूमा बढीमा चार अङ्‌कका सङ्ख्या र तालिकामा बढीमा छ अङ्‌कका सङ्ख्या प्रस्तुत गर्दा पाठकलाई सहज हुन्छ। तसर्थ, कतिपय अवस्थामा अनुपात, समानुपातलाई प्रतिशतमा बदलियो भने पनि सङ्ख्याको बचत गर्न सकिन्छ। जस्तैः राष्‍ट्रिय जनगणना २०७८ बमोजिम नेपालको लिङ्‌ग अनुपात ९५९:१००० रहेको छ। यो अनुपातलाई ९५.९ प्रतिशत लेख्दा सहज हुन्छ। त्यसै गरी नेपालको कुल जनसङ्ख्यामा मनाङ जिल्लाको जनसङ्ख्याको हिस्सा 0.00019४ लेख्‍नुको सट्टा ०.०२ प्रतिशत लेख्‍न र बुझ्न सजिलो हुन्छ। कतिपय धेरै ठुला वा धेरै साना सङ्ख्यालाई एकाइ परिवर्तन गरेर वा वैज्ञानिक सङ्‌केतको प्रयोग गरेर पनि सङ्ख्या उल्लेख गर्न सकिन्छ। जस्तैः पृथ्वीको पिण्डलाई ५.९७२x१०२४ किलोग्राम भनेर लेख्‍न सकिन्छ। कतिपय अवस्थामा किलोग्रामलाई क्विन्टल, टनमा व्यक्त गर्दा पनि सानो अङ्‌कको प्रयोग गर्न सकिन्छ।

दशमलव स्थानको राउन्डिङ गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्दछ। कतिपय सङ्ख्याका मानहरू प्रायः एकभन्दा साना हुने गर्दछन्, जस्तैः पि मान (P-value), गिनीको सूचकाङ्‌क, सहसम्बन्धको गुणाङ्‌क आदि। यस्तो अवस्थामा दशमलव पछाडि २, ३ वा ४ अङ्‌क लिएर मात्र प्रयोग गर्नु पर्दछ, पूर्ण सङ्ख्यामा राउन्डिङ गर्नुहुँदैन। कतिपय चर (Variable) हरूको सन्दर्भमा भने सङ्ख्याको आकारबमोजिम राउन्डिङ गर्ने आधार फरक फरक हुन्छ। उदाहरणका लागि नेपालको जिडिपिको आकार प्रस्तुत गर्दा अर्बमा राउन्डिङ गरेर सङ्ख्या प्रस्तुत गर्दा पुग्दछ भने मोबाइल फोनमा कुरा गर्दा लाग्ने महशुल रकमका लागि दशमलव पछाडि एक वा दुई वा पूर्ण सङ्ख्यामा राउन्डिङ गरेर उल्लेख गर्नु पर्दछ। जस्तैः आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक अनुमानबमोजिम नेपालको जिडिपि ५७ खर्ब ५ अर्ब रुपियाँ रहेको छ। एक मिनेट टेलिफोनमा कुरा गर्दा १.५ रुपियाँ महशुल लाग्दछ आदि। सामान्यतया लेखका वाक्यहरूमा बढीमा चार अङ्‌कका सङ्ख्या र तालिकामा बढीमा छ अङ्‌कका सङ्ख्या प्रस्तुत गर्दा पाठकलाई सहज हुन्छ। तसर्थ, कतिपय अवस्थामा अनुपात, समानुपातलाई प्रतिशतमा बदलियो भने पनि सङ्ख्याको बचत गर्न सकिन्छ। जस्तैः राष्‍ट्रिय जनगणना २०७८ बमोजिम नेपालको लिङ्‌ग अनुपात ९५९:१००० रहेको छ। यो अनुपातलोई ९५.९ प्रतिशत लेख्दा सहज हुन्छ। त्यसै गरी नेपालको कुल जनसङ्ख्यामा मनाङ जिल्लाको जनसङ्ख्याको हिस्सा 0.00019४ लेख्‍नुको सट्टा ०.०२ प्रतिशत लेख्‍न र बुझ्न सजिलो हुन्छ। कतिपय धेरै ठुला वा धेरै साना सङ्ख्यालाई एकाइ परिवर्तन गरेर वा वैज्ञानिक सङ्‌केतको प्रयोग गरेर पनि सङ्ख्या उल्लेख गर्न सकिन्छ। जस्तैः पृथ्वीको पिण्डलाई ५.९७२x१०२४ किलोग्राम भनेर लेख्‍न सकिन्छ। कतिपय अवस्थामा किलोग्रामलाई क्विन्टल, टनमा व्यक्त गर्दा पनि सानो अङ्‌कको प्रयोग गर्न सकिन्छ।

राउन्डिङका सन्दर्भमा अर्को महत्त्वपूर्ण पक्ष भनेको यस कार्यमा अपनाउने नियमको एकरूपता हो। राउन्डिङका नियममा एकरूपता कायम नभएमा पाठकवर्गमा द्विविधा उत्पन्‍न हुन्छ। जस्तैः चित्र १.२ मा नेपालको जिडिपिमा प्रमुख तीन औद्योगिक क्षेत्रहरूको योगदान प्रतिशतमा प्रस्तुत गरिएको छ। यस चित्रबमोजिम आर्थिक वर्ष २०२२/२३ र २०२३/२४ मा तीनवटा क्षेत्रको कुल जम्मा प्रतिशत क्रमशः ९९ र १०१ देखिन्छ। कुल जम्माको हिस्सा १०० प्रतिशत नदेखिनु भनेको सङ्ख्या राउन्डिङमा अपनाइएको अवधारणामा भएको त्रुटिका कारण हो। 

चित्र ३.३ कुल गार्हस्थ्य उत्पादनमा प्रमुख औद्योगिक क्षेत्रहरूको योगदान

 

स्रोतः राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय, २०८०/८१

(नोटः *२०७8/79 २०७९/८० को परिमार्जित र **२०८०/८१ को प्रारम्भिक अनुमानका आधारमा)

थप उदाहरणः

एउटै संस्थागत पत्रिकाको नेपाली र अङ्‌ग्रेजी संस्करणमा रिपोर्टिङ भएबमोजिमका समाचार बक्स ३.२ र ३.३ मा देखाइएको छ। समाचारमा स्थानीय निर्वाचन २०७९ को काठमाडौँ महानगरपालिकाको निर्वाचन परिणाम प्रस्तुत गरिएको छ। जसअनुसार अङ्‌ग्रेजी संस्करणको समाचारमा विजयी हुने र निकटतम प्रतिद्वन्द्वीको मत परिणाम र कुल मतदाता सङ्ख्या उल्लेख भएको छ भने नेपाली संस्करणमा मतान्तर सङ्ख्यासमेत उल्लेख भएको छ। यहाँ अङ्‌ग्रेजी संस्करणको सन्दर्भमा पाठकले मतान्तर पत्ता लगाउन ठुलै मेहनत गर्नु पर्दछ भने कुल मतदाताको कति प्रतिशत मत मेयरले प्राप्‍त गरेका हुन् भनेर थप गणितीय क्रिया गर्नुपर्ने हुन्छ। अर्कोतर्फ नेपाली संस्करणमा कुल मतदाता सङ्ख्या वा कुल खसेको मतको बारेमा केही खुलाइएको छैन

बक्स ३.२

बक्स ३.३

स्रोतः उल्लेख नगरिएको।

यस किसिमको समाचारलाई देहायबमोजिम प्रस्तुत गरियो भने पाठकलाई थप झन्झट पनि नहुने र पाठकले खोजेका प्रमुख सूचनाहरू पनि उपलब्ध हुने हुन्छ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निकटतम प्रतिद्वन्दी सिर्जना श्रेष्‍ठलाई २३ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका छन्। विजयी उम्मेदवार बालेन्द्रले ६१,७६७ मत प्राप्‍त गरेका थिए जुन काठमाडौँ महानगरपालिकाको कुल मतदाता सङ्ख्याको २०.५७ प्रतिशत हो। तीन लाख हाराहारी मतदाता सङ्ख्या भएको यस महानगरपालिकामा कुल मतदाता सङ्ख्याको ६३.६ प्रतिशत मत मात्र खसेको थियो। साथै, खसेको जम्मा मतको १६.२६ प्रतिशत अर्थात् ३१ हजार ४१ मत भने बदर भएको थियो। यस हिसाबबाट विजयी बालेन्द्रले प्राप्‍त गरेको मत खसेको जम्मा मतको ३२.३५ प्रतिशत र खसेको सदर मतको ३८.६ प्रतिशत हो।

माथि उल्लेख भएको समाचारमा बदर मतको सट्टा सदर मतको सङ्ख्या वा प्रतिशत पनि उल्लेख गर्न सकिन्थ्यो तर आम पाठकको ध्यान बदर मत प्रतिशतमा हुने भएकोले सोहीबमोजिमको सूचना उल्लेख गरिएको हो। साथै, यस समाचारमा यदि तेस्रो वा चौथो हुने उम्मेदवारको मत विजयी वा निकटतम प्रतिद्वन्द्वी उम्मेदवारको हाराहारीमा भएमा थप अनुच्छेदमार्फत निजहरूको मत परिणाम पनि समेट्न सकिन्छ।

सन्दर्भ सामग्री

१.  मौसम पूर्वानुमान महाशाखा(जेठ २८, २०७९)मौसम पूर्वानुमान महाशाखा: WEATHER जेठ २९, २०७९, मौसम पूर्वानुमान महाशाखा http://mfd.gov.np/weather/

२.  राष्‍ट्रिय तथ्याङ्‌क कार्यालय(20८१)National Accounts of Nepal 2023/24. National Statistics Office, Kathmandu.

३.  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (२०७८)Nepal National Health Accounts 2017/18. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँ

स्रोत: प्रमुख आर्थिक सूचकको प्रयोग विधिबाट साभार गरिएको।


[1]सन्दर्भ सामग्रीः Miller, J. E. (2015). The Chicago guide to writing about numbers. University of Chicago Press.

[२]अन्य लिङ्‌गी भन्‍नाले आफूलाई महिला वा पुरुष भन्‍न नचाहने समलिङ्‌गी महिला, समलिङ्‌गी पुरुष, द्विलिङ्‌गी, ट्रान्सजेन्डर महिला, ट्रान्सजेन्डर पुरुष, तेस्रो लिङ्‌गी, क्वयेर आदि बुझ्नुपर्दछ।

[३]सामान्यतया वृद्धिदरको औसत निकाल्दा गुणोत्तर मध्यक (Geometric mean) को प्रयोग गरिन्छ। नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आर्थिक वर्ष २०७६/७७ मा ऋणात्मक भएका कारणले उदाहरणका लागि गत १० वर्षको वृद्धिदरको औसत निकाल्नका लागि अङ्‌कगणितीय मध्यक प्रयोग गरिएको छ।


Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More